-होमनाथ ढकाल
आउनुहोस् ब्यवस्थाबारे बहस गरौँ । आजको संसारभरी तपाईं र म जस्ता क्रान्तिकारी देशभक्तहरुको पुरै कहीँ पनि खैरियत छैन । विश्व एकछत्र पुँजिवादको दबदवामा कैद छ । हामी यो कुरा जान्दछौं तर यसलाई बदल्न हाम्रो सामर्थ्य छैन् । हामी जतिसुकै स्पातिलो बनौं हामिले पुँजिवादको भुत्लासमेत काट्न सक्दैनौँ । भनेको मतलब यतापट्टीबाट हाम्रो औचित्य छैन नै हो । पुँजिवाद संसारभरिबाट ढल्छ त हाम्रो कारणले ढल्दैन उसैको गल्तिले ढल्ने हो ।
हामिले महान जनयुद्द गर्यौँ । त्यो किन आज धनयुद्दमा परिणत भयो ? नेपाली जनताले जनयुद्दमा गरेको त्याग, तपस्या र बलिदान कसरी मेटाउँदै मेटाउँदै लगियो त ? उतिबेला क्रान्तिकारी ठहरिएका नेताहरु आज कसरी सजिलै पुँजिवादको चंगुलमा घुलमिल भए ? तपाईं हाम्रा आम सर्वहारा श्रमजीवी नेपाली जनताका स्वर्णिम सपनाहरु कसरी ध्वस्त पारियो ? जबकी बाँचेका तपाईं हामीसँगै हुँदाहुँदै हाम्रा सपना हामिबाट खोसिइरहेको जान्दाजान्दै पनि अहँ हामिले त्यसको रक्षाको नाममा केही गुन्जायस पनि गर्न सकेनौं ।
यसको मतलव हामी अल्पमतमा पर्यौँ । यो त सहि हो नि ! अब हामी यहाँबाट बहुमतमा फेरि आउने कुरा कुनै हालतमा सम्भव छैन । धोकाको राजनीतिले त्यो विस्वासलाई गुमाइदिईसकेको छ । नेपाली जनताले फेरि अर्को क्रान्तिकारी नेता न त तपाइँलाई स्वीकार्दछ, न त मलाई नै । हिजो सजिलो थियो एकहदसम्म त्यो जनताको प्रयोगको सन्दर्भमा अगाडि आउन सफल बनेको थियो । तर आज तपाइँ हामीजस्ता जनताका सर्वोत्तम छोराछोरीहरुको वलिदानको थुप्रोमा टेकेर नेता कहलिएका र सत्ताको भत्तामा भिजेकाहरुले हामिलाई बाँचेरपनि मरेतुल्य बनाएर छाडे । आज उनिहरु त्यो बलिदानको सिरानी हालेर त्यसको ब्याज खाईरहेका छन् भने हामिहरु आम जनताको न्यायको बाहिरबाट चिच्याइरहेका छौँ ।
लाग्छ, तपाइँ हामीलाई नेपाली जनताले गिज्याइरहेका त छैनन् ? व्याज खान नपाएर चिच्याएको हो भनिरहेका छन् । यतापट्टीबाट हेर्यो भने अब हामी चिच्याउन छोड्नुपर्ने हुन्छ । समात्दा हामीले पुरै क्रान्तिकारी धार समाती रहेको जस्तो पनि नठानौं छोड्दापनि हामीलाई मात्र पाप लाग्ने देख्दिनँ । पाप त्यसलाई लाग्छ, जसले गद्दारी गरेको छ त हाम्रो के दोष ? हाम्रो आदेशमा गद्दारी भएको भए पो कतै पापी त भइएन भनेर समिक्षा गर्ने ? योपनि जरुरी ठान्दिनँ । त्यो जनयुद्दले संसदीय व्यवस्थाको प्रतिष्पर्धालाई स्विकार गर्यो र पछारियो । त्यसमा हामीपनिसँगै थियौं र जनयुद्दसँगै हामी पनि पच्छारिएका छौँ । निसन्देह पछारिने हामीलाई चाहना थिएन । र, जनयुद्दको हातखुट्टा पछारिएर भाँचीएसँगै हामीपनि अपाङ्ग भएका छौँ ।
