
– नारायण नेपाल
यस्तो कथा बोकेर बाघखोरमा उग्राउँदै निदाउलान् कि ननिदाउलान् हाम्रा मेयर र कर्मचारीहरू, अनि सपनीमा कहिलेकाहीँ गाउँलेहरूले टिन ठटाएर खेदेको कालोमुसो दल्दै लखटेको, ढुङ्गामुढा गरेर गाउँ पस्न नदिएको देखेर बर्बराउँदै महादेवले भाङ–धतुरोको तालमा चिम्टा बिर्सिएर हिंडेको चिम्टेश्वर जङ्गलतिर के–के बिर्सिएर टाप ठोक्लान् है ! हेर्ने रहर छ यो नगरबासीलाई ?
अहिले गाउँ–गाउँमा आएको सिंहदरबारमध्येको एक नमूना मेरो गाउँको सिंहदरबारको सानो चिरफार गर्दै चित्रणको प्रयास गर्दैछु । देशमा आएको लोकतन्त्रले २३८ बर्से सामन्ती राजाका राज्य ढले पनि हाम्रो गाउँमा चाहिँ २४२ बर्से जयन्त रानाको बेलकोटगढी दरबारले पुनर्जन्म पाएको छ । १८३१ सालमा पृथ्वीनारायण शाहका सेनाले जयन्त रानालाई कब्जा गरी मारेपछि गोर्खा राज्यमा विलीन भएको यो राज्य स्थानीय तह पुनर्संरचनाका बेला नुवाकोटमा भएको लिखु गाउँपालिकाको जनताका लिखु आन्दोलनको उपहार अर्थात् बोनस नगरपालिकाको रूपमा बेलकोटगढी बौरीएर हामीलाई आइलागेको हो । भोटै नहाले पनि म पनि नगरबासी भइहालेँ । हाम्रो शान हाम्रो पहिचान ह्वात्तै उक्लियो । जग्गाको मूल्याङ्कन, मूल्य र करको भारीको त कुरा नगरौँ तर नारामा विकास र समृद्धिको शिखरतर्फ उकालो लाग्यो यो पहाड ।
यो गाउँमा सिंहदरबार ल्याउनेहरूको मतपत्रमा ल्याप्चे लाउनेचाहिँ म परेको थिइनँ तर पनि घरमै नगरपालिका आएपछि नगरबासी नभई सुखै पाइएन । यो मरो मत बहिष्कारलाई ओझेल पारेर समाजवादको लहर गाउँमा लहराउने जनजनले अपेक्षा भने पक्कै गरेका थिए । तर, पाँच बर्से आयु बोकेर मेरो गाउँको सिंहदरबारमा उक्लिएकाहरूको आधा उमेर ढल्कन लागेपछि केही बोल्न जरुरी देखियो । उनीहरूको नोट र भोटमा नचल्ने मलाई त्यो नैतिक अधिकार छ कि छैन, त्यसको फैसला गर्ने जिम्मा पाठकहरूलाई ! हाम्रो नगरको ६१.६७ प्रतिशत साक्षर नागरिकभित्र छु कि छैन म, थाहा छैन मलाई । किनभने त्यो जनगणनामा न कसैले मलाई केही सोध्यो, न उनीहरूलाई केही भन्न म गएँ । तर, यो ६१.६७ प्रतिशतले कसरी हेर्दैछ र के गर्दैछ सिंहदरबारको जग हाल्न, मचाहिँ बेखर छु । चुनावमा र आन्दोलनमा उफ्रिनु मात्रै हो कि नीति–निमार्ण तहमा युवाहरूको भूमिका छ, सोध्न मन लागेको छ नगरका जुझारु युवाहरूलाई ।
