बाजुरामा बाटोमा एक महिलाले बच्चा जन्माएको तस्बिर अहिले सामाजिक सञ्जालमा फैलिएको छ । सुत्केरी हुन स्वास्थ्य संस्था पुगेर पनि स्वास्थ्यकर्मी नभएका कारण घरै फर्केकी ती महिलाले बाटोमा नै बच्चालाई जन्म दिएपछि स्वास्थ्यसंस्था सँगै सरकार र व्यवस्थाकै आलोचना सुरु भएको छ ।
बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका बिकले बाटोमा नै बच्चा जन्माएको खबर पहिलोपटक पत्रकार प्रकाश सिंहले स्थानीय बडिमालिका खबर डटकममा प्रकाशित गरेका थिए । उनले सामाजिक सञ्जालमा समेत यो खबर सेयर गरेका छन् ।
फेसबुकमा डा. ओममुर्ति अनिलले लेखेका छन्, ‘ठुला ठुला कुरा गर्नेहरु नयाँ र पुराना नेताज्युहरुको ध्यान यता आकर्षित नहोला किनकी उक्त बिरामीको ठाऊँमा आफूलाई राखेर हेर्ने क्षमता शायद कसैलाई नहोला र तपाईंहरु पनि यो पोस्ट सेयर नगर्नुहोला किनकि यस्तो कुराले कठोर मनलाई छुन सकदैन । स्वास्थ्यसंस्थामा स्वास्थ्यकर्मीको व्यवस्था गर्न नसक्नु व्यवस्थापनको कमजोरी हो , सधै जस्तो यसलाई पनि स्वास्थ्यकर्मीको गलती नभनदिनुहोला तपाईहरु । हे ईश्वर सबै सरोकारवाला को मुटुलाई अलि नरम बनाईदेउ’ ।
यस्तै पत्रकार सोबिता रिसालले लेखेकी छन्, ‘HelloSarkara धेरै ठूलो कुरा नगरौ , देशको वास्तविक चित्र यस्तो छ’ ।
वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षीया बिकले बाटोमा बच्चा जन्माएपछि सरकारी र स्वास्थ्य संयन्त्रको आलोचना भएको छ ।
स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटेपछि फर्कने क्रममा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको खबर छ ।
माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका र उनीहरुको म्याद नथपिएका कारण स्वास्थ्य संस्था कर्मचारी बिहिन भएको हो।
तस्बिरः प्रकाश सिंहको फेसबुक ।