– कमला गुरुङ
पत्रकारिता पेसालाई मर्यादित र व्यावसायिक बनाउने एक बलियो आधार हो, पत्रकार आचारसंहिता । जुन पत्रकारको व्यावसायिक जीवनका लागि पालना अनिवार्य मानिन्छ ।
सत्य, तथ्य, विश्वसनीय र निष्पक्ष समाचारले मात्र पत्रकारिता पेसालाई मर्यादित अनि बलियो बनाउँछ, जुन पत्रकार आचारसंहिताको पूर्ण पालनाबिना सम्भव छैन ।
सञ्चार माध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउने निकाय प्रेस काउन्सिल नेपालले आजभन्दा पाँच वर्ष पहिले पत्रकार आचारसंहिता जारी ग¥यो । पत्रकारिता सिद्धान्त, अन्तर्राष्ट्रिय मूल्य–मान्यताका आधारमा पत्रकारिताको व्यावसायिक अभ्यासलाई पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउन भन्दै सञ्चार माध्यम र पत्रकारका लागि काउन्सिलले २०७३ सालमा जारी गरी २०७६ मा पहिलो संशोधन गरेको पत्रकार आचारसंहितामा पत्रकार र सञ्चार माध्यमले गर्न हुने र नहुने १५/१५ वटा काम उल्लेख छ ।
पत्रकार र सञ्चार माध्यमका कर्तव्य:
१. प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन
२. मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मान
३. पेसागत मर्यादा तथा व्यवहार
४. सामाजिक दायित्व
५. सम्पादकीय स्वतन्त्रताको सम्मान
६. सत्य–तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण
७. समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण
८. गोप्य स्रोतको संरक्षण
९. गोपनीयताको हकको सम्मान
१०. भ्रमण तथा लेखनवृत्तिमा पारदर्शिता
११. राष्ट्रिय विपद्मा संयम
१२. मत सर्वेक्षणमा सतर्कता
१३. अन्तर्वार्तामा सजगता
१४. अनलाइन सञ्चार माध्यमको जिम्मेवारी
१५. गल्ती सच्याउन तत्परता
पत्रकार र सञ्चार माध्यमले गर्न नहुने कामहरू ः
१. सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने ।
२. भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण ।
३. हिंसा, आतङ्क र अपराधलाई प्रश्रय हुने ।
४. पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण
५. घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख ।
६. बीभत्स दृश्य र तस्बिर प्रकाशन वा प्रसारण
७. फोटो तथा दृश्यको गलत प्रयोग
८. विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापनका रूपमा प्रस्तुति
९. पोस्ट डिलिट
१०. अनुचित दबाब तथा सम्बन्ध
११. प्रविधिको अदृश्य प्रयोग
१२. न्याय निरूपणमा प्रभाव
१३. पेसागत मर्यादाविपरीत उपचार तथा पुरस्कार ग्रहण
१४. मर्यादा र आत्ससम्मानमा प्रतिकूल असर
१५. जनस्वास्थ्य वा व्यक्तिको स्वास्थ्यका सम्बन्धमा अतिरञ्जना
