काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने बताउनुभएको छ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै उहाँले नेपाललाई पर्यटन क्षेत्रमा उल्लेख्य विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर नीतिगत सुधार गर्नेसमेत उल्लेख गर्नुभयो । राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६-२०२५) अन्तिम चरणमा रहेको जानकारी दिँदै उहाँले पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई समसामयिक सुधार गरी लगानीमैत्री बनाइने बताउनुभएको हो ।
सरकारले पर्यटन दशक (२०२३–२०३२) मा हरेक वर्ष पर्यटक आगमनमा १५ प्रतिशत विन्दुले वृद्धि गरी सन् २०३२ मा ३५ लाख पुर्याउने लक्ष्य लिएको छ । त्यसका लागि विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिने उहाँको भनाइ थियो । लक्ष्य प्राप्त गर्न निजीक्षेत्रसँग सहकार्य गरी नीतिगत सुधार गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने, स्थानीय एवं प्रदेश सरकारसँगको सहकार्यलाई मजबुत बनाउने र सरोकारवाला निकायहरुसँग समन्वय गर्नेगरी काम गर्ने मन्त्रालयको योजना छ ।
मन्त्री तामाङले पर्यटकको नेपाल बसाइ अवधि बढाउने र प्रति पर्यटक खर्चमा समेत बढोत्तरी गरी देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो । हवाई सेवा बिस्तार र सेवालाई चुस्त र प्रभावकारी बनाइने, नेपाल वायुसेवा निगमलाई सुधार गरी जहाज थपेर थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवालाई पनि आकर्षण गर्ने योजना मन्त्रालयसँग रहेको उहाँले बताउनुभयो ।
‘हाल ४२ देशसँग हवाई सेवा सम्झौता भएको छ । ती देशहरुसँग प्रत्यक्ष हवाई सेवा सञ्चालनका लागि आवश्यक पहल गरिरहेका छौँ । नेपाल वायुसेवालाई सुधार गरी जहाजहरु थपी थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवाहरुलाई पनि आकर्षित गरिनेछ ।’ मन्त्री तामाङले प्रस्ट पार्नुभयो ।