नेपालगञ्जमा कोरोनाको अवस्था दिनप्रतिदिन भयावह बन्दै गएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा भने स्थिति नियन्त्रणभन्दा बाहिर गइसकेको बताउँछन् ।
‘प्रतिदिन ४ सयभन्दा बढी नयाँ संक्रमितहरू फेला परिरहेका छन्, जसमध्ये धेरैजसोको अवस्था जटिल प्रकृतिकै छ,’ मेयर राणाले भने, ‘नेपालगञ्जमा हामीसँग भएको स्रोतसाधन तथा क्षमताभन्दा बाहिर स्थिति गइसकेको छ, थप मद्दत पुगेन भने प्रत्येक दिन यसरी नै मान्छे मर्न बाध्य हुने अवस्था आएको छ।’
शनिवार मात्र ८ जनाको मृत्यु भयो र मृत्युदर बढ्दै गएको छ । अस्पतालमा बेडहरू खाली नरहेको उनले बताए ।
‘खास गरेर उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नै संक्रमित भएपछि जनशक्तिको पनि धेरै नै अभाव भएको छ,’ मेयर राणाले लोकान्तरसँग भने, ‘थप जनशक्ति पठाउँछु, पठाउँदैछु भनेर प्रदेश र संघ सरकारले आश्वासन दिएको भएपनि हालसम्म थप जनशक्ति आउन सकेको छैन ।’ जनशक्ति अभाव भएका कारण संक्रमितहरूको कुरुवालाई नै हेरचाह गर्न अस्पतालमा पठाइएको छ, कुरुवा बस्नेहरू पनि संक्रमित भइरहेको उनले बताए।
‘एक दिनमा ६ हजारको संख्यामा भारतबाट नेपाली नागरिकहरू घर फर्किरहेका छन्,’ उनले भने, ‘त्यसमध्ये २ सय देखि ३ सय जना जति मानिसमा कोरोनाको संक्रमण देखा पर्ने गरेको छ।’
स्थानीय सरकारले बोर्डरमा हेल्थ डेस्क राखेको छ, त्यहाँ खटिएका स्वास्थ्यकर्मीले लक्षण देखिने आगन्तुकलाई होल्डिङ सेन्टरमा होल्ड गर्ने गरेको उनले बताए।
बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलाल पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन तथा उपचार गर्न समस्या भएको स्वीकार गर्छन् ।
‘अस्पतालमा बेड न्यून छ, जनशक्ति पनि न्यून छ,’ सीडीओ गेलालले भने, ‘तैपनि न्यून जनशक्तिबाट उपचार गराइरहेका छौं, जनशक्ति थप्न प्रयास गरेका छौं।’
छिमेकी मुलुक भारतमा कोरोना विस्फोट भएसँगै नेपालगञ्जमा पनि कोरोना विस्फोट भएको छ। पहिलो चरणमा कोरोना सकियो, औषधि पनि आइसक्यो, खोप पनि आइसक्यो भन्दै नागरिकले स्वास्थ्यसम्बन्धी अपनाउनु पर्ने मापदण्ड नअपनाउँदा कोरोना विस्फोट भएको उनी बताउँछन् ।
भेरी अस्पताल र कोहलपुर मेडिकल कलेज गरी दुई ठाउँमा दुई/दुईसय गरी ४ सय बेडको मात्र अस्पताल छ। तर, त्यहाँ एक दिनमा ४ सय जनामा संक्रमण थपिने गरेका कारण अस्पतालमा ठाउँ र जनशक्ति समेत अभाव भएको उनले बताए।
अक्सिजन सिलिन्डरको अभाव भने नभएको सीडीओ गेलालले बताए। उता मेयर राणा भने अक्सिजनको पनि अभाव रहेको बताउँछन् ।
अहिलेको समयमा एक्कासि संक्रमण हुने र एक्कासि जटिल प्रकृतिको लक्षण देखा पर्ने गरेका कारण स्थिति थप भयावह बन्दै गएको नेपालगञ्ज उपमहानगरकी उपप्रमुख उमा थापा मगर बताउँछिन् ।
उपप्रमुख मगरले भनिन्, ‘एक्कासि खोकी लाग्ने, ज्वरो लाग्ने र अक्सिजन लेभल कमी भएर स्वास लिन समस्या हुने गरेको अवस्थामा अस्पतालमा लागेको एकदेखि दुई दिनभित्र भटाभट मानिसहरू मर्न थालेका छन्।’
अस्पतालमा कार्यरत चिकित्सकहरूले पहिले गर्ने उपचार अहिले पनि गरेका छन् तर त्यो उपचारले काम नै नगरेको भनेर डाक्टरहरूले भन्ने गरेको उनले बताइन् ।
पहिलेको भाइरसभन्दा अहिलेको भाइरस फरक रहेको भनेर चिकित्सकहरूले बताउने गरेका छन् तर नयाँ भाइरसको परीक्षण गर्नका लागि आवश्यक पर्ने नयाँ किट पनि मन्त्रालयले उपलब्ध नगराएका कारण समस्या बढेको उनको कथन छ।
अहिले कोरोनाको दोस्रो लहरमा मात्र नेपालगञ्जमा करीब १५ जना बिरामीको मृत्यु भएको उनले बताइन् ।
यता लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले भने स्थिति बुझ्नका लागि प्रदेश सरकारका क्षेत्रीय निर्देशकसहितको टोली सोमवार नेपालगञ्ज पुग्ने बताए ।
लोकान्तर डटकममा अजय अनुरागीले समाचार लेखेका छन् ।








































