सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस काउन्सिल नेपालले प्रकाशन गरेका विभिन्न भाषाका आचारसंहिताले पत्रकार मात्र नभई नागरिकलाई समेत सजग बनाउने बताउनुभएको छ ।
सोमबार प्रेस काउन्सिल नेपालका प्रकाशनहरु शैली पुस्तिका, आचारसंहिता (मैथिली र नेपालभाषा) तथा नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास पुस्तक सार्वजनिक गर्दै मन्त्री गुरुङले आम नागरिकले मातृभाषामा नै आचारसंहिता अध्ययन गर्न पाउँदा यसको प्रभावकारिता बढ्ने बताउनुभयो । काउन्सिलले नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन गर्दै आएको आचारसंहिता मैथिली र नेपालभाषामा समेत अनुवाद गरेर प्रकाशन गरेको हो । मन्त्री गुरुङले नेपालमा मैथिली पत्रकारिताको इतिहास खोतल्ने कार्य पहिलोपटक भएको भन्दै नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास ऐतिहासिक पुस्तक भएको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकार आचारसंहिताको प्रचार प्रसार र प्रभावकारी कार्यान्वयनको लागि विभिन्न राष्ट्रिय भाषामा आचारसंहिता प्रकाशन गर्ने क्रममा मैथिली र नेपालभाषामा अनुवाद गरी प्रकाशन गरिएको जानकारी दिनुभयो ।
कार्यवाहक अध्यक्ष बुढाथोकीले भाषाशैलीमा एकरुपता नहुँदा एउटै संस्थाका विभिन्न प्रकाशनमा पनि फरक फरक भाषाशैलीको प्रयोग हुने र यसले संस्थागत गरिमालाई कमजोर बनाउने हुँदा काउन्सिलले शैलीपुस्तिका प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको बताउनुभयो ।
नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास पुस्तकका लेखक तथा आचारसंहिता मैथिली भाषा अनुवादक वरिष्ठ पत्रकार धर्मेन्द्र झाले मैथिली पत्रकारिताको इतिहास पुस्तक काउन्सिलको ऐतिहासिक प्रकाशन भएको उल्लेख गर्नुभयो । सन्दर्भ र इतिहास खोज्ने क्रममा कतिपय पत्रपत्रिकाको जानकारी नै पाउन मुस्किल भएको स्मरण गर्दै उहाँले नेपालको पत्रकारिता इतिहासमा अब मैथिली भाषा पत्रकारिताको शोधपत्र लेखन सुरुवात हुने बाटो खुलेको बताउनुभयो ।
आचारसंहिता नेपालभाषाका अनुवादक, पत्रकार सुरेश मानन्धरले मातृभाषाको आचारसंहिताले सम्बन्धित भाषीका लागि आचारसंहिताको पालना र कार्यान्वयन अब झनै प्रभावकारी हुने विस्वास व्यक्त गर्नुभयो ।
shere this