बैतडी ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । आठ जनाकाे घटनास्थलमै र पाँच जनाकाे उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएको छ । बैतडीको पुर्चौडी नगरपालिका -७ भवनेबाट बझाङतर्फ बिहे गरेर फर्किरहेकाे पवनदुत यातायातकाे सुप प्र ०२ ००१ ख १११९ नम्बरको जन्ती बाेकेकाे बस जिल्लाकाे पुर्चौडी -७ बडगाउँ मोडमा बिहीबार बेलुका ८ बजेतिर दुर्घटनामा परेकाे थियाे।
बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमै मृत्यु हुनेमा बझाङकाे बित्थडचिर गाउँपालिका-७ का ४० वर्षीय केशबराज जाेशी, साेही ठाउँका १३ वर्षीय अशाेकराज जाेशी, ३५ वर्षीय वसन्त जाेशी, ४१ वर्षीय विसनदत्त जाेशी,बझाङ केदारस्यू गाउँपालिकाका ६० वर्षीय माेहनदेव भट्ट,जयपृथ्वी नगरपालिका बझाङका ४० वर्षीय बशन्तराज रतला,बैतडी पुर्चाैडी-७ कि ४० वर्षीया पुस्पा अवस्थी रहेकी छन्। यस्तै डडेल्धुरा अस्पतालमा मृत्यु हुनेहरूमा बझाङ बित्थडचिर गा.पा ०७ बस्ने वर्ष १७ का बिसन दत्त जोशी, साेही ठाउँका वर्ष २८ का दिपक राज जोशी, वर्ष ४६ का किसन दत्त जोशी, ४२ वर्षीय नरेशराज जाेशी, केदारस्यु गा.पा ०७ बस्सीका वर्ष २७ का केशव राज भट्ट र बैतडी पुर्चीडी न.पा ०७ बस्ने वर्ष १५ का शुसिल जोशी रहेका छन्। दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। घाइतेहरूकाे डडेल्धुरा,धनगढी र बझाङमा उपचार भइरहेको छ।
घाइतेहरूकाे नेपाल प्रहरी,सशस्त्र प्रहरी,जनप्रतिनिधि र स्थानीय बासिन्दाले उद्धार गरेका थिए। दुर्घटनाग्रस्त बस सडकबाट करिब २०० मिटर तल खसेकाे छ। कच्ची सडक उकालाे सढकमा भार थाम्न नसकेर एक्कासी ब्याक भएको बस दुर्घटनामा परेको अनुमान गरिएको छ। चालक कञ्चनपुर भीमदत्त नगरपालिकाका ७ का विरेन्द्र बुढा नियन्त्रणमा छन्। दुलहा,दुलही भने अर्काे गाडीमा रहेकाले सुरक्षित रहेका बैतडी प्रहरीले जनाएको छ।
पुर्चाैडीमा आज शाेक बिदा
जन्ती बस दुर्घटना मृतकको शोकमा आज पुर्चाैडी नगरपालिकाले आज शाेक बिदा दिएकाे छ। उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्यलाभ साथै शाेकाकुल परिवारजनमा धैर्यधारणाको क्षमताकाे कामना समेत नगरपालिकाले गरेकाे छ। आज शाेक बिदा रहने र अत्यावश्यकबाहेकका नगरका सबै कार्यालयमा बन्द रहने पुर्चाैडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपालीले जानकारी दिनुभयाे।







