आचारसंहितामा पालना गर्न हुने र नहुने व्यवस्था समान छन् । तर विडम्बना, गर्न हुनेभन्दा नहुने कामहरू बढी भइरहेका छन् । पत्रकारितालाई स्वस्थ र स्वच्छ रूपमा कायम राख्न पत्रकारहरूको आचरण विशेष संयमपूर्ण हुन आवश्यक छ । किनभने पत्रकारको कलममा समाज, जनजीवन, राष्ट्रिय मनोभावनाको उत्थान र पतन निर्भर रहन्छ । कुनै पनि पत्रकारले आचरणसम्बन्धी नैतिक नियम पालना गर्नुपर्दछ । जसले गर्दा कुनै पनि समाचार प्रवाहले समाज र राष्ट्रप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा नैतिक बल मिलोस् ।
पत्रकार आचारसंहिता जारी भएको पाँच वर्ष त भयो तर यसको कार्यान्वयन फितलो देखिन्छ । पत्रकार र सञ्चार माध्यमबाटै यसको उल्लङ्घनका कामहरू भइरहेका छन् । झन् पछिल्लो समय हतारको पत्रकारिता गर्ने दौडमा धेरै पत्रकार र सञ्चार माध्यम छन् । फस्टाउँदै गरेको हतारको पत्रकारिता र हराउँदै गएको खोजी पत्रकारिताका कारण पनि पत्रकार आचारसंहिता ओझेलमा पर्न गएको छ । सत्य, तथ्य, विश्वसनीय र निष्पक्ष समाचारभन्दा पनि ब्रेकिङ गर्न हतारो गर्दा पत्रकार र सञ्चार माध्यमले नै आचारसंहिताकै ठाडो उल्लङ्घन गरिरहेका छन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले एक कार्यक्रममा भन्नुभएको थियो, ‘केही पत्रकारले पत्रकार आचारसंहिताको पालना नगर्दा समग्र पत्रकारिता क्षेत्रलाई कमजोर बनायो ।’ वास्तवमै अध्यक्ष बस्नेतको भनाइमा दम थियो । किनभने नेपाली पत्रकारिता अविश्वासिलो बन्दै गएको छ । केही न्युज र भ्युजको लोभमा समाजमा भ्रम फैलाउने, तथ्यहीन समाचार सम्प्रेषण गर्ने क्रम बढ्दो छ । तर आचारसंहिताले यो छुट कुनै पनि सञ्चार माध्यम र पत्रकारलाई दिएको छैन । पत्रकार आचारसंहिताको पालना नहुँदा नै समाचारप्रतिको विश्वसनीयता कम हुँदै गएको छ । जुन रफ्तारमा पत्रकार र सञ्चार माध्यमको सङ्ख्या बढ्दै गइरहेको छ, त्यसअनुसार पत्रकार आचारसंहिताको पालना हुन सकेको छैन । कुनै पनि विषयप्रति पत्रकार जति संवेदनशील हुनुपर्ने हो, त्यो अझै भएको जस्तो देखिँदैन ।
यदि व्यक्तिले गलत काम गरेको वा प्रहरीले आरोप लगाउनेबित्तिकै पत्रकारले समाचार लेख्छ । भोलि त्यो आरोप पुष्टि हुन नसकेको खण्डमा हामीले हार्दिकताका साथ क्षमायाचना गर्दैनौँ बरु थाहा नपाएजस्तो गर्छौं । हामी समाजप्रति अझै उत्तरदायी हुन सकेको छैनौँ । हाम्रो ध्यान समाजप्रति उत्तरदायी हुनुभन्दा विज्ञापनदाता, राजनीतिक नेतृत्व, शक्तिशाली व्यक्तिहरूप्रति बढी केन्द्रित भइरहेको छ ।
पत्रकारितालाई जति सजिलो रूपमा हामीले लिन्छौँ । वास्तवमा यो त्यति सहज छैन । पत्रकारले प्रवाह गर्ने एउटा सानो सूचनाले पनि धेरै अर्थ राख्दछ । एउटा गलत सूचनाको कारणले कसैको चरित्र हत्या हुन्छ । कसैको जागिर जान सक्छ । कसैले आत्महत्या गर्न सक्छन् । त्यसैले पत्रकार आचारसंहिताप्रति कुनै पनि पत्रकार र सञ्चार माध्यम संवेदनशील भएन भने ऊ असल पत्रकार हुनै सक्दैन । पत्रकारले पाउने कुनै पनि सूचनालाई जाँच गरिएन । सोधखोज गरिएन भने अनुजा काण्ड पटक–पटक दोहोरिन सक्छ ।
