
– सिर्जना घिमिरे
यसो गर्यो – यसो किन गरेको ?
यसो नगर्यो – यसो किन नगरेको ?
सधैँ-सधैँ प्रश्नै-प्रश्न गरिरहन्छ
नजन्मिँदै सुरु हुने प्रश्नको श्रृङ्खला
समाजले मरिसकेपछि पनि गरिरहन्छ ।
जन्मिँदै नजन्मिएको बच्चामाथि अड्कल काटिन्छ
र भनिन्छ – छोरै जन्मिन्छ, छोरी जन्मिन्छ ।
जन्मिँदै गर्दा भनिन्छ – कसरी जन्माएको ?
जन्मेको बच्चा हुर्किँदै जान्छ
प्रश्नै प्रश्नको चुलि चुलिँदै जान्छ
हो भनेको
यो समाज यति अपजशे छ कि
कसैगरी चुप लाग्दैन
गर्दा नि सुख छैन
नगर्दा झन् बाँच्नै दिँदैन ।
अलिक चकचके बच्चो देख्छ
तह लगाउन नसक्ने भन्छ, वचन लाउँछ
शान्त भयो भने बच्चो
कस्तो लुसे, लुरे भन्दै कुरा काट्न भ्याउँछ
बोल्दै नबोलुँ घुसघुसे भन्छ
बोलिराखौँ चोथाले भन्छ
चासो कति हो कति
आफ्नैले बरु ख्याल गर्दैनन्
समाजले गर्छ त्यति
कोही फेल होस्
केही गर्न सक्दैन भन्छ, आँखा तर्छ
कोही केही जितोस्
कसरी भयो भन्छ
जरै खन्छ, कुरै काटेर साराको कान भर्छ
साँच्चै यो समाज किन यस्तो अपजसे ?
घरगाउँमै केही गर्यो बस्यो
देखि सहँदैन दुनियाँ
गरिखाँदैन भन्छ
कुरै काट्छ
देश छोडौँ, छोडौँ बनाउँछ
देश छोडेर परदेश लागौँ
पढेर के काम, केही गर्न सकेन
गयो भन्छ, वाक्कै बनाउँछ ।
खुलेर प्रेम, विवाहका कुरा गर्यो
उत्ताउली भन्छ
छिटै बिहे गर्यो भने त
बैँश चढेको भन्छ
छिःछि र दुर दुर गर्छ
केही गर्छु र गरौँला नि बिहे भन्यो
बुढी कन्या भन्छ
कसले लान्छ र अब भन्छ
कुरै काट्छ
बुढी जागिरे भए
बुढालाई धिक्कार्छ, निम्छरो भन्छ
बुढा जागिरे भए
बुढीलाई केही गर्नै नसक्ने
लाचार सम्झन्छ ।
घरबार बेलैमा बसायो
कति हतार हो भन्छ
बिहे, बालबच्चा, महिना गन्न थाल्छ
अलि ढिला गर्यो
भन्न त यही समाजले
अब बच्चै हुँदैनन् भन्दै कुरै फैलाउँछ ।
मिलेर बसेको घर पनि देखि सहँदैन
टाँसिएर जुनि चल्छ भन्छ ।
अलिअलि घरझगडा सुन्यो भने त
कुकुर बिराला भन्छ ।
समाज न डाक्टर हो न वैद्य न ज्योतिष
अरुको भविष्यवाणी गर्न कति हतार हुन्छ ?
साँच्चै यस्तो अपसजे समाज कसरी बनाइयो ?
साँच्चै समाज किन यस्तो अपजसे बन्छ ?








































