काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिवार भएको भनिएको विवादबारे मुख खोलेका छन्।
उनले आइतवार एक प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओली र आफूबीच बालुवाटारमा भएको भनिएको विवादबारे स्पष्टीकरण दिएका हुन्। उनले आफू र प्रधानमन्त्रीबीच भएको कुराकानीलाई मनमौजी ढंगले समाचार बनाएर टिकाटिप्पणी गरिएको बताएका छन् ।
‘हिजो (१३ गते) प्रधानमन्त्री केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ’, उनले भनेका छन्, ‘पार्टीभित्र, पार्टी र सरकारबीच, अनि अन्य पार्टी र सरकारबीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो।’ गौतमले समय र परिस्थिति प्रतिकूल जारी अध्यादेश खारेज भएपछि पार्टीमा अनेकौँ समस्या आएका बताएका छन्। ‘यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई ‘बाइपास’ गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ भनेको हुँ।’ प्रेस नोटमा भनिएको छ ।
गौतमले अहिले देखिएका समस्या समाधानका लागि तत्काल पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बोलाउन पनि माग गरेका छन्।
Recent Comments