तिहार नजिकिँदै गर्दा बजारमा ढाकाटोपीको व्यापार बढेको छ । भाइटिकामा आफ्ना दाजुभाईलाई उपहार स्वरुप दिइने प्रचलनले बजारमा ढाकाटोपीको व्यापार बढेको हो ।
तिहारमा भाइटिकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ । दिदिबहिनीले पनि ढाकाटोपी उपाहर दिने गर्छन् । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ । बजारमा कोभिडको असर भएपनि ढाका टोपीको व्यापार बढेको व्यापारीहरु बताउँछन् ।
विभिन्न चाडपर्व, विवाह व्रतवन्धन, सभा सम्मेलनमा ढाकाको टोपी लगाउने प्रचलन छ । तिहारमा पनि ढाका टोपीको प्रयोग गरिन्छ । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टिका र शिरमा ढाकाटोपीले हरेक दाजुभाई तिहारको दिन सजिने गर्दछन् ।
तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन पनि छ । त्यसैले तिहार नजिकिदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै जाने गरेको व्यपारीहरु बताउँछन् । यसपटक सबै क्षेत्रमा कोभिडको असर परेपनि ढाका टोपीको व्यापारमा कुनै असर नपरेको व्यापारीहरुको भनाई छ ।




















































