एजेन्सी : माघ १२, केही समय अघि अफ्रिकामा इबोला भाईरसले झै चीनमा महामारी पनि कोरोना भाइरसले महामारीको रुप लिएको छ । कोरोना भाइसरका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ भने १ हजार ९ सय ७५ मा यसको संक्रमण फैलिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । आइतबार बिहानको रिपोर्ट अनुसार अघिल्लो २४ घन्टामा १५ जना नयाँ मृतकहरु फेला परेका हुन् भने ६८८ मा यसको संक्रमण देखिएको छ।
गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ। न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ।
शनिबार चिनियाँ राष्ट्रपति सी चिङफिङले त्यहाँको सरकारी टेलिभिजन सीसीटिभीसँग कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताएका थिए। चिनियाँ नयाँ वर्षको छेकोमा आयोजित कम्युनिस्ट पार्टीको सभामा कोरोना रोकथामका लागि तत्कालै सरकारी पहलबारे प्रकाश पारेका थिए। कोरोना प्रकोपका कारण चीनमा हुँदै गरेका पछिल्ला सार्वजनिक सभा, सभारोह र उत्सवहरु बन्द गरिएको छ भने सहर, बजार, रेल्वे स्टेसन र विमानस्थलमा उच्च सतर्कता अपनाउँदै सुरक्षा बल खटाइएको छ।








































