
आस्था घिमिरे
कुरो टिकाकै दिनको । एउटा फोटो सामाजिक सन्जालमा भाईरल भयो । हसिलो चेहेरा सहित राष्ट्रपति विद्यादेवी भण्डारी सोफामा विराजमान हुनुहुन्थ्यो । उहाँको हातमा टिका र जमारा थिए । अर्का एक जना नागरिक थिए जो दौरा सुरुवाल कोटमा सजिएका । ती व्यक्ति राष्ट्रपतिको अगाडि यसरी घुँडा टेकेर टिका थापिरहेका थिए मानौ उनले जीवनमा ठूलै कमजोरी गरेका छन् त्यसको सजाय स्वरुप गल्तीको प्रायस्चित गराँईँदैछ ।
हामी कम्युनिष्टहरु यस्तो जन विरोधी अझै भनौ मानवता विरोधी सामान्ती मान्यताको जरो उखेलेर फाल्न चाहन्छौ । मान्छे मान्छे बीचको भेदभाव पूर्ण खाडलको अन्त्य गर्न चाहन्छौ । जनताका आफ्ना प्रतिनिधिहरु सत्तामा पुगेका बेला समेत यस्ता फोटाहरु बेला बेला देख्न पर्नु विडम्बनानै हो ।
कुरो एउटा र फोटो र भाईरलको होइन । विषय मान्छेले मान्छे माथि गर्ने व्यवहार र सोच्ने तरिकाको हो । सत्तरी वर्ष लामो कम्युनिष्ट आन्दोलन के का लागि थियो ? मान्छेले मान्छेमाथि गर्ने सबै प्रकारका भेदभावको अन्त्य गर्न । उच निच, सानो, ठूलो भन्ने व्यवहारको अन्त्य गर्न । धर्तिमा जन्मिएका सबै मानिसहरु समान हैसियतका स्वतन्त्र र स्वाभिमानि नागरिक हुन । मात्र क्षमता र योग्यता फरक हुन्छ । भलै कसैको दक्षता कुचिकारमा होला कसैको दक्षता कलाकार । कसैको दक्षता बौद्धिक श्रमतिर होला कसैको दक्षता भौतिक श्रम तिर । काममा कामको आधारमा न कोही सानो हो न कोही ठूलो । आरान चलाउने विश्वकर्मा होस् वा राष्ट्र हाक्ने राष्ट्रपति । लुगा सिलाउने दर्जी होस् वा राज्य चलाउने प्रधानमन्त्री । जुत्ता सिउने सार्कि होस् वा अरु कोही ? सबै सबै यो देशका नागरिक हुन जिम्मेवारी कसैको धेरै होला त कसैको थोरै । तर सम्मान सबैले बराबर पाउनुपर्छ । यसो भन्दैमा राष्ट्रपति र प्रधानमन्त्री कोहीपनि होइनन् भन्न खोजीएको भने पक्कै होइन । उनीहरु जनताका प्रतिनिधि हुन् । जनता भन्दा माथि होइनन ।
नागरिकहरुले उहाँहरुलाई सम्मान गर्नुपर्छ । यसको मतलब यो होइन कि यो हदसम्म गिरेर घुडानै टेक्नुपर्छ । के हो सामान्तवाद ? केही महिना अगाडि विमिस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका प्रसुत्त चान –ओ –च आफै छाता ओडेर हिडिरहेका देखिएका थिए भने नेपालका रक्षा मन्त्री इश्वर पोखरेललाई अर्का व्यक्तिले कोट बोक्दै छाता ओडाएर हिडाईएको । अमेरिका तत्कालिन राष्ट्रपति वाराक ओवामा आफै छाता ओडेर हिडिरहेका थिए । हाम्रो देशको राष्ट्रपतिको जुत्ता बोकेर पछिपछि महिला प्रहरी हिड्दै थिईन् । त्यसभन्दा अगाडि भाईरल भएको एउटा तस्वीर थियो जहाँ मन्त्री रविन्द अधिकारीलाई अर्का व्यक्तिले छाता ओडाएर हिडाईरहेका थिए । त्यो भन्दा अगाडिको एउटा तस्वीर थियो जसमा कोही उच्च स्तरका नेता थिए उनी अर्कालाई बोकाएर खोला तरिरहेका थिए । यी त मिडियामा आएका सानातिना उदाहरण मात्र हुन या भनौ प्रतिनिधि पात्र मात्र । जीवन भरी सर्वहारा वर्गीय सस्कार र सस्कृतिका पाठ पठाएका हाम्रा नेताहरु बाटै पन्चायत र राजतन्त्रकालिन समयलाई समेत जित्ने गरी व्यवहार प्रदर्शन गरेको देख्दा जनताको आशा गर्ने ठाउँ कता ? वैष्णव धर्म मान्नेहरु अझै पनि गुरुले टेकेको माटो डल्लो पारेर राख्छन् हरेक दिन विहान नुवाई धुवाई सकेपछि त्यही माटो पखालेर सुरुप्प पिउँछन् । कुनै यस्तो समय पनि थियो जति बेला राजाको पाउको माटो टिपेर सिरमा लगाउने पन्चहरु थिए ।
