नुवाकोट ।
“जे गरौँ, गज्जबले गरौँ” नारासहित स्थानीय एवम् राष्ट्रियस्तरका धावक सम्मिलित ‘छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिता नुवाकोटको बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा शनिबार सम्पन्न भएको छ ।
नयाँ खेलाडीको उत्पादन, दौडको महत्व तथा राष्ट्रियस्तरका खेलाडीको क्षमता अभिबृद्धि गराइ खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बेलकोटगढी नगरपालिका वडा नं. ५ को कार्यालयले आयोजना गरेको प्रतियोगितामा यो वर्ष विभिन्न सात विधामा प्रतिस्पर्धा गराइएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीले सहभागिता जनाउन पाउने कोल्पुटारबाट माझगाँउहुदै पुनः कोल्पुटार पुग्ने १३ दशमलव ४ किमी दुरीको पुरुषतर्फको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बलका राजेन्द्र तामाङ र महिलातर्फ निक्की नेम्वाङ्ग लिम्बु प्रथम हुनुभयो । निर्धारित दुरी पुरुषतर्फ प्रथम भएका तामाङले ५७ मिनेटमा र महिलतर्फ प्रथम भएको लिम्बुले एक घण्टा २३ मिनेटमा पूरा गर्नुभयो । उक्त दुरीको भेट्रान खुलातर्फ धर्म महर्जन र स्थानीय खुलातर्फ सुमन श्रेष्ठ प्रथम हुनुभयो ।
यसैगरी, ४.५ किमि दौडतर्फ देशभरबाट सहभागी हुन पाउने जुनियर छात्रतर्फ विश्वराम कुंवर र छात्रातर्फ सरस्वती बोहोरा, १६ वर्षमुनिका स्थानीय विद्यालयको छात्रतर्फ पवन राई र छात्रातर्फ सपना श्रेष्ठ, स्थानीय ४५ वर्षमाथिका स्थानीय बा समूह (पुरुष)तर्फ राजेन्द्रप्रसाद नेपाल र स्थानीय आमा समूहतर्फ कमला श्रेष्ठ प्रथम हुनुभयो ।
प्रतियोगितामा लामोदुरीतर्फ प्रथमलाई रु.१५ हजार, दोश्रोलाई रु.दश हजार र तेस्रोलाई रु.पाच हजार एवम् छोटो दुरीतर्फ प्रथमलाई रु.दश हजार, दोस्रोलाई रु.सात हजार र तेस्रोलाई रु.पाँच हजार नगदसहित प्रमाणपत्र र मेडल कार्यक्रमका प्रमुख अतिथि बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनालले प्रदान गर्नुभयो ।

प्रतियोगितामा नेपाल एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीसहित २२ जनाको व्यावस्थापकीय टिमले प्रतियोगितालाई तोकिएको मापदण्डमा रहेर सञ्चालन गरिएको थियो । दौड प्रतिस्पर्धाको शुभारम्भ सहित अवलोकनपश्चात उत्कृष्ट प्रतियोगिलाई पुरष्कार प्रदान गर्दै नगरप्रमुख खनालले प्रतियोगिताको दुरी र पुरष्कार राशी बढाई राष्ट्रियस्तरको उत्कृष्ट प्रतियोगिताको रुपमा ‘झिल्टुङ क्रसकन्ट्री’ चिनाउने प्रतिबद्धता जनाउनुभयो ।
“आवश्यक बजेटको प्रबन्धसहित नगरस्तरीय पर्वको रूपमा प्रतियोगिता सञ्चालनमा ल्याइने छ ।” उहाँले भन्नुभयो “नगरपालिकाले वार्षिक क्यालेण्डरमा समावेश गरेर हरेक माघ महिनाको दोस्रो शनिबार प्रतियोगिता सञ्चालनको जिम्मेवारी लिनेछ ।”
उक्त प्रतियोगिता छ वर्षअघि स्थानीय समाजसेवी मोहन नेपालको अग्रसरमा सुरु गरिएको थियो । सो समयमा स्थानीय युवाक्लब, महादेव माध्यामिक विद्यालय हुदै पछिल्लो वर्षमा वडा कार्यालयको अग्रसरमा सरकारीस्तरबाट सञ्चालनमा ल्याइएको वडा नं. ५ का वडाध्यक्ष अनन्तराम नेपालले बताउनुभयो ।
खेलाडीको प्रतिभा र ‘झिल्टुङ’को महत्वको खोजीः

‘झिल्टुङ क्रसकन्ट्री दौड’ मार्फत बेलकोटगढी नगरपालिकाको प्रसिद्ध स्थल ‘झिल्टुङ’को विभिन्न स्थान केन्द्रित गराई उक्त स्थानका सामाजिक जीवनशैली, धार्मिक तथा ऐतिहासिक महत्वको प्रचारप्रसारमा जोड दिन केन्द्रित गराउने लक्ष्य लिइएको छ । प्रतियोगिताले खेल पर्यटन भित्र्याउन महत्वपूर्ण सहयोग पुग्नेछ भने पहाडी तथा शाहसिक भूभागमा दौड प्रतियोगिताको लागी काठमाडौँबाट ५५ किमी दुरीमा पर्ने कोल्पुटारमा राष्ट्रियस्तरका थप प्रतियोगिता सञ्चालको गन्तव्य बनाउन प्रयास भइरहेको दौड प्रतियोगिताको संयोजक मोहन नेपालको योजना छ । “यही प्रतियोगितामा सहभागी हुनुभएका कान्छीमाया कोजी, सन्तोषी श्रेष्ठ, भूमिराज राईले अन्तराष्ट्रिय प्रतियोगितासम्म प्रतिस्पर्धा गर्न पुगिसकेका छन् ।” उहाँले भन्नुभयो “विद्यार्थी भाईबहिनीहरु, आमा र बुबा समूह तथा भेन्ट्रास (प्रौढ) समेतलाई हेर्दा एउटै प्रतियोगितामा तीनपुस्ताले सहभागिता जनाउने अवसर पाउनु नौलो सन्देश हो ।”
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरिएको रसुवाको गोसाईंकुण्डभन्दा नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको झिल्टुङ पहाडी सभ्यतामा उत्कृष्ट रहेको उल्लेख गरिएको छ भने कुञ्जिनी खण्डकाव्यमा उल्लेख गरिएका पात्र गोरे र स्थान काल्पुखोला लगायतका ठाउँको अबको दिनमा प्रचारप्रसारको लागिसमेत दौड प्रतियोगितामार्फत इतिहासलाई पुनर्ताजगिकरण गर्न सहयोग पुग्ने स्थानीय समाजसेवी तथा पत्रकार नारायणप्रसाद नेपालको भनाइ छ ।










































