प्रभु खतिवडा
जनयुद्धको विषयमा नेपाली समाजमा वर्गीय विभाजन छ किनभने वर्गीय दमन, शोषण, उत्पीडन र राज्यविरुद्ध नै हुँकारसहितको विद्रोह थियो जनयुद्ध । भुइँमान्छेलाई कम्युनिष्ट, मार्क्सवादी, प्रजातान्त्रिक शब्दावलीसँग खासै रुचि छैन । चिन्ता र माया केवल जीवनवृत्तिको छ । शिर ठाडो, छाती खुल्ला, रोकतोक र कसैको हस्तक्षेपबिना खुल्ला आकाशमा स्वतन्त्रताको दुई मुट्ठी सास फेर्ने ठुलो चाह हुन्छ ।
म पनि मान्छे हुँ भन्ने अनुभूति निष्फिक्रि गर्ने अभिलाषा बोकेका हुन्छन् । हो सरकारले त्यही भुइँ मान्छेहरुको उन्नत चेतनाको राप, ताप र उज्यालो अभिनव भविस्यको लागि पाइन हालेको हेर्न मन छ र त्यसैको लागि थियो माओवादी जनयुद्ध । माओवादी विद्रोह गरिब, निमुखा, उत्पीडित, सीमान्तकृत र सामाजिक बहिष्करणमा परेका तत्काको लागि एउटा आसाको किरण थियो । सपना थियो । चाहना थियो । भविस्य थियो । उर्जा थियो । आड, भरोसा र विश्वास पनि थियो । यही वर्गीय साथ, सहयोग र प्रेममा प्रवाहित आन्दोलनले ठोस आकार लिएको थियो । विद्रोह न्यायको पक्षमा थियो, समतामूलक समाज निर्माणको पक्षमा थियो । श्रमजीवीको राष्ट्रिय पुँजिमा पहुँच पुर्याउन थियो । शोषण र दमनको जरोकिलो उखेल्नलाई थियो । उत्पादन साधनमा समान्तवादी रजाइँ तोड्नुथियो र समाजवादी वितरणप्रणाली लागु गराउनलाई थियो । विद्रोहको गर्जन थियो, निमुखाको पहुँचमा राज्य व्यवस्था निर्माण गर्ने । सर्वहारा, गरिब र उत्पीडित वर्गले शासनको बागडोर समाल्ने र पक्षधरता सेवा गर्ने । आर्थिक, सामाजिक, राजनैतिक र समाजिक क्षेत्रमा क्रान्ति गर्ने । मूलाधारमा यही मुद्दाहरू थिए ।
गाउँ बस्तीबाट विद्रोहको लागि दलित उठे, उत्पीडित जुटे, शक्तिहीनहरु जुरमुराए, निर्धाहरूले लड्न थाले । खासमा यो विद्रोह आफैँमा वर्गीय थियो । समर्थन र विरोध पनि वर्गीय । तर साँच्चै राज्य, राज्य हुन सकेको थियो, शोषण थिएन भने र गरिबगुरुवाले शासन सत्ता मेरो पनि हो भन्ने स्वामित्व र अपनत्व अनुभूति गरेका भए सायद यो विद्रोहको कल्पनासम्म हुँदैन थियो होला ।
के मान्छे रहरले राज्यसँग लड्छ होला र ? के मान्छेलाई आतङ्ककारी बन्ने उत्कण्ठा हुन्छ होला र ? राज्यले बुझ्न सकेन भोक, अन्याय र शोषण खतरनाक हतियार पनि हुनसक्छ भनेर । खास कुरा किन देशको असी प्रतिशत भूभाग र हरगाउँमा राज्यको उपस्थिति कमजोर थियो ? राज्य सहरको लागि थियो, राज्य धनिको लागि थियो, राज्य केही मुट्ठिभरका नागरिकका लागि थियो । यसले पनि राम्रोसँग विद्रोहलाई मलजल गर्यो । समस्या थियो र पो विरोधको स्वरमा स्वर, काँधमा काँध मिलाउन गाउँ तत्पर भए । ढुङ्गा माटोसम्म बोल्ने भए ।