२०७५ असार १० गते बनेको आर्थिक वर्ष २०७५÷०७५ को योजना–पुस्तिका चैततिर पल्टाउँदा नेता, नीति र प्रशासन कसरी चलेको होला भन्ने कुतूहलता जागेको छ । पुस्तिकाको पृष्ठ १ मा नगरको जनसङ्ख्या ३९,८८८ जना उल्लेख छ । तर, उमेर समुहमा उल्लेख गर्दा ४,३१,६३८ जना छ, कुनचाहिँ सही हो । उनै जानून् । पुष्ठ २ मा जातीय जनसङ्ख्याको बारेमा उल्लेख गर्दा राई, माझी, भुजेल कुमाल र दलित समुदायको बारेमा उल्लेख नै गरिएको छैन भने पछि त्यो तथ्याङ्क हाकिम साबको झारा टार्ने लेखाइ र मेयरको हावा बोलाइ नै सिद्ध भयो । इतिहासका तथ्य नै गलत हुनु अर्को उदेकलाग्दो कुरा हो । पर्यटकीयस्थलको बारेमा व्याख्या गर्दै मेयरको प्रतिवेदनले भन्छ, बेलकोटगढी भनेको पृथ्वीनारायणले नुवाकोट हमला गर्न बनाएको किल्ला हो । हावा गफको नि सीमा हुन्छ नि यार ! पृथ्वीनारायणका सेनाले खिन्चेतमा कुलो खन्दै अड्डा जमाएर नुवाकोट हमला गरे कि बेलकोटबाट गरे ? यो इतिहासको तथ्य खोतल्ने र फैसला गर्ने जिम्मा न्यायाधीश कमरेड उपमेयरज्यूलाई ।
के हो ऐतिहासिक ? के हो प्राचीन ? यो पनि अन्दाजकै भरमा छ ? १८३१ को यो बेलकोटगढी किल्लाभन्दा प्राचीन अर्चलकोट र झिलतुङ गाउँ भएको इतिहासको तथ्यमा उल्लेख नै छ । १३८४ मा खस राजा आदित्य मल्ल नुवाकोट लड्न आएका थिए । उनले झिल्टुङ गाउँ कब्जा गरी बसेका थिए भन्ने इतिहासमा उल्लेख भएको पाइन्छ । कुन प्राचीन होला त, हाम्रो सिंहदरबार बोल्ला त ? आधुनिक समृद्ध, नगरको आधार कृषि र पर्यटनसहितको पूर्वाधार भन्ने नारा उराल्दै तीन हिउँद–बर्षा खाएको हाम्रो नगरपालिकको कतिपय योजना हेर्दा हासो लाग्नेहरू पनि छन् । आउनुहोस्, पहिला हासौँ एकछिन ! नगरपालिका भन्छ, हामी नेपाल–चीन व्यापारको टान्जिट बनाउँछौँ । नेपाल–चीन व्यापार टान्जिट बनाउने कुरा मीठो छ । तर, नगरले शौचालय त आफैँ बनाउन नसक्नेले कसरी बनाउने ट्रान्जिट । अनि त्यो बने के गर्ने होला कुन्नि ? देश सरकार लाग्दाको केरुङ–गल्छी सडक त बेहाल छ । चीनलाई बेच्ने के ऐंसेलु, काफल, ईंटा र बालुवा कि केही छ ?
प्रतिवेदनको पृष्ठ ८ मा भनिएको छ, बाघखोर निमार्ण गरी आन्तरिक पर्यटन आकर्षित गर्ने लक्ष्य रहेछ । कस्तो होला बाघखोर भन्दै हेर्न जानेले बाघखोरको पर्यटनमा वृद्धि भई खैरेहरूबाट शुल्क उठाई व्यापक रूपमा पर्यटन व्यवसाय फस्टाउँछ रे ! योभन्दा धेरै के कुराले हँसाउँला र दुनियाँ ! नगरको नारा र काम गराइको पारा हेर्दा लगानी र उत्पादन कृषि र पर्यटनमा ठन्डाराम छ । सबै गाउँलेले खेतीपाती गरेकै छन् । खेती गरेकै छन्, खाएकै छन्, बेचेकै छन् भने हिउँदमा उजाड भए नि बर्षामा हरियाली छाएकै छ टन्टै साफ ! सामाजिक सञ्जालमा केही स्थानीय तहको अनियमिततासम्बन्धी समाचार सेयर गर्दै लुटकान्छा लुट भन्दै स्टाटस लेखेका थिए । नयाँ पत्रिका दैनिकमा आएको सो समाचारले बेलकोटगढीलाई थप चर्चाको चुलीमा