काठमाडौं ।
लमजुङ र पोखरामा पहिरोले ७ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने खुल्न नसकेको प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।
त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ ।
यस्तै लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेसीसहर नगरपालिका ७ सातबीसेमा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ। घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेमा सन्तबहादुर गुरुङ, अनिल गुरुङ र सुमने गुरुङ रहेको थापाले जानकारी दिए। उनीहरुको लमजुङको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
Recent Comments