हामी कम्युनिष्टहरु यस्तो जन विरोधी अझै भनौ मानवता विरोधी सामान्ती मान्यताको जरो उखेलेर फाल्न चाहन्छौ । मान्छे मान्छे बीचको भेदभाव पूर्ण खाडलको अन्त्य गर्न चाहन्छौ । जनताका आफ्ना प्रतिनिधिहरु सत्तामा पुगेका बेला समेत यस्ता फोटाहरु बेला बेला देख्न पर्नु विडम्बनानै हो । मुलुक नेपालको इतिहासमानै पहिलो पटक संविधानसभावाट निर्माण भएको संविधानको जगमा टेकेर राज्य सञ्चालनको प्रकृयामा अगाडि बढीरहेको छ । या भनौ संविधान कार्यान्वयनको चरणमानै छ । यो सत्तरी वर्ष लामो कम्युनिष्ट आन्दोलन र दशवर्ष भन्दा लामो महान् जनयुद्धको उपलब्दी हो । अझै १७ हजार भन्दा बढी नेपाली जनताको रगत, परिना र आँसुको त्रिवेणीबाट निर्माण भएको जग हो । भनिन्थ्यो बल्ल जनता बलिया भएका छन् । सामान्तवादको जरै देखि अन्त्य भएको छ । तर सिद्धान्तमा सामान्तवादको अन्त्य भएको भनिए पनि व्यवहारमा त्यस्तो देखिएन । सामान्तवाद सिद्धान्तमा होइन व्यक्तिको व्यवहारमा हुन्छ । चरित्रमा हुन्छ । मान्छेको सोच्ने तरिका उसको चरित्रमा झल्कल्छ । नागबेली धनुस्टङ्कारको शैलीमा जो व्यक्ति टिका थाप्दै छन् । राष्ट्रपति र प्रधानमन्त्री जसरी सोफामा विराजमान छन् । यसको मतलब म तिमी भन्दा उच्च हुँ मैले तिमीलाई दबाउन पाउँछु । भन्ने आसय सहजै झल्कन्छ । सामान्तवादको अन्त्य भएको घोषणा गर्ने तर यस्तो व्यवहार आफैमा झल्काउने विषय पक्कै पनि सामान्य होइन ।
यो प्रवृत्तिगत विषय हो न कि व्यक्तिगत । नेतृत्व तहमानै देखिएको यस्तो प्रबृत्तिले आम नेता कार्यकर्ता मात्र होइन कि सम्पूर्ण सस्कार सस्कृति र सहन सहनमा निर्णायक प्रभाव पारिरहेको हुन्छ । नेपालमा सामान्तवाद आर्थिक, सामाजिक, राजनीतिक, सास्कृति सम्पूर्ण रुपमा अन्त्य भएको घोषणा नेताहरु आफैले गरिसकेका छन् । राजतन्त्रको अन्त्य भएको दशकौ वितिसक्यो । देश स्वतन्त्र, लोकतान्त्रीक गणतान्त्रिक नेपालमा रुपान्तरण भैसकेको छ । यस्तो बेला समेत सानो सानो विषय ध्यान दिन नसक्दा । आचरणमा देखिएको गम्भिर कम्जोरीले गर्दा जनताको विस्वास जित्न चुकिराखेको स्पष्ट देखिन्छ । सबैभन्दा पहिले नेताको आचरण, आनिवानी, सस्कार सस्कृतिमा सुधार ल्याउनुपर्छ । आफुमा सुधार ल्याउन तयार नहुने तर अरुलाई मात्र परिवर्तन होउ भन्नेहरुले परिवर्तनको नेतृत्व गर्छन भन्ने जनताले कसरी पत्याउने ?
यो आजसम्मकै सवैभन्दा प्रगतिशिल सरकार हो । यो दावी हामीलेनै गरेका छौ । यो भनेर गर्व गर्दै गर्दा हामी साना साना विषयमा कता चुकेका छौ । अब विचार गर्ने कि ?