काठमाडौं ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले पहिलो हार व्यहोरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङ च्यासल युथ क्लबसँग २-० गोल अन्तरले पराजित हुँदै लिगकै पहिलो हार व्यहोरेको हो ।
च्यासललाई जित दिलाउन ताइगा नाकामुरा र सन्तोष साहुखलले गरेको एक एक गोल नै प्रयाप्त रह्यो ।
खेलको २४ औं मिनेटमा नाकामुराको गोलबाट च्यासलले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा सन्तोषले गोल गर्दै च्यासललाई २-० को सहज जित दिलाए ।
च्यासलसँगको हारसँगै मनाङको उपाधि यात्रामा धक्का लागेको छ । लिगको दशौँ चरणमा पहिलो हार व्यहोरेको मनाङले १० खेलमा १९ अंक जोडेको छ । यो सँगै मनाङ लिगको तेस्रो स्थानमा छ ।
मनाङलाई हराएसँगै च्यासलले भने लिगमा तेस्रो जित निकालेको छ । च्यासलले १० खेलमा १२ अंक जोडेर लिगको नवौं स्थानमा उक्लिएको छ ।








































