पाल्पा, २१ साउन ।
पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी रहेका छन् । चिदीको काठमाडौँको कलंकीस्थित बयोदा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँको स्वास्थ्य जाँच केन्द्रीय प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार अस्पतालले चिदीको मृत्यु ‘एच वान एन वान’ भाइलले भएको जनाएको छ । उनलाई ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएको थियो ।
ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेका अन्य चार जनाको पनि मृत्यु भएको छ । तर उनीको मृत्यु यही कारणले भएको भन्ने यकिन हुन सकेको छैन ।
मृत्यु हुनेमा पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ कसेनीकी २८ वर्षीया चन्द्रा राना, माथागढी गाउँपालिका–४ झडेवाकी ६७ वर्षीया वसन्ती कुँवर, रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरका ६५ वर्षीय मानबहादुर कुमाल र गुल्मी जिल्लाको मदाने–१ की १६ वर्षीया अनिता विष्ट रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ज्ञवालीले बताउनुभयो ।
रानाको साउन १९ गते कुँवरको साउन २० गते, कुमालको साउन १४ गते, अनिताको साउन ६ गते मृत्यु भएको हो । केन्द्रीय प्रयोगशालाको टोली आज नै पाल्पा आउने तयारीमा रहेको ज्ञवालीले बताउनुभयो । रासस