उचालेको थियो । यस्तो थियो समाचार, महालेखाले गरेको लेखा परीक्षणअनुसार बैठक भत्तामा बेथितिलगायतका विद्यार्थीलाई झोला बाँडेको भर्पाइसमेत नभएको उल्लेख गरेको थियो । यो त सरकारी महालेखाले नै आरोप लाएपछि नम्बरी सुनलाई किन कसी लगाउनु र मैले ? संस्थागत र संरचनागत भ्रष्टाचार त नैसर्गिक अधिकार हो भन्ने प्रतिनिधिहरूको दावीजस्तै देखिन्छ ।
योजना–पुस्तिका हेर्दा १३ वडामा एकाधले खानेपानी र विद्यालयबाहेक ८० प्रतिशत रकम सडकमा छुट्याएको छ । नगरपालिकाको गौरवको योजना भनेर छुयाइएकोमा सहिद भन्ने र लेख्ने आँट नगरेको भए पनि भरत ढुङ्गानामार्ग रहेछ । पासाङ ल्यामुमार्गबाट ११ किलोमीटर पश्चिम क्षेत्र जाने यो मार्गको थालनी २०५५ साल तत्कालीन जिविस सभापति भरत ढुङ्गानाले कृषिसडकको रूपमा थालनी गरेका थिए । केहीले गाविस भवन खतिबडा गाउँ त, कहिले धमले जिलिङ हुँदै अहिले भरत ढुङ्गानाको नाममा खतिवडाबाट ढुङ्गानातिर नामसारी हुने सङ्केत देखियो । यो त्यही सडक हो, जुन २०६३ सालदेखि २०७३ सम्म करोडौँ रकम सकेर पनि जस्ताको त्यस्तै छ । २०७३ मा १४ करोडमा सो सडक निमार्ण गर्ने ठेक्का खुल्यो तर २० प्रतिशत घट्ने, ६ प्रतिशत च्याखे थाप्नेहरू र ३ प्रतिशत सडक कर्मचारीको नाममा बाँडीचुँडी गर्ने ३० प्रतिशतमा काम गर्ने सहमति भयो । तर, काम भने पाखोपखेरो भत्काउनेबाहेक केही भएन । आफैँले इन्सोरेन्स दाबी गर्न ठेकेदारले डोजरमा आगो लगाऊँ कि क्रान्तिको नारामा भाग शान्ति नपरेकाले जुझारु कामरेडहरूले लगाऊँ तर त्यही काण्डको रापले एक कमरेड रक्सी डिलरतिरै पछारिन पुगेछन् ।
पासाङल्यामु सडकबाट पूर्वतर्फ जाने अर्को सडक थियो कालीघुम्ती रैकरे । त्यो चाहिँ हालका मेयर उति बेलाका मदानपुरका उपाध्यक्ष तथा क्षेत्रिय सदस्य राजेन्द्ररमणले थालनी गरेका थिए । यो सडक झन् न बर लाग्ने, न छोड्ने, बाली पनि नहुने लैनो गाईजस्तो बनेको थियो आजपर्यन्त एमालेजनहरूलाई । राजेन्द्ररमण गाविस अध्यक्षदेखि मेयरसम्म हुन भ्याउँदा अहिलेसम्म एकबीस जुनी काटेको काली घुम्तीमा कालोपत्रे हाल्ने बजेट कहिल्यै पुगेन । तर, आजसम्म कालीघुम्तीले फरफारक गरेको बजेटलाई नोट बनाए त खडकरे खोलामा नोटैनोटको बाढी आउँथ्यो होला ? यो देखेर बेलकोटगढीको मौलो मुस्कुराइरहेको छ । भ्रष्टहरूलाई त्यही मौलोमा बाँधेर लडाउने दिन कहिले आऊला भनेर । यो एक जमानाको व्यथा र विकासको सपनाको कथाका उदाहरण हो । दर्जनौं छन् यस्ता उदाहरण, गाउँ–पखेरामा खोज्न जरुरी छ । जनताको करबाट उठाएको रकमले जनताको खेतबारी जखम पारेर विकासको ध्वाँस दिन मिल्ला ?
