नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय गुप्तचर संस्था ‘र’ चिफ सामन्त गोयलबीच भएको भेटमाथि प्रश्न उठाएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमा आफ्नो निजी विचार पोष्ट गर्दै बिदेशी गुप्तचर अधिकारी सँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरितको यस्तो भेट किन ? भन्ने गम्भीर प्रश्न उठाएका हुन्।
प्रधानमन्त्री र गोयलबीचको भेटवार्ताबारे परराष्ट्र मन्त्रालय र पार्टीमा पनि जानकारी नभएकाले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको उनले बताएका छन् ।
यसप्रकारको भेटले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन , अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुने उनले बताएका छन् ।
उनको स्टाटसः
केही दिन गोरखा र चितवनको भ्रमण गरी काठमाडौं फर्किएको छु । यसबिचमा भारतको गुप्तचर सँस्था ‘र ‘प्रमुख सामन्त गोएल बिमान नै चार्टर गरी आफ्नो टोली सहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग “वार्ता “गरेर फिर्ता भएछन् ।प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको सँस्थागत जानकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पुर्व जानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै सँस्थागत एवं औपचारिक छलफल भएको छैन । त्यसैले यस सम्बन्धमा यहाँ ब्यक्त बिचार मेरो निजी बिचार हो ।मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक ईतिहाँसमा यस प्रकृतिको यो पहिलो घटना हो ,देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसुचि बिदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा बिपरीत समकक्षी झैं औपचारिक वार्ता गरेको ।नेपालको राष्ट्रिय अनुसन्धान बिभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित बिषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ । बिदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो बिशेष दुतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन ।त्यसैले गम्भीर प्रश्न उठ्छ, बिदेशी गुप्तचर अधिकारी सँग प्रमको भेट र कुटनीतिक मुल्य र आचारसँहिता बिपरितको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन , अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।









































