नवलपुरको गैंडाकोट नगरपालिका वडानम्वर ४ का महिलाहरूलाई एक दिने अचार बनाउने तालिम प्रदान गरिएको छ । आरभ मल्टि एग्रो मिडिया कम्पनी प्रा.लि. भरतपुरको आयोजनामा शुभश्री टोल विकासमा रहेका महिलाहरुलाई तालिम प्रदान गरिएको अध्यक्ष प्रकाश सिग्देलले जानकारी दिनुभयो ।
महिलाहरुलाई घरेलु लघु उद्यमी वन्न सहयोग पुग्नेगरी स्थानीय उत्पादनलाई प्रयोग गरेर अचार बनाउन सिकाइएको उहाँको भनाइ छ । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी, खाद्य निरीक्षक प्रदिप काफ्ले र साल्ट टेड्रिङ कर्पोरेसनका विकास अधिकारीले प्रशिक्षण दिनुभएको हो ।
अचार बनाउने व्यवहारिक अभ्यास सिकाएर उद्योग दर्ता, खाद्य ऐन तथा आयोडिन परीक्षण गर्न समेत सिकाइएको थियो । नगरप्रमुख छत्रराज पौडेलले महिलाहरूलाई आत्मनिर्भर गराउन व्यवसायिक विभिन्न विषयगत तालिम दिंदै आएको बताउंदै सिपलाई व्यवहारमा लैजान सुझाव दिनुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपानेले अन्य देशका नागरिकले गैँडाकोटका कतिपय पेसा ओगटेको भन्दै सीप भए खाली हात बस्नु नपर्ने बताउनुभयो। सिप लिएपछि व्यवसायिक वन्न सुझाव दिँदै वडाबाट हुनसक्ने सहयोगका लागि आफू तयार रहेको बताउनुभयो । आफूभित्र रहेको अथाह क्षमतालाई पहिचान गर्नसक्नुपर्ने बताउँदै कोभिडले महिलालक्षित धेरै कार्यक्रम गर्न नसकेको बताउनुभयो। विदेशबाट कमाएर नेपाल पठाउने रकम उत्पादनक्षेत्रमा लगाउन उहाँको सुझाव थियो ।
समापन कार्यक्रममा बोल्दै सहभागी दिव्यश्वरी वाग्लेले एक दिने सिपले अचारको व्यवसायिक उत्पादनमा लाग्न प्रेरणा मिलेको बताउनुभयो । साथै तालिममा सहभागीहरुले व्यवहारिक अभ्यासका क्रममा बनाएको अचार अतिथिहरुलाई उपलब्ध गराएका थिए ।