मेरो नाउँमा रोइदेउ है राममाया
यहाँ मेरो रोइदिने कोही छैन
सुदूर त्यो बैतडीमा आफन्त छन् कतै
आमाबुवा भाइबैनी छरछिमेकी उतै
तर मेरो दिलभित्र नेपाली छन् सारा
मातृभूमि नेपालको तिर्छु दुधको भारा
असत्तिले मार्नेभो राममाया
दशरथलाई बचाउने कोही छैन ।
मेरो नाउँमा रोइदेउ है राममाया
यहाँ मेरो रोइदिने कोही छैन ।
हातमा हेर हतकडी छ पाउमा हेर नेल
… दोभानमा मार्ने यिनको खेल
म त एउटा नेपालीको जल्दोबल्दो छोरो
म मरे नि देश बाँचोस् यही धोको मेरो
सबलाई यही भन्देउ है राममाया
मेरो अठोट सुन्दिने कोही छैन ।
मेरो नाउँमा रोइदेउ है राममाया
यहाँ मेरो रोइदिने कोही छैन ।
सन्तानब्बे साल माघ १६ गते आज
३७ वर्षे जिन्दगी यो पर्न लाग्यो साँझ
अँध्यारोमै बल्नुपर्छ चेतनाको बत्ति
एउटै बत्ति कोटी कोटी नेपालीको शक्ति
साँझमा बत्ति बाल्नु है राममाया
मनको राँको सल्काउने कोही छैन
शुक्रराज, धर्मभक्त, गंगालाल साथीहरू
मसँगै छन् मर्न तयार नेपालका सपुतहरू
शुक्रराज, धर्मभक्त, गंगालाल साथीहरू
मसँगै छन् मर्न तयार नेपालका सपुतहरू
हत्याराको मृत्युसित हामी खली खेल्छौँ
एउटै मुटु कोटी कोटी मुटु धड्किदिन्छौँ
मेरो लाश हेर्देउ है राममाया
लाश बुझ्ने आफन्त कोही छैन ।
मेरो नाउँमा रोइदेउ है राममाया
यहाँ मेरो रोइदिने कोही छैन ।
(सम्पादकीय नोटः सहिद दशरथ चन्दले जीवनको अन्तिम समयमा जेलमा सरसफाइको काम गर्न आउने राममाया च्यामिनीसँग गरेको आग्रहलाई कविता बनाएर कवि प्रेमविनोद नन्दनले २०७४ माघ १५ गते सामुदायिक रेडियो विजय एफएम १०१.६ मेगाहर्जमा प्रस्तोता लक्ष्मी पौडेलसँगको अन्तर्वाताका क्रममा सुनाएको कविता । कवि प्रेमविनोद नन्दनको २०८२ भदौ १ (गएराती ९ः२५ बजे) गते चितवन मेडिकल कलेजमा निधन भएको छ । कवि नन्दनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।)