काठमाडौँ ।
आज प्रतिनिधिसभा निर्वाचन २०८२ को निर्वाचन । देशैभर बिहान ७ बजेबाट मतदान सुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो ।
मतदाताहरुले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाइने जनाएको छ । एकाध बाहेक सबै स्थानमा शान्तिपूर्णरूपमा मतदान भइरहेको छ ।
मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधा छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचनमा दुई लाख १५ हजार सरकारी कर्मचारी खटिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री सुशिला कार्कीले काठमाडौँ धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड चितवनमा मतदान गरेर रुकुमपूर्व लाग्नुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मतदान गरी झापा जानुभएको छ । प्रचण्ड रुकुमपूर्वबाट उम्मेदवार हुनुहुन्छ भने ओली झापा ५ बाट उठ्नुभएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गर्नुभएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले गोरखा पालुङटारमा पुगेर मतदान गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका-२ बाट मतदान गर्नुभएको छ ।









