सिरक ओढेर राज्यको घ्यू खान पल्केका जमातलाई यो मन परेन र पर्न पनि हुँदैन । विभिन्न उपमा दिएर पनि विद्रोह सदैव यही प्रवृत्तिविरुद्ध हुन्छ र हुनुपर्दछ र जनयुद्ध देश खाने र शोषण गर्ने विरुद्ध थियो । आजको यक्षप्रश्न के भयो जनयुद्धको उपलब्धि ? गणतन्त्र ल्याए, संघीयता लागु गरे, धर्मनिरपेक्षता कायम भयो, समावेशिता जोडतोडले अघि बढ्दै छ, समानुपातिक प्रतिनिधित्वको कुरा सबै ठाउँ प्राप्ती भयो । हो व्यवस्था परिवर्तन भयो । भुइँ मान्छेहरुको विवशता कता पुग्यो ? व्यवस्था परिवर्तनले मात्र जीवनको सम्बोधन गर्न नसक्ने कुरा प्रष्ट देखियो । आज पनि सत्तामा हालिमुहाली तिनीहरुकै छ जस्को हिजो थियो र जुन तप्का र प्रवृत्तिकाविरुद्ध आवाज उठेको थियो । विकास र संवृद्धिको लडाइँमा माओवादी पंक्ति कहाँ पुग्यो ? शान्तिको नाममा सम्झौतामा ओर्लिएको जनयुद्धले आफ्ना के के मुद्दाहरूमा समेत सम्झौता गर्यो त ? सपनाबाट प्राप्त उर्जा, सपना धूमिल हुँदैगर्दा असन्तुष्टि र प्रतिशोधमा परिणत हुनु पनि प्राकृतिक हो । तै असन्तुष्टि र प्रतिशोध कहिले खाडीबाट सुनिन्छ त कहिले गाली र हत्याराको नाममा। संसदीय अंकगणित हेर्ने हो भने पनि लोकप्रिय मत ओरालो लागेर, चुचुरोबाट फेदिमा झरिसक्यो । यति छिट्टै यो सबै कसरी हुन गयो ?
टिकेप्रथा कायम हुनु, नेता कार्यकर्ताको आचरण र कार्यशैली सर्वहारा वर्गीय नहुनु, पार्टीमा नयाँ सम्भ्रान्त वर्गको उदय हुनु, नेताहरूको रोजाइमा पार्टी कार्यकर्ताको ठाउँमा आफन्त र नातेदार पर्नु, नेतृत्व कार्यकर्ताको पहुँचबाहिर हुनु तर दलाल पुँजीपतिको छत्रछाँयामा रमाउनु । जनतासँग नजोडिनु, कार्यकर्ता तथा नेता आर्थिक रुपमा धुमिल हुनुले आन्दोलनप्रति घात त गरिएको छैन ? जनयुद्धको उपलब्धि भोग गर्ने नेताहरूले उत्तर दिन पनि जरुरी छ।
एकातिर निकै धूर्त, षड्यन्त्रकारी, सङ्गठित शक्तिहरूसित लड्नुपरेको छ माओवादी लिगेसी बोकेका नेता कार्यकर्ताले भने अर्कातिर नागरिक जनअदालतमा प्रश्नका चाङ छन् । चेतनाहीन लोकतन्त्र, मुर्दा शान्ति र सबै नागरिकको पहुँचविहीन शासन व्यवस्था कसरी उन्नत राजनैतिक व्यवस्था हुन सक्छ ? आन्दोलन सधैं सत्तामा चढ्ने खुड्किलो मात्र हुने हो भने नेताप्रति विश्वास कसरी पलाउँछ। सहिदका सपना टुकुचामा बगाएकै हो भन्ने प्रश्न उठ्दा किन जोडदार जवाफ छैन हामीसँग ! जवाफ हुनुपर्छ र त्यो वर्गसंघर्ष र वर्गीय मुक्तिका खातिर चालिएको कदम मार्फत पुष्टि गर्नुपर्छ ।
माओवादी आन्दोलनमा समाहित कमाण्डर, कमिसार र कार्यकर्ताबीच वर्गीय मित्रद्रोह किन भयो ? निर्मम समीक्षा गर्ने हो भने आन्दोलनभित्र विकसित भएको प्रवृत्तिहरुको पटाक्षेप हुनेछ । आवश्यकता शुद्धिकरणको छ, फेसबुके आत्मरति गालीगलौजमा छ । गल्ती छोप्नुलाई पराक्रम ठान्ने सोचबाट माथि उठेर आत्मालोचना र समीक्षा गर्ने साहसको जरुरत छ । ढुक्क हुनुपर्ने कुरा बादलले पानी पार्दैन तर यो गतिमा र यति तल्लो स्तरमा वैचारिक र व्यवहारिक आत्मसमर्पण, स्खलित मानसिकताको उपज के हो ? पात्र गौण हुन्, हिजो आन्दोलनप्रधान हुने स्वभाव आज पद, प्रतिष्ठा र पैसामा किन र कसरी टुङ्गिन पुग्यो ? निर्मम समीक्षाको आवश्यकता कहिले हुनपर्ने हो ? नत्र काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर को हबिगत पार्टी र आन्दोलनको नहोला भन्न सकिन्न कि ?
