बुटवल, ३० जेठ ।
उन्नत जात र प्रविधिको प्रयोगले रुपन्देहीको माछा उत्पादन वृद्धि भएको छ । पछिल्लो एक वर्षको अन्तरालमै माछा उत्पादनमा ५० प्रतिशत वृद्धि भएको छ । रुपन्देहीको दयानगर छपिया व्यावसायिक माछापालन भएको क्षेत्र हो । यहाँका झन्डै सात सय घरपरिवार माछापालनमा लागेका छन् । माछापालनलाई व्यावसायिक बनाउँदै लगेका किसानले प्रविधिको प्रयोग थालेपछि उत्पादन बढेको हो।
तालिम, प्रविधि र उन्नत जातको प्रयोग हँदै गएको छ । किसानले कसरी उत्पादन बढाउने भन्दै तालिम लिने गरेकाले माछाको उत्पादन बढेको हो’, मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष पुण्यप्रसाद चौधरीले भन्नुभयो ।रुपन्देहीमा अहिले दैनिक १५ क्विन्टल माछा उत्पादन हुने गरेको छ । गएको वर्ष दैनिक १० क्विन्टल मात्रै उत्पादन भएको थियो । वृद्धि भएको उत्पादनमध्ये केही प्रतिशत नयाँ पोखरीको हो । पुरानो पोखरीमा सुधार गर्दा उत्पादनले छलाङ नै मारेको चौधरी बताउनुहुन्छ ।
छपियाका किसानले अहिले वर्षमा तीन पटकसम्म पनि माछा बिक्री गर्ने गरेका छन् । दुई वर्षअघिसम्म वर्षमा एकपटक मात्रै माछा बिक्री हँदै आएको थियो । बेसिजनमा पनि सिजनमा पाइने भएकाले उत्पादन वृद्धि भएको अध्यक्ष चौधरीले बताउनुभयो ।रुपन्देहीमा माछा उत्पादनलाई अझै बढाउन उन्नत जातको कमन कार्पको भुरा उत्पादन गरिएको छ । सरकारले चीनबाट ल्याएको भूरा छपियामा माछा उत्पादनका लागि दिइएको थियो । भुराको उत्पादकत्व अन्य माछाको तुलनामा ३० प्रतिशत बढी रहेको कृषि विकास कार्यालयले जनाएको छ ।
लामो र च्याप्टो आकारको यो माछा एक वर्षमा नै एक किलोको हुन्छ । यो माछाका अहिले चार लाख भुरा बिक्रीका लागि तयार अवस्थामा रहेको छ । यो भुरा अन्य माछा राखिएकै पोखरीमा १५ प्रतिशतका दरले मात्रै छाडिन्छ । अन्य माछाको उत्पादन भने दुई वर्षको हुन्छ ।रुपन्देहीका पोखरीमा प्रतिकठ्ठा जमिनमा वार्षिक साढे दुई क्विन्टल माछा उत्पादन उत्पादन हुन थालेको छ । यसलाई चार क्विन्टलमा पुर्याउने गरी योजना भइरहेको कृषि विकास कार्यालय रुपन्देहीका मत्स्य विकास अधिकृत रमेश जयसवालले बताउनुभयो ।
जिल्लामा विगत ४० वर्ष अघिदेखि माछापालन सुरु गरिएको भनिए पनि तीन दशक अघिदेखि मात्रै व्यावसायिक रुपमा उत्पादन सुरु भएको हो ।रुपन्देही पछिल्लो पाच वर्षयता माछामा आत्मनिर्भर रहेको छ । रुपन्देहीमा उत्पादन हुने जिउदो माछा पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ भने अन्य माछा कपिलवस्तु, नवलपरासी र भारतीय सीमा बजारमा खपत हुने गरेको छ । जिल्लाको वार्षिक माछा उत्पादन चार हजार ५ सय ८० मेट्रिकटन छ ।
कृषि कार्यालयका मत्स्य विकास अधिकृत जयसवालका अनुसार जिल्लामा अनुसार हाल एक हजार दुई हेक्टर क्षेत्रफलमा माछा उत्पादन भइरहेको छ । यसमध्ये एक सय २५ हेक्टर सार्वजनिक घोल तालको क्षेत्र हो । रुपन्देहीमा सिल्भर कार्प, विग हेड कार्प, रौं, भ्याकुर, कमनलगायत गरी सात प्रकारका माछा उत्पादन भइरहेको छ ।
रुपन्देहीमा माछापालनलाई विशेष प्रोत्साहन गर्नका लागि छपिया केन्द्रित साविकका ८ वटा गाविसलाई समेटेर सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत जोन विकास कार्यक्रम सुरु गरेको छ । छपिया बाहेक लुम्बिनी र धकधई क्षेत्रमा माछाको व्यावसायिक खेती हुँदै आएको छ ।