जानुका धमला
त्यो उज्यालो मान्छेसँग अब कहिल्यै भेट हुनेछैन भनेर अँध्यारो सत्यले बेसरी चिमोटेको त्यो पल । मैले कहिल्यै सोचेको थिइनँ निसाको अँध्यारो रातहरु चिर्दै गर्दा उषामा चिरबिराउने कोकिल तिम्रो आवाज र भौतिक शरिरले यति चाँडै छोडेर जान्छ र तिमीले शहिदको कोटामा आफ्नो नाम लेखाउँछौ भनेर । तिम्रो क्रान्तिको आवाज नुवाकोटदेखि सल्यानको अनकन्टार बस्तीहरुमा समेत तरङ्गित ध्वनी बनेर गुन्जियो र त देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।
नुवाकोट जिल्ला क्रान्तिकारी किल्ला भनेर घोषणा गर्दे गर्दाको प्यारो मान्छे तिमी । २०३७ सालमा आमा मायादेवी पौडेल र बुबा रामकृष्ण पौडेलका सन्तानहरु पाँच दाजुभाई र चार दिदीबहिनी मध्यकी साइलो सन्तानको रुपमा नुवाकोटको हालको बेल्कोटगढी नगरपालिका वडा नम्बर ११ अमारेमा जन्म भएको थियो तिम्रो ।
म क्रान्तिको कखरा सिक्दै गर्दा तिमी त मेरो लागि ठूलो नेता भैसेकेकी थियौ। म तिमीलाई पार्वती पौडेल भनेर चिन्थेँ । मैले तिम्रो नाम क.रक्तिमा भनेर थाहा पाएको निकै पछाडि मात्रै हो । तिमी आदर्श बहुमूखी क्याम्पस बट्टारको विद्यार्थी युनियनको नेता भएको बेलादेखि नै तिम्रो नामको चर्चा सुनेकी थिएँ तर तिमीसँग भेट भने भएको थिएन । जब तिमीसँग भेट भयो नि, तिमी मेरो लागि कहिल्यै पनि नेता भइनौ सबैभन्दा नजिकको साथी भयौ । हृदयको कुना कन्दराहरुबाट हरेक दुःख सुख सबै भन्न सक्ने असल अभिभावक ।
चाउथेको क.सरोजको घरमा तिमीले सानो छोरी सुजिनालाई बोकेर भनेकी थियौ, क्रान्तिको लागि मेरो भौतिक शरिर बलिदान आवश्यक पर्यो भने म सहिद हुन तयार छु । मेरो बाँकी अविभारा छोरीले पूरा गर्छे ।
मेरो जीवनको हरेका उतरचढावहरुलाई तिमीले नजिकबाट नियालेकी थियौ । अहिले सम्झन्छु साँच्चै तिमी बाँचेकी भए एक झमट मेरो प्यारो अभिभावकसँग तिम्रो काखमा पीडाहरु रित्तिने गरी रुन्थेँ । हिजोको बलिदानसँग सत्ता साटिएपछि हिजो लासको चाङ्गबाट सत्तामा पुगेकोहरुले समेत न त तिमीजस्तै हजारौँ शहिदहरुलाई सम्झिए न त युद्धमा प्राणको बाजी लगाएर लडेका योद्धाहरुलाई नै । यहाँ यस्तै यस्तै भएको छ प्रिय नेता, तिमीहरुको बलिदानको उपहास !
