आन्तरिक झगडाका कारण फुटको संघारमा पुगेको नेकपाको विवाद केही दिनलाई मथ्थर भएको छ । आज सचिवालय बैठक डाकिएपनि समय जुधाएर प्रधानमन्त्री समेत रहेका अध्यक्ष के पी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक डाकेपछि नेकपाको सचिवालय बैठकबारे अन्यौलता थियो । प्रधानमन्त्री ओली र पार्टीका अर्का अध्यक्ष प्रचण्डबीचको तनावले पार्टी फुटको संघारमा छ ।
दुवै पक्ष आ आफ्नै हिसाबबाट चल्ने सुर गरेपछि फुट्को व्यापक चर्चा चलेपनि दुवैपक्ष सँगै बसेर समाधान निकाल्ने छाँट देखाएपछि हाललाई नेकपाको विवाद केही मथ्थर भएको हो । आज बसेको सचिवालय बैठक अबको दश दिनमा बस्ने गरी सकिएको छ ।
पार्टी भित्रको आन्तरिक विवाद चुलिदाँ पर्यटनमन्त्री नेकपा नेता योगेश भट्टराईले आजै सर्वाधिक कठिन समय भन्दै सामाजिक सञ्जालमा लेखेका थिए ।
अबको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सचिवालयमा राजनीतिक प्रतिवेदन पेश गरेपश्चात् सबैउपर छलफल गर्ने गरी अर्को बैठक मंसिर १३ गते बस्ने छ । आजको बैठकले स्थायी समिति बैठक १८ गते बस्ने र १५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंसिर २५ गतेसम्मलाई सार्ने निर्णय गरेको छ ।