यो वर्ष नगरको १३ वडाले ५१ वटा सडकमा ३४९ लाख लगानी गरेको रहेछ । प्रदेश सरकारले यही क्षेत्रमा ५ सडकमा १९० लाख लगानी गरेको रहेछ । अझ रोचक त के छ भने कम्तीमा विगत १० वर्षदेखि यी र यस्ता सडकहरूको ऋण अझै तिरेर नसकियो हिसाब छाती फुलाउँदै देखाउँछन् उपभोक्ता समितिहरू । आखिर बाटोमा लगानी बालुवामा आम्दानीको काइदा अर्थशास्त्र अरूलाई के थाहा ? यी सबै सडक असार लाग्दासम्म खोल्सा र भलमा परिणत हुनेछ । त्यही माटो बगाएर सिन्दुरे तादी त्रिशुली र कोल्पु किनारमा बालुवा थुपारेर निकासी कर उठाउँदा दङ्ग छ, स्थानीय सरकार । सीसी क्यामरे झिकेर फल्दासमेत १७ करोड बालुवा कर उठाएकोमा हाम्रो सरकार दङ्ग परेर खातामा जम्मा गरी ब्याज पकाएर बसेको छ हाम्रो सिंहदरबार । नागरिकलाई रु. ५ को टिकट टाँसेर दिनुपर्ने सेवाको निवेदनमा समेत कर लगाउने र मोजमस्ती गर्ने थलो बनेको छ । जस्तै, निवेदन शुल्क, नाता प्रमाणित, चारकिल्ला प्रमाणित, नागरिकता जन्मदर्ता, विवाहदर्तालगायत सयौँ शीर्षकमा जनतालाई अनावश्यक करको थुप्रो लगाइएको छ । के त्यस्ता करहरू खारेज गर्न नागरिक दबाब र आन्दोलन जरुरी छैन ?
शिक्षाक्षेत्रमा गाउँलेका छोराछोरीलाई अङ्ग्रेजी पढाउँदै स्थानीय ज्ञान, चेतना र विवेक मेटाउँदै गर्व ठानेको हाम्रो नगर त्यही अङ्ग्रेजी पुस्तकको कमिसनमा लाखौँ कुम्ल्याउँदै समृद्धिको सपना देखिरहेको छ । अहिलेको हाम्रो नगर सरकारमा ३२ जनाको नगर सरकारको मन्त्रिमण्डल छ । हाँसको बथानमा बकुल्लाझैँ एक काङ्ग्रेसबाट उम्मेद्वारी पाएर जितेका हेमनिधी नेपालबाहेक कमरेडहरूको एकछत्र उपस्थिति छ । अझ एमालेनिकट कर्मचारीको नुवाकोट अध्यक्षसमेत रहेका बद्री भण्डारीलगायतका प्राविधिक र आफूलाई कम्युनिस्ट भन्न रुचाउने कर्मचारीको ठूलै जमात छ । कस्तो होला कम्युनिस्ट बाहुल्य नगर ? आधारभूत जनताको जीवन ? कस्तो होला त्यस्तो ठाउँमा ? यो त कुरा गर्ने जरुरी छैन कमरेडहरूलाई । त्यसबाहेक छाया सरकार जनसरकार नागरिक सरकारहरू खै कुन दुलोमा छन् कुन्नि ? चानो मानो छैन गाउँ–नगरतिर ।
एमाले माओवादी केन्द्रको चामत्कारिक एकताले पूर्व–माओवादीजनहरू मौन छन् । छाया सरकारमा नगर सरकारकै छाया देखिन्छ किनकि आधाले सूर्यमै छाप ठोकेका छन् । आधाचाहिँ अन्तरघातको लौरेले हान्दा पछारिएपछि उठेर धुलो टक्टकाउँदैछन् । कतिपयलाई योजनाको पछि दगुर्दै ठीक छ । उता कमरेडहरूलाई आगामी सरकारमा सत्ताको ठेगान छैन, त्यसैले प्रतिनिधिहरूलाई कामको कुनै रुझान छैन । अर्जुन दृष्टि कमिसन र कमाउधन्दामा छ । आकाङ्क्षी र प्रत्यासीहरू तह लगाउन हम्मेहम्मे छ । हारेका घाइतेहरू छन् । आएका पाहुना छन् । त्यसैले रनभुल्लमा परेका छन् प्रतिनिधिहरू । तिनलाई न पार्टीको चिन्ता, न पदको ।
यस्तो कथा बोकेर बाघखोरमा उग्राउँदै निदाउलान् कि ननिदाउलान् हाम्रा मेयर र कर्मचारीहरू, अनि सपनीमा कहिलेकाहीँ गाउँलेहरूले टिन ठटाएर खेदेको कालोमुसो दल्दै लखटेको, ढुङ्गामुढा गरेर गाउँ पस्न नदिएको देखेर बर्बराउँदै महादेवले भाङ–धतुरोको तालमा चिम्टा बिर्सिएर हिंडेको चिम्टेश्वर जङ्गलतिर के–के बिर्सिएर टाप ठोक्लान् है ! हेर्ने रहर छ यो नगरबासीलाई ?