-तेज दोङ ‘उर्जा’
एसएलसी दिँदाताका श्री कुशेश्वर उच्च मा.वि. बेथानको अनेरास्ववियू क्रान्तिकारी इकाइ समिति उपाध्यक्ष थिएँ । केही सरहरु र प्रहरी प्रशासनले अनावश्यक दुखः दिन थाले । एसएलसी परिक्षा सकेपछि पक्रने कुरा रहेछ । एकजना सरले सूचना दिएपछि परीक्षा सक्नेबित्तिकै पुलिसको आँखा छलेर परिक्षा हलबाट निस्केँ । इख/इगो भन्ने कुरा दर्दनाक हुन्छ, जो भुक्तभोगी म आफैँ छु । प्रहरी प्रशासनको निगरानी/दवाबले अन्ततः माओवादी सशस्त्र द्धन्दमा सहभागी हुन पुगेँ । तत्कालिन राज्यपक्ष/विद्रोहीपक्ष र व्यक्तिगत रुपमा पनि ठूलै क्षती भए । मुल कुरा के हो भने, सशस्त्र द्धन्द र जनआन्दोलन पछि जनादेश अनुरुप संविधान बनेको छ र जनताद्वारा जनताको शासन हुने व्यवस्था आएको छ । अब भन्नुस् जनताद्वारा जनता शासित हुने भनेको हिजैको बेथिति, लुटतन्त्रको निरन्तरता पक्कै होइन होला । व्यवस्थित हुन समय लाग्लान् तर कती ? शान्तिप्रक्रिया र संविधान निर्माणपछिको दुईतिहाइ नजिकको सरकारले जुन गतीमा जनजिविका विकास निर्माणमा गतिहिनता छ । सुशासन कुन चराको नाम हो ? भन्ने स्थितिमा पुगीसकेको अवस्था छ ।
पछिल्लो ‘कोरोना महामारी’को बारे थोरै कुरा गर्न चाहन्छु । सरकारले चाहेमा नसक्ने केही छैन्, नीति नियम संविधान छ । काम गर्न कसले रोक्यो ? सुन्छु, समस्या कर्मचारीतन्त्रमा छ । सबै भन्दा निरही कुरा लाग्छ । राजनीतिक दल र सरकार प्रमुखले चाहने हो भने कामचोर/भ्रष्ट कर्मचारीलाई चुट्कीको भरमा गल्हत्याउन सकिन्छ र सक्नुपर्छ । सबै भन्दा समस्या त राजनीतिक नेतृत्वमा परेर गाह्रो भयो। को भन्दा को धनी ? कसले धेरै कमायो/कमाउन सक्यो ? मन्त्री/प्रशासक सब कमाउने प्रतिस्पर्धामा भएपछि देश कहिले बनाउने ? कस्ले बनाउने ? उही श्री पशुपतिनाथले ?
एउटा साधारण जनताको आँखामा राजनीतिक दलहरु, प्रशासकहरु, लाइसेन्सवाला लुटेरा बाहेक केही देखिएन है । हरेक कुरामा कमाउने भएपछि जनता भगवान भरोसाको स्थितिमा छन् । म छु । हुदाँ खाने र हुने खानेबीच झनझन् गहिरो खाडल छ । सर्वहारा वर्गको मुक्तिको लागि विद्रोह गर्ने गराउने पार्टी र अध्यक्षद्धय सरकार र पार्टी सन्चालन गर्दै हुनुहुन्छ। के यही दिन देख्न त्यति धेरै मान्छेहरुको कुर्वानी भएको हो ? दुरदराजमा तपाईहरुलाई बचाएर यहाँ ल्याइपुर्याउने जनतालाई नबिर्सनुस् । इतिहास निर्मम हुन सक्छ । लकडाउनपछि भोकैप्यासै ८/१० दिन लगाएर सर्वसाधारण जनता मजदुरहरु घर जाँदैछन् । लकडाउन जो जहाँ छौ त्यही बसौँ भनेर/आदेशले मात्र त नहुने रहेछ । प्रधानमन्त्रीज्यूले भनेझैँ भोकभोकै मर्नुपर्दैन । खै दुइतिहाइ नजिकको मत दिएर बनाएको सरकारले ती मजदुरहरु/श्रमजीवि जनतालाई एक मुठी चामल र पानी दिन सकेको ? श्रमचोर ठेकेदारहरुलाई समातेर मजदुरको भरणपोषण किन गर्न सकिन्न ? मजदुर नेताहरु/विष्णु रिमालजी, के यही हो तपाई यो देशको प्रधानमन्त्रीको सल्लाहकार भएर मजदुर मर्नुपर्ने ? शालिकराम जमकट्टेलजी बागमती प्रदेशको जिम्मेवार मन्त्री भएर मजदुर मर्नुपर्ने दिन आउनु पर्ने ? धिक्कार छ।
अन्तमा, प्रहरी साथीहरु/प्रशासनले कान खोलेर सुन्नुहोस् । विगतमा पनि तपाईं प्रहरी संगठनको केही गलत नेतृत्व र राजनीतिक दलहरुले गलत गरेकैले विद्रोह चरमउत्कर्षमा पुगेको हो । गणतान्त्रिक व्यवस्थामा पनि हिजैको जस्तो हिंस्रक व्यवहार नदेखाउनुहोस् । अहिले पनि सबैभन्दा बढी जनताको सहानुभूति तपाईं प्रहरी/सेना र डाक्टरहरुलाई छ । सम्झाउनुस/बुझाउनुस् । बल प्रयोगको सिद्धान्त छ । कहाँ कस्तो अवस्थामा कसरी बल प्रयोग गर्ने ? सुझबुझपुर्ण काम गर्नुस/गराउनुस् । यो आपतविपतमा तपाईंहरु नै हो हामी जनताको सरकार । इख/इगोले दुर्घटना निम्त्याउन सक्छ । सामाजिक सञ्जालमा हरेक मान्छेका गतिविधि छरपस्ट छ। ख्याल गरौँ ।
अन्तमा सरकार भोको पेटले क्रान्ति (विद्रोह) निम्तिन सक्छ। विद्रोह तपाईंहरुले गरेजस्तो मात्र हुन्छ भन्ने छैन । २००७ देखि यता हरेक आन्दोलनमा आ-आफ्नो गछ्छेआनुसार जनताले भूमिका निर्वाह गरेका छन् । बेलैमा ध्यान पुगोस्, सडकमा भएको मजदुर/जनताको उद्धार होस। जय होस् ।
बसाईँ हिड्नेको ताँतीले बस्नेको मन रुदाँ छ, लाखौंको लागि उजाड छ यो देश मुठीभरलाई त स्वर्ग छ । -जेबी टुहुरे