काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई अकारण हटाएर केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । समय कस्तो आइदियो भने प्राधिकरणबाट हटाएको मान्छे उर्जामन्त्री बनेर आए । त्यो पनि सरकार पुरै ढलेर । अघिल्लो सरकारले जसलाई हटाएर आफूलाई नियुक्ति दिएको थियो त्यही व्यक्ति मन्त्री बन्दा र आफूलाई नियुक्ति दिने सरकारको पत्तासाफ हुँदा हितेन्द्रदेव शाक्यलाई जति नैतिक संकट त अरु कसलाई परेको होला र ? शाक्यले नैतिकतामा आधारमा शाक्यलाई पदबाट उहिल्यै राजीनामा दिइसक्नुपर्ने हो ।
भदौ २३ र २४ गतेको आन्दोलन अघि नै एक कार्यक्रमका लागि कोरिया पुगेका शाक्य फर्किसकेका थिएनन् । उनी बुधबार स्वदेश फर्केसँगै पद त्यागेर मार्ग प्रशस्त गरुन् भन्ने चाहना छ उर्जामन्त्री कुलमान घिसिङको । घिसिङले आजै शाक्यलाई सन्देश समेत पठाउनुभएको छ । घिसिङले जेनजी पुस्ताको माग र समय बुझेर मार्ग प्रशस्त गर्न शाक्यलाई सन्देश पठाइएको घिसिङनिकट स्रोतले जानकारी दियो ।
साउनमा कार्यकाल सकिने कुलमानलाई हटाएर तत्कालीन सरकारले हितेन्द्रलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछिको समय र जनताको आवाज बुझेर बाटो खुला गर्नुपर्ने घिसिङले बताउनुभएको छ ।
मन्त्री घिसिङले पत्रकारसँग आफ्नो विवेक प्रयोग गरेर अहिलेको समयको मागअनुसार बाटो खुला गर्नुपर्ने र त्यसपछि विकल्प सोचिने प्रतिक्रिया दिनुभएको छ ।जेन्जी आन्दोलनका क्रममा शाक्यको पनि घर आगजनी भएको छ ।









































