काठमाडौं ।
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माईला लामा फेरी अदालतबाटै पक्राउ परेका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रिय सदस्य तथा उपत्यका ईन्जार्ज लामा सहित चार जना नेता सुनसरी अदालतबाट पक्राउ परेका हुन् ।
आइतबार जिल्ला अदालत सुनसरीले साधारण तारेखमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले लामासँगै केन्द्रीय सदस्य नविन विश्वकर्मा, नेतृ धिरिन्द्रा उपाध्यय र दिपेश राईलाई पुनः गिरफ्तार गरेको हो ।
जिल्ला न्यायधीश ध्रुव कार्कीको ईजलाशले उनीहरुलाई रिहा गर्न आदेश दिएको थियो । उनीहरुलाई प्रहरीले हात हतियार तथा संगठित अपराध मुद्धा लगाएको थियो ।
पुनः गिरफ्तार हुनअघि केन्द्रीय सदस्य लामाले आफूहरुले राष्ट्रियता, जनजीविकाको पक्षमा आवाज उठाएकै कारण ओली नेतृत्वको सरकारले हतकडी लगाएर जेल हालेको बताए । लामाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्ड विगतका राणा-पञ्चहरुले जस्तै जनताको हक अधिकारको कुरा गर्दा जेल र हतकडी लगाउन अग्रसर भएको भन्दै जनताको पक्षमा उठेको आवाजलाई जेल र हिरासतमा कैद गर्न नसकिने बताए ।
लामा, बिक र उपाध्ययलाई पाटन उच्च अदालतले रिहा गर्न आदेश दिएपछि पुनः गिरफ्तार गरेर प्रहरीले सुनसरी पुर्याएको थियो ।
लामा र राईलाई संखुवासभा र बिक र उपाध्यायलाई कालिकोट लैजाने तयारी भइरहेको पारिवार स्रोतले जनाएको छ । उनीहरुसगै राखिएका रमेश कार्की अदालतको आदेशमा रिहा भएका छन् ।