चितवन ।
मंगलबार भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवा मिर्गौलाका बिरामी भएको अस्पतालले जनाएको छ।
मंगलबार विहान ९.३० बजे उपचारका क्रममा मृत्यु भएका वीरगञ्ज महानगरपालिका-२२ जगन्नाथपुरका ३० वर्षीय युवक सन्तोष यादवको कोरोनाकै कारण मृत्यु नभएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए ।
एक प्रेस विज्ञप्ती निकालेर अस्पतालले उनी एक वर्षदेखि मिर्गौलाका बिरामी भएको र उनमा पछिल्लो समय निमोनियाको लक्षण देखिएको जनाएको छ । । अस्पतालले ती युवाको कोरोना जाँचका लागि नमुना संकलन गरेर मंगलबार नै विमानबाट केन्द्रीय प्रयोगशालामा पठाएको छ। उनको स्वास्थ्य रिपोर्ट आउन केही दिन लाग्ने बताईएको छ ।
कोरोना परीक्षणको रिपोर्ट आउन समय लाग्ने भएकाले अहिले नै मृत्युको कारण एकीन गर्न नसकिने प्रवक्ता अधिकारीले बताएका छन् । वीरगञ्जका ३० वर्षीय ती युवकलाई चितवन मेडिकल कलेजबाट कोरोना विषेश अस्पतालमा पठाइएको थियो।
मिर्गौलाका बिरामी ती युवक एक वर्षदेखि चितवन मेडिकल कलेजमा फलोअपमा रहेको पाईएको छ । यसपटक ज्वरो र खोकी पनि देखिएपछि उनलाई मेडिकल कलेजले कोरोनाको लक्षण देखिएको भन्दै भरतपुर अस्पतालमा रिफर गरेको थियो।
अस्पतालले उनको मृत्यु हुनुपुर्व मंगलबार नै नमुना जाँचका लागि पठाएको थियो । रिपोर्ट आउनुपुर्व नै उनको मृत्यु भएपछि सर्वसाधारण त्रसित बनेका छन् । मृत्यु भएका युवकको शव अहिले अस्पतालमै राखिएको छ। अस्पतालले उनका आफन्तलाई निगरानीमा राखेको छ।