हिजो वर्गमुक्तिको निम्ती देखेको सपना आज दलालीकरणमा गएर टुङ्गियो । वर्गीय मुक्तिका सपनाहरु सत्तासँग साटियो । हामी बाँचेकाहरु यस्ता भिमकाय दृश्यहरु हृदयभारी पीडा बोकेर हेर्न विवश छौँ । लाल गद्धारहरुको अगाडि इमान सधैँ बन्धकी हुनेरहेछ प्रिय ।
तिम्रो जीवनशैली जति सरल थियो क्रान्तिकारी विचारमा तिमी त्यती नै दृढ थियौ । तिमीमा वर्गदुश्मनप्रति तिव्र नै घृणा थियो । तिमीले रोपेको सुनगाभा फुलहरुले आज सुवास छर्ने भएका छन् । तिमी दुश्मनसामु झुक्नुभन्दा निष्ठापूर्वक मुत्युवरण गर्नुपर्छ भन्ने मान्यता राख्थ्यौ । जिउँदो लाक्षी जीवनयापन गर्नुभन्दा आत्मसम्मासहित मृत्यु गौरव हो भन्ने मान्यता तिमीले सँगैको सहयात्राको क्रममा भनेकी थियौँ । चाउथेको क.सरोजको घरमा तिमीले सानो छोरी सुजिनालाई बोकेर भनेकी थियौ, क्रान्तिको लागि मेरो भौतिक शरिर बलिदान आवश्यक पर्यो भने म सहिद हुन तयार छु । मेरो बाँकी अविभारा छोरीले पूरा गर्छे । साँच्चै रक्तिमा ! तिमीसँग भेट्दा तिम्रो छोरी अवोध थिइन् । आज तिम्रो र उसको बाबाको बलिदानको गाथा पढेर देश दुनियाँ बदल्ने सपना देखेकी छे । तिमी जस्तै छे उ पनि । अन्याय पटक्कै मन पदैन नी उसलाई पनि ।
आज तिम्रो हत्या भएको दिन ! तिम्रो सहादत स्मरणको दिन । नुवाकोट जिल्लाले एउटा क्रान्तिकारी महिला योद्धा गुमाएको दिन । मैले प्रिय विचार भावना मिल्ने मजस्तै विद्रोही स्वभावको साथी गुमाएको दिन देशले क्रान्तिकारी छोरीको रगतले माटो भिजाएको दिन ! ०६२ फागुन १६ गते छोरी सुजनाले आमाको काँखबाट बन्चित भएको दिन । तिम्रो जीवनसाथी गोकर्ण न्यौपाने क.गजेन्द्रले जीवनसाथी गुमाएको दिन ! दुश्मनको घेरा तोड्दा तोड्दै तिमी सहिद भएको दिन । अहिले सम्झदा लाग्छ, त्यो समय देश सिंगै बधशालामा परिणत भएको थियो ।
अहिले नुवाकोटमा तिमीले नेतृत्व गरेको क्रान्तिकारी महिला विद्यार्थी सङ्गठन नाम मात्रैको छ । त्यही पनि गुट र उपगुटमा बिभाजित छ । पार्टीको नेतृत्व गरिरहेका नेताहरुलाई सोध्न मन छ हिजो रक्तिमाले सङ्गठित गरेको सङ्गठन र जनता कहाँ छन् ? रक्तिमाहरुको बलिदानबाट प्राप्त राज्यमा उनीहरुको योगदानको किन कदर हुँदैन ? रक्तिमाहरु त यो समाज र देशको लागि नमुना बन्नु पर्ने होइन भन्या ? कसले दिन्छ यसको जवाफ ? सबै अनुत्तरित नै छन् प्रश्नहरु । हिजोको सहयोद्धाहरु अहिले सहिद र बेपत्ताहरुलाई अंशबन्डा लगाउँदै छन् । तिनीहरु सहयोद्धाको रुपमा त छन् तर हिजोको वर्गीय मान्यता आत्मा र चिन्तन सहित छन् की छैनन् खोज्नै पर्नेछ । दलाल क्रान्तिकारी ठहरिएपछि त शब्दकोषमा भएका शब्दहरु सबै सकिने गरी गाली गर्नु पर्नेरहेछ क्रान्तिकारी हुनको लागि । अहिलेको परिवेशले त्यही पुष्टी गरेको छ । साँच्चै प्रिय भुपिले भनेको जस्तै बाँच्न गार्रो छ मर्न सजिलो रहेछ ।
