लक्ष्मी पौडेल
दशैंको मुखमा साथीले गुनासो गरी– “अफिसले तलब दिएको छैन, तीन महिना भैसक्यो, उसले मसँग सापटी मागेकी थिई । काठमाडौंमा डेरा बसेर पत्रकारिता गरिरहेकी उसलाई महिना मरिसक्दा तलब आइसक्नुपर्छ नत्र खर्च टार्न समस्या हुन्छ । यो उसको मात्र होइन सबै पत्रकारको समस्या हो । राष्ट्रियस्तरको दैनिक पत्रिकामा सम्बद्ध ऊ मात्र होइन, राजधानीका धेरै सञ्चारमाध्यममा कार्यरत पत्रकारको अवस्था उस्तै छ । एक त भनेजति तलब नपाइनु । पाइने तलब पनि समयमा नपाइनु मूलधारका सञ्चारमाध्यमको मुख्य समस्या हो । राष्ट्रियस्तरकै एचडी ब्राण्डको एक टेलिभिजनमा काम गर्ने पत्रकार साथीहरूले पनि तलब नपाएको गुनासो गर्दै थिए । सो टेलिभिजनमा कार्यरत एक साथीले भने, ‘तीन तीन महिनासम्म साथीहरूसँग सापटी माग्दै चलायो, तलब आउँदा तलबभन्दा बढी ऋण भैसकेको हुन्छ । अनि कसरी चल्नु ?’
अर्को एक टेलिभिजनमा काम गर्ने आफ्नै जिल्लाको साथीले एकाबिहानै फोन गरेर म कार्यरत संस्थामा मान्छे खोजेको हो ? भनी सोध्दै थिई । आफूले काम गरिरहेको मिडियामा तलब नै समयमा नदिने गरेको उसले सुनाई । ‘बरु तलब थोरै आओस् । तर समयमा आओस् । धेरै दिन्छु भन्ने तर ३/४ महिनामा एक महिनाको बल्ल दिएर कसरी चल्ने हो ?’ उसले प्रश्न गरी ।
अर्का एक जना साथीले समयमा तलब नपाउने समस्याकै कारण पछिल्लो ६ महिनामा ३ वटा सञ्चारमाध्यम फेरेका छन् । ‘ठूलो मिडिया भनेर के गर्नु, समयमा पैसा आउँदैन । त्यसैले नयाँ एउटा अनलाइनमा काम शुरु गरें ।’ उनले तीतो पोखे । यी केही प्रतिनिधि घटना हुन्, नेपाली सञ्चारमाध्यममा कार्यरत पत्रकारको अवस्थाका । सबै यस्तै छन् भन्न खोजेको होइन तर मूलधारका मिडियामा यस्ता समस्याले पत्रकारितामा टिकिरहन समस्या सिर्जना गर्छ भन्नेमात्र संकेत गर्न खोजेको हो । नवलपरासीमा कार्यरत रहेका बेला मलाई एकजना मेडिकल सञ्चालकले अप्रत्यासित प्रस्ताव गरे । एउटा कार्यक्रमका विषयमा कुराकानी गरिसकेपछि उनले भने, ‘लक्ष्मीजी मिडियामा कमाई कति हुन्छ ? सन्तुष्ट त हुनुहुन्छ ? हुनुहुन्न भने समयमै अन्य फिल्डमा लाग्नुस् है । पत्रकारको तलब धेरै हुन्न रे भन्ने सुन्छु ।’ एकैपटक तीन चारवटा प्रश्नसहित प्रस्ताव गरेका उनको कुराको जवाफ दिनु उचित लागेन । किनभने पत्रकारितामा म सन्तुष्ट छु भन्ने कुराले त्यहाँ अर्थ राख्दैनथ्यो । उनले सुनेका कुरा असत्य थिएनन् । पत्रकारितामा कमाई नभएकै कारण नाम चलेका पत्रकार विदेशिएका, नाम चलेका पत्रकार होटल खोलेर बसेका र कुनै बेला पत्रकार भनेर धाक जमाउने रिपोर्टरले उनको जस्तै मेडिकलमै काम गरेको उनले देखेका थिए ।
‘लक्ष्मीजी मिडियामा कमाई कति हुन्छ ? सन्तुष्ट त हुनुहुन्छ ? हुनुहुन्न भने समयमै अन्य फिल्डमा लाग्नुस् है । पत्रकारको तलब धेरै हुन्न रे भन्ने सुन्छु ।’
पत्रकारले तलब नपाएका विषयमा कुरा गर्दा एक दिन एक जना कार्यक्रम उत्पादक साथीले भनेका थिए– राष्ट्रिय सञ्चारमाध्यमहरूमा पैसाको अभाव हुँदैन । तर प्रा.लि. भनेर खोलिएका सञ्चारमाध्यमका पत्रकारलाई तलब पाउन हाकिमको मुड अर्थात् सञ्चालकको मुड र उनको हस्ताक्षर कुर्नुपर्ने हुँदा समस्या भएको हो । उनले पैसा समयमा दिनुपर्छ भन्ने नबुझेका सञ्चालकको कारण समस्या भएको औँल्याए । हुन पनि अधिकांश प्राइभेट कम्पनीका नाममा सञ्चालित सञ्चारमाध्यममा तलब दिने समयमा कम्पनीका हाकिम सहजै उपलब्ध नहुने,
बैंकमा जाने तलबसिटमा उनको हस्ताक्षरका लागि दिनहुँ कुर्नुपर्ने बाध्यता छ । काम गरेपछि तलब आउने दिनमा नआउँदा पत्रकारले अवश्य पनि निष्पक्ष र निर्धक्क भएर काम गर्न सक्दैन ।
