काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातिको भीषण पहिरोले ठूलो मानवीय एवम् भौतिक क्षति गराएको स्थलको निरीक्षण गरेका छन् ।
पहिरोले क्षति पुर्याएको स्थानको स्थलगतरुपमा जानकारी लिदै उनले स्थानीय पहिरो पीडित र प्रभावितसँग छलफल गरेका छन् ।
सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्ति बढिरहेको उल्लेख गर्दै जोखिमयुक्त सूचीकृत नभएका बस्तीमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताए । ।
उनले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।
सभामुख सापकोटाले भीरखर्क, नागपुजे र नेवारटोलका पहिरोमा परेर ज्यान गुमाएप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचारका लागि सहज गर्न सघाउने बताएका छन् । पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ ।
आज साँझसम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता रहेका छन् । पहिरोका कारण भीरखर्कका चार, नाकपुजेका ११ र नेवार टोलका सात गरी २२ घर पूर्णरुपमा क्षति भएको छ । १७ घर जोखिममा छन् ।