कलम जुलुस गरेर हिँड्नुपर्ने पत्रकारहरू अहिले राजनीतिको झन्डा बोकेर हिँडिरहेका छन् । जसले गर्दा पनि पत्रकारले गर्ने पत्रकारिता र दिने सूचनामा प्रत्यक्ष असर परेको छ । जबकि पत्रकार आचारसंहिताले कसैको प्रभावमा परेर दिने सूचनालाई वञ्चित गरेको छ । व्यक्तिगत स्वार्थको आधारमा गरिने पत्रकारिता बढ्दो क्रममा छ । आचारसंहिता पालना गर्ने प्रवृत्ति एकदमै कमजोर अवस्थामा छ । प्रायजसो सञ्चार माध्यम र पत्रकारले आचारसंहिताको पूर्ण रूपमा पालना गरेका छैनन् । बढ्दो डिजिटल सञ्चार माध्यमले आचारसंहिता पालनाको विषयलाई झनै चुनौतीपूर्ण बनाइदिएको छ ।
फस्टाउँदो युट्युबर यसको एक गतिलो उदाहरण हो । पछिल्लो समय युट्युबरलाई पत्रकार मान्ने कि नमान्ने विषयमा बहस पनि चलिरहेको छ । कतिपय सञ्चारका विज्ञहरूले उनीहरूलाई पत्रकार मान्दैनन् र मान्न नहुने पनि बताउने गरेका छन् । हुन पनि उनीहरूले प्रसारण गर्ने विषयवस्तु नै त्यस्तै हुन्छन् । न त मानवीय संवेदना बुझेका हुन्छन्, न त पत्रकार आचारसंहिताको ख्याल गरेर नै विषयवस्तु प्रसारण गरेका हुन्छन् ।
विषयवस्तुलाई अतिरञ्जित गर्ने, समाजलाई भड्काउने, जसरी हुन्छ भ्युज बढाउने उद्देश्यले उनीहरूले काम गरिरहेकाले उनीहरूको कार्यशैलीप्रति नै थुप्रै प्रश्न उठ्न थालेका छन् र उठेका पनि छन् ।
आम्दानीको राम्रो माध्यम भएकाले पनि धेरै व्यक्तिहरू युट्युबप्रति आकर्षित भइरहेका छन् । तर त्यसले समाज र राष्ट्रप्रति पार्ने असरतर्फ भने उनीहरू अलिकति पनि सचेत छैनन् । तापनि आफूलाई पत्रकार भन्न उनीहरू पछि पर्दैनन् ।
२०७६ सालमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले भन्नुभएको थियो, ‘बडो सजिलोसँग प्रविधिको उपहार, पछिल्लो पुस्ता ! खतरा म के देख्छु भने हाम्रो भेट जेलमा हुन्छ । अप्ठ्यारो नमान्नुहोला, म बडो सोचविचार गरेर भन्दैछु, भावनामा भनिरहेको छैन । तपाईंले विवेक प्रयोग नगरिकन जे भेटेको विषयवस्तु पनि मेरो कन्टेन्ट हो भन्न थाल्नुभयो भने मलाई लाग्छ, त्यो दिन टाढा हुँदैन ।’ उहाँले आफूलाई पत्रकार ठान्नेहरूले पाठक, प्रेस काउन्सिल र अदालतप्रति जवाफदेही हुन सबै युट्युबरलाई सुझावसमेत दिनुभएको थियो ।
युट्युब च्यानलमार्फत प्रसारण भइरहेका विषयहरू निकै संवेदनशील छन् । तर त्यहाँ पत्रकार आचारसंहिताको धज्जी उडिरहेको छ । आचारसंहिताले गर्न नहुने भनेर तोकिएका ती सबै कामहरूलाई उनीहरूले पालना त टाढाको कुरा विचारसमेत गरेको पाइँदैन ।
क्यामरा बोकेर घर–घरमा, कोठा–कोठामा सजिलैसँग छिरिरहेका हुन्छन् । व्यक्तिगत जीवन, मर्यादा, व्यावसायिकता उनीहरूको कर्ममा कहीँकतै पनि झल्किँदैन ।
एउटा झोला र क्यामरा बोक्दैमा पत्रकार भइँदैन । पत्रकारहरू पत्रकारिताको मर्म, मर्यादा, आचरण सबै बुझेको हुनुपर्छ । युट्युबरहरू प्रविधिको प्रयोगकर्ता मात्रै हुन् कि पत्रकार पनि हुन् ? यसको छिनाफानो आवश्यक छ । नियमन जरुरी छ । होइन भने पत्रकार र युट्युबरबिच नागरिकले फरक छुट्याउन गाह्रो पर्नेछ । र, वरिष्ठ पत्रकार गाउँलेले भनेझैँ जेलमा भेट हुने दिन पनि टाढा हुने छैन ।
