काठमाडौं ।
आज बैशाख ११ गते । तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता हस्तान्तरण गरेको दिनका रुपमा लोकतन्त्र दिवस मनाइँदैछ । १९ दिन लामो जनआन्दोलन पछि राजा शाहले संसद पुनर्स्थापनासहित सत्ता हस्तान्तरण गरेका थिए ।
२०६२/०६३ को उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आजको दिन हरेक बर्ष लोकतन्त्र दिवस मनाइन्छ ।
यसबर्ष कोरोना भाईरसको सन्त्रासका कारण मुलुक नै लकडाउन गरिएकाले कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन ।
२०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरी आफूखुशी कार्यकारी प्रमुख तोक्न थालेका थिए। आफूखुशी तोकिएका प्रधानमन्त्रीबाट समेत सन्तुष्ट नभई २०६१ माघ १९ गते मन्त्रिपरिषद्को अध्यक्षसमेत राजा नै बन्नुभएपछि आममानिसमा राजतन्त्रप्रति वितृष्णा बढ्दै गयो। माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनको वातावरण बनेको थियो। जनआन्दोलनको माग २०५९ जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना, निरङ्कुश राजतन्त्रको अन्त्यलगायत थियो। नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ।
त्यसपछि पहिलो संविधानसभाले संविधान बनाउन नसके पछि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ ।