काठमाडौं ।
देशका विभिन्न जिल्लाका एनसेल टावरमा गएराती आगजनी भएको छ । आगजनी कसले गरेको भन्ने खुलेको छैन ।
पूर्वी नवलपरासीको दुई स्थानमा आगजनी भएको छ । पूर्वी नवलपरासीको बुंदीकाली २ कोटथर, कावासोती नगरपालिका १७ बभनौली गरी दुई स्थानमा एनसेल टावरमा आगजनी भएको हो ।
आगो विप्लव नेतृत्वको नेकपाले लगाएको हुन सक्ने आशंका गरिएको छ । तथापि घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । आगलागीबाट टावर जलेर नष्ट भएको बताइए पनि क्षतिको यकिन विवरण आएको छैन ।
कावासोती १७ बभनौलीमा रहेको एनसेल टावरमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
यस्तै मकवानपुरको दुई स्थानका एनसेल टावरमा आगजनी भएको छ। भीमफेदी गाउँपालिकाको देउरालीमा रहेको एनसेल टावरमा र हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा रहेको एनसेलको टावरमा आगजनी भएको छ।
दुवै घटनास्थलमा प्रहरी पुगेको छ। घटनाबारे अनुसन्धान शुरु गरिसकेको प्रहरीले जनाएको छ। यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एनसेल टावरमा आगजनी गरेकाले यस घटना पनि त्यही समूहले गरेको हुनसक्ने प्रहरीले शंका गरेको छ।