नुवाकोट ।
माओवादी नेता स्वर्गिय पोष्टबहादुर बोगटी ‘दिवाकर’ को शालिक अनावरण भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको विदुर नगरपालिका ७ तुप्चेमा निर्माण गरिएको शालिक अनावरण गरेका हुन् ।
आफ्ना पुर्व सहकर्मी बोगटीको शालिक अनावरण गर्दै प्रचण्डले बोगटीलाई आफ्नो आड भरोषाको प्रतिमुर्तिका रुपमा स्मरण गरे ।
शालिक अनावरण प्रचण्डले बोगटी अगाडि भएपछि जस्तोसुकै अप्ठ्यारो पनि पार लगाउन सक्ने आँट मिल्ने गरेको बताए । ‘पोष्ट बहादुर बोगटी अगाडि भएपछि जस्तोसुकै अप्ठ्यारो नि पार लगाउन सक्ने आँट मिल्थ्यो, प्रचण्डले भने, ‘उहाँको अभाव सबैभन्दा बढी मलाई भएको छ।’ माओवादी आन्दोलनमा बोगटीले सधैं पार्टी नेतृत्व र विचारको रक्षाका लागि निसर्त सहयोग गरेको स्मरण गर्दै प्रचण्डले देश, जनता अनि पार्टीप्रति सधैं निष्ठावान् र इमान्दार व्यक्तित्वको रुपमा उहाँको योगदान निकै उच्च रहेको बताए ।
जनयुद्धको बलमा मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता पोष्टबहादुर बोगटीको उनकै जन्मथलोमा शालिक निर्माण गरिएको हो। १५ लाख लागतमा निर्मित शालिकसँगै चौतारो पनि निर्माण गरिएको छ। विभिन्न संघ संस्था, विदुर नगरपालिका, वडा कार्यालय, स्थानीय युवा क्लवहरु लगायतको आर्थिक सहयोगमा दुई महिनाको अवधिमै शालिक निर्माण गरिएको शालिक निर्माण समितिकी अध्यक्ष कल्पना रिमालले जानकारी दिईन ।