काठमाडौं– बंगलादेशमा आयोजना हुन लागेको इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक नौगेडी मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बंगलादेशको पञ्चगढमा हुने महोत्सवमा आदि इत्यादिको ब्यानरमा मञ्चन हुने नौगेडी सहभागी हुन लागेको आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाले जानकारी दिए ।
उक्त नाटकको लेखन र निर्देशन पुरु लम्सालले गरेका हुन् । महोत्सवमा भारत, नेपाल, बंगलादेश, भुटान लगायत विभिन्न देशका नाटक मञ्चन हुनेछ । कोलकातामा केही महिनाअघि सम्पन्न अन्तर्राट्रिय नाटक महोत्सवमा सहभागी बंगलादेशी टिमको सिफारिसमा नेपाली नाट्य समूह आदि इत्यादिलाई महोत्सवमा भाग लिन बोलाइएको थापाले जानकारी दिए ।
गत फागुनमा भारतको कोलकातामा आयोजित महोत्सवमा आदि इत्यादि र मञ्जरी नाट्य समूह लमजुङले पुरु लम्सालकै लेखन र निर्देशन रहेको पानीघट्ट नामक नाटक प्रस्तुत गरेका थिए ।
कोलकातामा उक्त नाटकले निकै वाहवाही कमाएको निर्देशक लम्साल बताउँछन् । पानीघट्ट नेपालमै पनि दर्जनभन्दा बढीपटक मञ्चन भएको र दर्शकले निकै मन पराएको नाटकमा पर्छ । नौगेडी भने मञ्चन हुन बाँकी छ ।
‘पानीघट्टबाट प्रभावित बंगलादेशी टोलीले हाम्रो नाम सिफारिस गरेछ,’ थापाले भने, ‘त्यसपछि आयोजकले हामीलाई पानीघट्ट अथवा त्यस्तै सांस्कृतिक नाटक लिएर महोत्सवमा सहभागी हुन आग्रह गर्यो ।’
नौगेडी नुवाकोटको प्रशिद्ध दुप्चेश्वर जात्रा र घ्याङफेदीको परिवेशमा रचिएको नाटक हो । यसले सो क्षेत्रमा विद्यमान छुवाछुत र चेलीबेटी बेचबिखनको समस्यालाई उजागर गर्न खोजेको लेखक तथा निर्देशक लम्सालले बताए ।
नौगेडीमा सुशीलसिंह ठकुरी, पवित्रा खड्का, रिता थापा, आइपी आचार्य, अनन्तप्रकाश श्रेष्ठ, केदार बोहोरा, बिमला अधिकारी देवकोटा, निर्मला खड्का, जेडी डिसीले अभिनय गरेका छन् ।