तलबले काममा असर
पत्रकार अर्जुन आचार्य समयमा तलब नपाउँदा कामप्रति लगाव नहुने बताउनुहुन्छ । काम गरेबापतको मूल्य समयमै पाउनुपर्छ भन्ने विश्वव्यापी मान्यता नै हो तर कम विकसित वा विकासशील मुलुकको पत्रकारितामा नेपालमा जस्तो समस्या देखिने गरेको छ । कैलालीबाट पत्रकारिता गर्दै आएका अर्का पत्रकार भानुभक्त आचार्य भन्नुहुन्छ, ‘नेपालमा न्युनतम पारिश्रमिकको नारा धेरै भयो । न्युनतम पारिश्रमिक भन्दा उचित पारिश्रमिक र समयमै पारिश्रमिक उपलब्ध गराउन आवश्यक छ ।’
तलब नपाए अरू काम गर्नू
अरू काममा तलब नपाएको गुनासो गर्ने र सुन्ने, सुनुवाई हुने ठाउँ भए पनि पत्रकारितामा गुनासो बढी छ । एक त कार्यालय अथवा पत्रकारिताको सम्बन्धित निकाय नेपाल पत्रकार महासंघ अथवा सूचना तथा प्रसारण विभागमा यससम्बन्धी उजूरी गरेपनि झनै जागिर नै छोड्नुपर्ने अवस्था छ । कतिपय पत्रकार जागिर छोडिसकेको बर्षौँ हुँदा पनि पहिले काम गरेको
संस्थाले तलब पूरा नदिएको गुनासो गरिरहन्छन् । यस्तो बेलामा साथीसंगी अथवा घरपरिवारमा काम र तलवको समस्या सुनायो भने उल्टै पत्रकारिता नै छोडेर अरू जागीर गर्न सुझाउँछन् । कतिले त अझै खिसी ट्युरी गर्छन् । मोफसलका सञ्चारमाध्यममा परिक्षणकाल अथवा प्रशिक्षार्थी भनेर राखिएका कतिपय नयाँ संवाददाताले विनापैसा नै काम गरिरहेका हुन्छन् । उनीहरू परीक्षणकाल भनेर ६ महिना, एक बर्ष र त्योभन्दा बढी समय पत्रकारिता
गरिरहेका हुन्छन् । अन्त्यमा तलब माग्दा नदिने, कार्यालयले दिने अवस्था छैन अथवा परीक्षणकाल सकिएको छैन भन्ने जवाफ सुनेपछि पेशाबाटै पलायन भएका उदाहरण त कति छन् कति । केही वर्ष पहिले पत्रकारिता गर्न भनेर नवलपरासीको एक सामुदायिक रेडियोमा पुगेकी महिला साथी अहिले व्युटिसियन छिन् । उनले केही महिना बिना तलब उक्त रेडियोलाई सहयोग गरिन् । केही महिनासम्म काम गर्दा पनि पैसा नपाएपछि रेडियो आउन
छोडिन् । ‘त्यहाँ त्यत्रो महिना काम गर्दा तलब पाइन अनि म त ब्युटीसियन तालिम लिएर आफैँ काम गर्न थालें ।’ उनले भनिन् ।
पत्रकारिता गर्न भनेर सामुदायिक रेडियोमा पुगेकी महिला साथी अहिले व्युटिसियन छिन् ।
तर सधैँ पत्रकारितामा भनेजति पैसा नभए अन्य काम गर्नु भन्ने नीति सही हुँदैन । राज्यको चौथो अंग भनेर परिभाषित गरिँदै आएको पत्रकारितामा रहेका यस्ता समस्या समाधानमा सरकार, सञ्चारमाध्यम सञ्चालक र पत्रकार स्वयं सचेत र जिम्मेवार हुने कहिले ? दिनहुँ हामीले प्राप्त गर्ने सूचना फगत सूचना मात्र हुँदैनन् । ती सूचनाले विकासको लागि, परिवर्तनका लागि र नराम्रा गतिविधि हुन नदिन ठूलो भूमिका खेलेका हुन्छन् । एउटा पत्रकारले खोजेको सूचनाले सरकार बनेका, सरकार ढलेका वा राज्यको नीति नियम नै कायापलट भएका पनि छन् । एउटा पत्रकार निष्पक्ष भएर काम गर्न उसका आधारभूत आवश्यकताको परिपूर्ति पहिलो शर्त हुनुपर्छ । दिनहुँ खर्चका लागि अर्को विकल्प सोच्नुपर्ने पत्रकारले पत्रकारिताकै काम कति गर्न सक्छ भन्ने विषय गम्भीर छ । पत्रकारले समाचारबापतको भत्ता लिने गरेका, समाचारभन्दा पनि प्रचारमुखी सूचना दिने गरेका, घुस लिएका र अनैतिक काम गरेका खबर बेला–बेला सुन्ने गरिएका छन् । ती पत्रकारका कारण समग्र पत्रकारिता जगतमाथि नै प्रश्न नउठ्ने पनि होइनन् । सञ्चारमाध्यमहरूले आवश्यक सुविधा आफ्ना कर्मचारी पत्रकारहरूलाई उपलब्ध नगराउँदा पत्रकारले आचारसंहिता विपरित रकम लिने, घुस लिने, समाचारका लागि बार्गेनिङ गर्ने, भत्ता लिने र समाचारभन्दा विज्ञापनतर्फ ध्यान दिने अवस्था आउँछ ।