अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आज राजधानीमा प्रदर्शन भएको छ । माईतीघर मण्डलामा विभिन्न २२ राजनैतिक दलले विरोध र्यालीसहित प्रदर्शन गरे ।
प्रदर्शनमा २२ दलका नेताले सम्बोधन गरेका थिए । देशभक्त जनगणतान्त्रिक मोर्चाका महासचिव परि थापाले एमसीसी देशको हितमा नभएको भन्दै विगतमा भारतसँग गरिएका असमान सन्धि र सम्झौताहरु खारेज नगरेरै २०७२ सालको संविधान जारी गरिएकोले देश अहिले पनि अर्धऔपनिवेशिक हुँदै नवऔपनिवेशिकतामा पुगेको बताउनुभयो ।
पूर्व अर्थमन्त्री तथा अमेरिकाको लागि नेपालका राजदुत डा युवराज खतिवडा अमेरिकाको दलाल भएको उहाँको टिप्पणी थियो । खतिवडाले नै संसदबाट परियोजना पास नहुँदै एमसीसी सम्बन्धी बजेट राष्ट्रिय बजेटमा समावेश गराएको आरोप लगाउनुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हस्तबहादुर केसीले एमसीसी परियोजना कुनैपनि हालतमा खारेज हुनुपर्ने बताउनुभयो । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य अर्जुन कार्कीले एमसीसी लागु गरे देश सिक्किम हुनसक्ने भन्दै एमसीसी लागु गर्ने मानिस लेण्डुप दोर्जे हुने उल्लेख गर्नुभयो । सर्वहारा कम्युनिष्ट पार्टी माओवादीकी महासचिव भावना विद्रोहीले एमसीसी परियोजना लागु गर्ने भन्नेहरु राष्ट्रघाती भएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विदेशीको दलाली गर्नेहरु पतन भएर जाने बताउनुभयो । यस्तै राष्ट्रिय जागरण मंचका केन्द्रिय संयोजक गुणराज लोहनीले अहिलेको सरकार र संसदीय व्यवस्था नै राष्ट्रघाती भएको आरोप लगाउनुभयो ।
Recent Comments