अहिले विभिन्न सञ्चारगृहहरू पनि समाजलाई सुदृढ र सबल बनाउनुभन्दा पनि व्यक्तिगत स्वार्थका खोलिने क्रम पनि बढ्दो छ । आफ्नो स्वार्थको रक्षाका लागि पत्रकारिता र सञ्चार माध्यमलाई प्रयोग गर्ने जमातको कम छैन ।
मलाई लाग्छ, पत्रकार आचारसंहिताको पालना गराउने दुईवटा उपायहरू छन् । पहिलो, पत्रकारलाई सुसूचित र क्षमता अभिवृद्धि गराउने । दोस्रो, प्रतिबद्ध बनाउने ।
यस पेसामा लाग्दा आचारसंहिता पालना गर्छु भन्ने प्रतिबद्ध हुनैपर्छ । पत्रकारिता पेसाको महत्व पनि बुझाउन र बुझ्न आवश्यक छ । पत्रकार आचारसंहिता सरकारले हैन, पत्रकार स्वयंले मनन गर्ने कुरा हो । किनभने यो एक नैतिक नियम पनि हो । नैतिकताको अभावमा पत्रकारिता अमर्यादित र अव्यावसायिक बाटोमा जान्छ । यसका लागि पनि पत्रकार आचारसंहितालाई मनन गरी व्यवहारमा उतार्नुको अरू विकल्प छैन ।
कतिपय सञ्चार माध्यमले आफैँ आचारसंहिता निर्माण गरी पालनासमेत गरेका छन् । उनीहरूले पत्रकार आचारसंहिताको महत्व बुझेका छन् । यसको उदाहरणका रूपमा अमेरिकाको ‘द न्युयोर्क टाइम्स’लाई लिन सकिन्छ । अमेरिकामा आचारसंहितामा काम गर्ने थुप्रै विज्ञहरू छन् । तर पनि त्यहाँको ‘द न्युयोर्क टाइम्स’ले आफैँ आचारसंहिता निर्माण गरी पालना गरेको छ ।
कुनै पनि सञ्चार माध्यमबाट सही सूचना प्रवाह हुनु आवश्यक छ । यसका लागि सञ्चारगृहले पनि पत्रकार आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्छ । स्वास्थ पत्रकारिताको अभ्यास, पेसाको गरिमा र महत्व अभिवृद्धिका लागि आचारसंहिताको पालना आवश्यक छ । जबसम्म पत्रकारले पत्रकार आचारसंहिताको महत्व बुझ्न सक्दैन । तबसम्म कुनै पनि पत्रकारले सत्य, तथ्य र निष्पक्ष रूपमा पत्रकारिता गर्न सक्दैन ।
कुनै पनि विषयवस्तु सानै किन नहोस् ! त्यसले पार्ने प्रभाव ठुलै हुन्छ । तर त्यहाँ आचारसंहिता पालना गरिएको हुनुपर्छ । पत्रकारले जति आचारसंहितालाई आत्मसात् गर्न सक्छन्, उती सरकारले प्रेस स्वतन्त्रताविरोधी कानुन निर्माण गर्न खोजे लड्ने साहस बटुल्छ । स्वनियम, जिम्मेवार र उत्तरदायी बन्न प्रण हरेक पत्रकारले गर्नुपर्छ । र, यसका लागि पत्रकार आचारसंहिताको पालना त्यसको बलियो आधार हुन्छ ।
आचारसंहिताको कार्यान्वयन पक्ष बलियो भए मात्र नेपालको सञ्चारक्षेत्र मर्यादित, विश्वसनीय क्षेत्रका रूपमा विकास हुन सक्छ । पत्रकार आचारसंहिताको परिधिभित्र रहेर गरिएको पत्रकारिताले नै समाज र राष्ट्रप्रति कुनै पनि पत्रकार र सञ्चार माध्यमलाई जिम्मेवार र उत्तरदायी बनाउँछ ।
(स्वास्थ्य खबरपत्रिकामा कार्यरत गुरुङको यो लेख हामीले प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिता ५० औँ अंक असोज २०७८ बाट लिएका हौँ । स.)