काठमाडौं ।
आज बसेको मन्त्रीपरिषद् बैठकले जारी बन्दाबन्दी (लकडाउन) एक साता थप्ने निर्णय गरेको छ । यसअघि हिजो बसेको कोरोना रोकथाम र नियण्त्रणका लागि गठित उच्चस्तरीय समितिको सुझावअनुसार सरकारले समयावधी थपेको हो ।
सन् २०१९ को अन्तिममा चीनको वुहानबाट फैलिएको कोरोनाका कारण विश्वभर ७० हजार भन्दा बढी नागरिकको मृत्यु भएको छ भने करिब १३ लाख संक्रमित छन् । नेपालमा ९ जनामा संक्रमण देखिएको छ । एकजना निको भैसकेका छन् भने अन्यको उपचार जारी छ ।
नेपालमा कोरोना संक्रमणको जोखिम दोस्रो चरणमा प्रवेश गरेको घोषणा गर्दै सरकारले नागरिकलाई घरबाहिर ननिस्कन र अन्य व्यक्तिको सम्पर्कमा नजान अपिल गरेको छ ।
यसैबिच आजै बसेको मन्त्रीपरिषद् बैठकले नयाँ गभर्नर नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको हो ।
अर्थमन्त्री संयोजक रहेको सिफारिश समितिले हिजो अधिकारी, डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्व अर्थसचिव राजन खनालको नाम छनौट गरेको थियो ।
निवर्तमान गभर्नर चिरञ्जीवी नेपाल यहि चैत ६ गतेदेखि अवकाशप्राप्त भएपछि बैंकको गभर्नर पद रिक्त थियो।