बलिदानको चुचुरोले प्राप्त सत्तामा नैतिकता बारे विलाप गरिँदै छ तर त्यो विलापभित्र कुनै नयाँ मार्गचित्र भने छैन पश्चाताप समवेदना केही पनि छैन । आगामी दिनहरुमा नैतिकताको मापदण्ड यो वा त्यो केही पनि छैन । साँच्चै हामी हाम्रै उपलब्धीको सिसाको घरमा बसिरहेका छौँ । नेताहरुलाई यो थाहा छैन की हामीलाई त्यो घरमा कसैले ढुङ्गाले हानीदियो भने आफैँ फुटेर सकिन्छौँ भनेर ।
तिम्रो सहादतको समाचार रेडियो गणतन्त्रबाट सुनेँ सर्लाहीको चुरेमा थिएँ म । नुवाकोटको पार्वती पौडेल क.रक्तिमा शाही सेनाको घेरा तोड्दै गर्दा सेनाले हानेको गोलिबाट सहादत प्राप्त गर्नुभयो । नेपालमा दुईवटा सत्ता विद्यमान थिए त्यो बेला । रेडियो गणतन्त्र काभ्रे जिल्लाको ताराखसे लेकबाट प्रसारण हुन्थ्यो । युद्धको मैदानमा थिएँ । दिन प्रतिदिन सहादतका खवरहरुले आक्रान्त भएको मन फेरि रोयो तिम्रो यादमा । आक्रोशमा आँशु बगाएँ । अहिले सम्झन्छु जीवनको ३ दशकभन्दा त्यो ५ वर्ष निकै मुल्यवान र यादगर लाग्छ ।
म तिम्रो राजनितिक जीवनको उम्दा शुभचिन्तक थिएँ । ज्वालामुखी यात्राको सहयात्री पनि । एउटा आन्दोलनले पैदा गरेको आदर्श नैतिकता, सपना मार्गचित्रका नैतिकता नै बदल्ने आन्दोलनको नेतृत्व गरेको महिला नेता तिमी । तिम्रो बलिदानलाई लालगद्धारहरुले कर्कष आवाजमा चिच्याएको पटक्कै सुहाएको महसुश गर्न सकिनँ मैले । त्यसैले म पनि सेन्टिमेन्टल हुन्छु प्रिय मान्छेहरुको चिहानघारीको यादमा !
जब पार्टी मर्छ र गुट मौलाउँछ अनि आफ्नो योग्यता क्षमता र दक्षताको अभ्यास गर्न पनि गुटकै मतियारको फुर्को समाउनुपर्ने विवसता एउटा राजनैतिक कार्यकर्ताको जीवनमा चुनौति बनेर आइदिँदोहेछ । संसारमा इतिहासको पानामा नाम त शासकहरुले पनि लेखाएका छन् । सर्वहाराहरुले पनि लेखाएका छन् । शासकले पहेँलो अक्षरले लेख्छन् भने सर्वहाराहरुले रातो अक्षरले । तिमी सर्वहारावर्गको लागि रातो मसिले इतिहासमा लेखिएको सफल नाम हौ । तिमी सबैखाले दोषमुक्त भएर आफ्नो जिम्मेवारी पूरा गरेर अमर भयौँ तर म बाँचेको मान्छे पलपल मरिरहेकी छु । अहिलेको राजनीतिक प्रवृत्ति देख्दा तिनीहरुको राजनैतिक ब्याख्या सुन्दा भाव विव्हल हुन्छु ।
बिछोडको १५ वर्ष शब्दमा बयान गरेर के सक्थेँ र मैले तिम्रो बलिदानलाई ! बलिदानलाई साक्षी राखेर भन्छु मेरो ब्यक्तिगत हित र स्वार्थको लागि तिमीहरुको इतिहास र नाममा राजनीति चाहिँ गर्नेछैन । क.रक्तिमा तिमीप्रति लाखौँ श्रद्धासुमन ! लाखौँ श्रद्धान्जली !!




















































