काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन जारी गरिएको लकडाउनको अवधी लम्बाएपछि सरकारले विभिन्न क्षेत्रमा राहत र सहुलियतको घोषणा गरेको छ । हिजो बेलुकी बसेको मन्त्रीपरिषद् बैठकले असंगठित क्षेत्रका मजदुरलाई स्थानिय तहले पहिचान गरि लकडाउनको अवधीभर दैनिक खाद्य आवश्यकतालाई पुग्नेगरी राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
गर्भवती, महिला, दिर्घ रोगी, अपाङ्गता भएका व्यक्ति, टुहुरा बालबालिकाका लागि विशेष हेरचाहको निर्णय पनि भएको सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।
संगठित क्षेत्रमा कार्यरत मजदुरहरुका लागि सम्बन्धित रोजगारदाताले पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको मन्त्री खतिवडाले बताउनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडबाट पिठो दाल खानेतेल चिनि लगायतका सामाग्रीमा १० प्रतिशत छुट दिइ वितरण गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले ईन्टरनेट र डाटा प्याकमा समेत २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । विद्युत प्राधिकरणले मासिक १ सय ५० युनिटसम्मको खपत गर्ने ग्राहकको महसुलमा २५ प्रतिशत छुट दिने तथा विद्युत खानेपानी टेलिफोन र ईन्टरनेटको फागुन र चैत महिनाको महशुल भुक्तानी २०७७ बैशाख मसान्तसम्म जरिवाना शुल्क बिना नै तिर्न सकिने छ ।
कोरोना संक्रमणको रोकथाम र उपचारको लागि आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि सरकारले थप बजेटको व्यवस्था गर्ने निर्णय गरेको छ । क्वारेन्टाईन र क्वारेन्टाईन राखिएका व्यक्तिहरुको खाना खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखसम्मको निःशुल्क बिमा र क्षतीपुर्तिको व्यवस्था गर्नुका साथै घरभाडा र विद्यालयको शुल्क एक महिना छुटको व्यवस्था पनि गरिने मन्त्री खतिवडाले बताउनुभयो ।
Recent Comments