काठमाडौँ ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसका आधारमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । गृहमन्त्रालयको निर्देशनपछि रोल्पा जान लागेका महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई भर्खरै काठमाडौँ ल्याइएको छ । महरालाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिँदै छ ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लैजाँदै गरिएको जानकारी दिए । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
सुन प्रकरणमा यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । महरालाई काठमाडौँ ल्याउन भैरहवाबाट यती एयरलाइन्सको टिकट बुक गरिएको छ । उनलाई यती एयरलाइन्सको ११ बजेको फ्लाइटमार्फत भैरहवाबाट काठमाडौँ ल्याइएको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।







































