-नारायण शर्मा
वीपीप्रती हार्दिक श्रद्धासुमन !
आज जुलाई २१ अर्थात् साउन ६ गते एक महान् नेपाली नेता वीपी कोइरालाको स्मृती दिवस । हार्दिक सम्झना, श्रद्धा र सलाम छ यहाँलाई ।
कोइराला नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा नेपालमा प्रजातान्त्रिक आन्दोलनका प्रवर्तक एवं जननिर्वाचित प्रथम र नयाँ नेपालका २२औं प्रधानमन्त्री हुनुहुन्छ । उहाँ एक मूर्धन्य साहित्यकार तथा आदरणीय राजनीतीज्ञ पनि हो । त्यसैले वीपी कोइरालालाई यहाँको ३९ औं स्मृतिदिवसका सन्दर्भमा नेपाली साहित्य र राजनीतिका विद्यार्थीहरुले सम्मान गर्नैपर्छ ।
आफू कम्युनिस्ट हुनुका नाताले पहिले-पहिले वीपीलाई दलाल तथा नोकरशाही पुँजीवादी पार्टी नेपाली काङ्ग्रेसजस्तो दलाल तथा नोकरशाही पार्टीका संस्थापक एक चरम दलाल नेता भनेर खुबै गाली गरियो । चिनियाँमान काजीका हत्यारा भनेर; अनि “नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्नु जरुरी छैन, भारत भए पुग्छ”आदि भन्ने भारतीय दलाल नेता भनेर; आफ्ना दाजु मातृका प्रसाद कोइराला र यी दुवै प्रधानमन्त्री भएको बेलामा भारतीय दलाली स्वरुप नै गण्डकी र कोशी सम्झौताजस्ता राष्ट्रहित विपरीतका सन्धी-सम्झौता गरेर राष्ट्रिय गद्दारी गरेको भनेर; राष्ट्रिय मेलमिलापको नाममा राजासङ्ग घाँटी जोड्ने गरेका प्रतिक्रान्तिकारी गद्दार नेता भनेर तथा फ्रायडवादी योनवादी साहित्यकार आदि-इत्यादि भनेर अन्धाधुन्ध विरोध गरियो र कम्युनिस्टका कैयौं नेताहरुलाई महान् राष्ट्रवादी, जुझारु क्रान्तिकारी, स्वच्छ-सदाचारी, ठुला त्यागी-तपस्वी र महा आदर्श नेता मानेर धुमधामसङ्ग एकोहोरो महिमामण्डित गरियो ।
ला वीपीलाई कसैले एसियाका महान नेता भन्दैगर्दा सके मुखले नसके मनले भएपनि “इस्स” भनियो । तर अहिले आएर बिनापूर्वाग्रह यहाँको योगदानको समग्र मूल्यांकन गर्दा वीपी त नेपालका साँच्चिकै एक जेनुइन नेता भएको निष्कर्षमा पुगेपछी यहाँप्रतिको श्रद्धा चुलिएको छ भने कतिपय हाम्रा महान् भनिएका कम्युनिस्ट नेताहरुका पछिल्ला भ्रष्ट, धोकेवाज, व्यक्तिवादी, परिवारवादी, गद्दारीपूर्ण, कायर, अहङ्कारी, आत्मसमर्पणवादी र भोगविलासवादी देखेपछि खिस्स परेर उनीहरुलाई घृणा गर्नतिर मन गएको छ । यो कुरा बेग्लै हो कि अन्तर्राष्ट्रिय नेताहरुमा सिद्धान्तमा मार्क्स, एङ्गेल्स, लेनिन र माओ तथा व्यवहारमा होचिमिन्ह र चे गुएभाराजस्ता अनि राष्ट्रिय रुपमा सिद्धान्त र व्यवहार दुवैमा पुस्पलालजस्ता नेताहरुप्रती भएको असीम श्रद्धामा कुनै कमी आएको छैन र आउनेछैन पनि ।
तथापी समग्रमा वीपीलाई दलाल र गद्दार नेता भन्नुमा र रायमाझी, ओली र प्रचण्डजस्ता कम्युनिस्ट नामका कलंकलाई महान् नेता भन्नू र मान्नुजस्ता यी दुवै कुरामा पश्चात्ताप र पीडाबोध भएको छ । जे होस्, मान्छेको मृत्युपछि र आफ्नो बूढेसकालमा मात्र अन्तत: कसैको सही मूल्यांकन गर्न सकिन्छ र हुन सक्छ भन्ने कुरा सत्य रहेछ । अहिलेलाई यो एउटा सत्य नै हो कि वीपी महान् छन् । किनकी यिनको प्रतिक्रान्तिकारी र आत्मसमर्पण वादी भनिएको उनको अन्तिमतिरको एउटा मुख्य नीति र कार्य राष्टृय मेलमिलापबाट उनी सच्चा नेपाली देसभक्त नेताभएको पुष्टि भयो ! त्यसैले यिन्लाई दिलैदेखी सम्मान र सलाम छ ।
पुन: हार्दिक श्रद्धाञ्जली एक सच्चा नेतालाई ।