काठमाडौँ ।
देशैभर प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएको छ । केही स्थानमा भएका छिटफुट घटनाबाहेक शान्तिपूर्ण तरिकामा निर्वाचन सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजे सम्पन्न भएको हो । निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
अहिले विभिन्न जिल्लाका मतदान स्थलबाट धमाधम मतपेटिकाहरू संकलन भइरहेको छ । केही जिल्लाका सम्बन्धित गणनास्थलमा मतपेटिका पुर्याइएको छ । कतिपय स्थानमा आजै रातीबाट नै गणना सुरु हुने बताइएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्र दिनभर तनावपूर्ण बन्यो । यद्यपि, पछि मतदातालाई माइकिङ गरेर बोलाइएको छ । दोलखाका सहायक सिडियो औलाखबहादुर आलेले माइकिङपछि बुथभित्र गएकाको मत नै निर्णायक हुने बताउनुभएको छ । यस्तै सर्लाही र रौतहटमा केहीबेर विवादपछि समाधान भएको थियो।
रुकुमपूर्वका उत्तरी क्षेत्रका मतदान केन्द्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका संकलन गरिएको छ । निर्वाचन कार्यालय रुकुमपूर्वका अनुसार आज रातिसम्म सबै मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्नेछन्। सबै क्षेत्रका मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर भोलि (शुक्रबार) बिहानदेखि मतगणना सुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र अहिले गणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ ।







































