काठमाडौँ ८ मंसिर ।
नुवाकोटमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । बेलकोटगढी नगरपालिका वडा नं ६ देउरालीमा अलपत्र भेटिएकी महिलाको उद्धार गरिएको हो ।
घर दाङको देउखुरी बताउने महिलालाई स्थानीय युवाको पहलमा उद्धार गरेर जिल्ला सदरमुकाम विदुरमा रहेको सेभ हाउसमा राखिएको छ ।
लेखक तथा पत्रकार नारायण नेपाल, कञ्चना देउराली युवा क्लवका कोषाध्यक्ष प्रदिप नेपाल, स्थानीय युवा दिनेश घिमिरे, चतुरमान तामाङ, तेज नेपाल र बलराम ढुंगानाको पहलमा वातावरण तथा प्रजनन स्वास्थ्य संस्थाद्धारा संचालित सेभ हाउसमा राखिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।
अलपत्र महिलाको उद्धार गर्न कसैले नमानेपछि स्थानीय युवाले प्रमुख जिल्ला अधिकारी ढकाललाई खबर गरेका थिए । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालयको समन्वयमा महिलालाई देउरालीबाट उद्धार गरि विदुर लगिएको प्रदिप नेपालले बताउनुभयो ।
महिलाको मानसिक स्वास्थ्य अवस्था कमजोर रहेको र उनी घरबाट हराएको हुनसक्ने भन्दै उनलाई चिन्ने व्यक्तिले जिल्ला प्रशासन कार्यालय नुवाकोट अथवा सेभ हाउसमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
महिलालाई तत्काल उनका आफन्त फेला नपरुन्जेल सेभ हाउसमा सुरक्षितसाथ राखिने सेभ हाउसकी अध्यक्ष बिन्दा ढुंगानाले बताउनुभयो ।








