हरेक दर्शनको विशिस्ट चरित्र हुन्छ।आफ्नो वर्गहित, विचार, सामाजिक, आर्थिक र राजनैतिक उद्देश्यको सेवा गर्ने । आजको यक्षप्रश्न, के मार्क्सवादी दर्शन र विचारधारा बोकेका पार्टीहरुले दर्शनअनुरुप सेवा प्रदान, पक्षधरताको वकालत र वर्गीय पृष्ठपोषण गरेको छ ? छैन भने दर्शन बेच्न छोड्ने कि रुपान्तरण हुने ? धरातलमा ओर्लिएर यथार्थवादी हुने कि मनको लड्डु घ्यूसँग खाँदै कल्पनामा सीमित भइरहने । आफ्नै पखेटाबिना आकाशमा उड्ने सपना भनेको बालुवाको घर बनाउने बालहठ मात्र हो।तसर्थ बुझ्न आवश्यक छ र बुझाउन जरुरी ।
दमन र शोषणको भुङ्ग्रोमा हात हालिसकेपछि अलि अलि त पोलिहाल्छ नि । तर पोलाइको पीडाभन्दा जितपछिको आत्मगौरव, वर्गीय मुक्ति र शोषणरहित स्वतन्त्रताको स्वप्निल आनन्द अनुभूति गर्न नसक्ने नेतृत्वले अब माओवादी पार्टीको लिडरसिप लिन हुँदैन र गर्न सक्दैन । पूर्वाग्रह र प्रतिशाेधमाथि उठेर आम नागरिक र वर्गीय जीजीविषा जगाउनुपर्दछ। चुरो कुरा यही हो, मर्न पाए मुक्ति हुन्थ्यो भन्ने गरिबहरुमा बाँच्ने चाहना प्रादुर्भाव भएको दिन हरेक कम्युनिष्ट कार्यकर्ताको छाति गर्वले चौडा हुनेछ । कार्यकर्ता, नेताको सोच र प्रवृत्ति गलत भयो भने जुन वाद अङ्गिकार गरे पनि शुन्यमा विलीन हुन्छ।
बौद्धिक विलासिताले मात्र मुक्ति सम्भव छैन । दुनियाबारे व्याख्या एवं विश्लेषण गर्ने कुरा मात्र मुख्य होइन, त्यसलाई बदल्ने कुरामै जोड लगाउनुपर्छ । यही हो आजको आम बुझाइ, व्यवहारिकता र आवश्यकता । ‘एक्सन स्पिक लाउडर देन भोइस’ । किरण र आहुतीको ब्याख्या र ज्ञान साथै विप्लवको विद्रोहले कसको पक्षपोषण गर्दै छ ? जनयुद्धको सपनाहरूको सेवा नगर्ने बुद्धि र विवेचना पशुपतिमा सेलाउन खाँचो छ । गरिबको सपना, भोक, जीवन र समयमाथि मुद्दा छाडि मुद्राको राजनीति गर्ने मुखुण्डोहरूको छेदन जरुरी छ । आन्दोलन कमजोर बनाउन टुटफुट, राजनैतिक जागरण र पदलोलुपमा बसेर युवाहरूको जवानी डकैत गर्ने प्रवृत्ति पहिचान साथै उही जनयुद्धको शैलीमा जनकारबाही पनि जरुरी छ।
अन्त्यमा, मार्क्सवादीहरू खरानी हुँदा पनि खरानी बटुलेर सिर्जनामा लाग्ने बानि बेहोराका हुन्छन् तसर्थ साहस चाहिन्छ, पलायन हुने होइन । संघर्ष गर्नुपर्छ, सम्झौता चल्दै गर्छ । गरुङ्गो छ विद्रोहको लिगेसी, मै हुँ भन्नेले गालीपुराण सुनाएर नाम बोक्ने हैसियत राखेनन् । विप्लवी पहिचानले जन्माएको नामको गरिमा राख्ने स्तर पार्टी र सङ्गठनद्वारा निर्माण गर्यौँ । आन्दोलन सम्मानित हुने वातावरण र परिस्थिति निर्माण गरौँ ।आगामी पुस्ताले गर्वसाथ भन्न सकोस् “जनयुद्ध दिवस जिन्दावाद” ! “विर सहिद लालसलाम”।