अब भन्नुहोस् यस्तो किसिमको अपाङ्ग बबुरो हामी कति उफ्रिने ? अपाङ्ग भएको कुरा हामी किन पत्ता गर्दैनौं । ती नेताहरु जसले जनयुद्दलाई सम्झौतामा टुङ्ग्याए ती हिजोको विरासत वा आफ्नो इतिहासको नाम समेत लिन चाहन्नन् किन ? वलिदानको बेदिमा आफुलाई रेल्नुभन्दा बाँचेर ब्याज खान कति राम्रो कति भन्ने ठानेरै उनिहरु तितर-बितर भए । यही होइन यथार्थ ? अब उडुस फड्कियो हामी जुम्रा काल खोजेर आफुलाई बडो क्रान्तिकारी ठहर्याउन उद्धत किन ? अब वन जल्यो त जल्यो । तर बेकारको मन जलाएर हामीले आफुलाई किन अस्वस्थ र रोगी बनाइराख्ने ? अतः यही व्यवस्थाभित्रको परिधिमा छिरेर सुधार गर्न लडियो भने हाम्रो देशको सापेक्षतामा त्यो बढी उपयोगी हुने देखिन्छ । त्यही भएर मैंले पनि आफ्नो विचारमा युटर्न गर्ने प्रयास गर्दैछु । यसको अर्थ हामीपनि सँगै कुहिएरै मर्ने भनेको होइन बिद्यमान व्यवस्थाका केही खास-खास प्रणाली र तिनका प्रावधानहरु जो देश र जनताको हितानुकुल छैनन् । तिनको परिवर्तन गर्न जुधौँ । जस्तै यो व्यवस्थाको निर्वाचन प्रणाली सच्याऔं । एक व्यक्ती एक पद अपनाऔँ । मुलुकको प्रमुख कार्यकारी पद सोझै जनताबाट निर्वाचित हुने प्रकृयालाई अपनाऔं ।
यो बुढा नेताजीहरुलाई सम्मानित ढङले राजनीतिबाट बिदाई गरौं । युवाको सिर्जनशील शक्तिहरु एउटा एकठाउँमा जुट्ने वातावरण निमाण गरौँ र यही तागतले लतारेर देशको काँचुली फेर्ने प्रयास गरौँ । संविधानमा अक्षम्य अपराधलाई पनि जीवनदान दिने व्यवस्था छ । त्यसलाई फेरेर फाँसी दिने व्यवस्था गर्नुपर्छ । यसो नगर्नाले फटाहा डाँकाहरुको राज चलेको छ । त्यस्ता किसिमका अपराधीहरुलाई जनताले ढुङ्गाले हानेर मार्छ भनेर देशका जेलहरु गरिब र असहायहरुको लागि बन्दी गृहबाट मृत्यु गृहमा परिणत भैरहेकाछन भने ती अपराधी डाँकाहरुको लागि जीवनबक्सको सुरक्षाघर सावित भएका छन् । शासनशक्तिको बोलवाला वा हुकुमीतन्त्र खत्तम गर्न सिष्टमको आवश्यकता छ त्यो पुर्ति गरौँ। जबकि हामीले व्यवस्था मात्र त फेर्यौँ तर यसको सिष्टम त कहीँपनि फेरेका छैनौं ।
यति गर्दा पनि देशको विकास र समृद्दीलाई उठाउन सकिएन भने ढुक्क हुनुहोस् कि नेपाली जनतालाई सुधार्न इन्द्रेका बाउ चन्द्रे नै आएपनि सक्दैन । नेपालीले जो जानेको आफ्नो पुरानो बानी घ्यु खानी कसो ?
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको खास समस्याहरु छन् । तिनलाई व्यवस्था गरेर यो व्यवस्था टिक्दैन ।
राज्य पुनर्संरचना गरियो तर राज्ययन्त्रहरुको पुनर्संरचना गरिएन यहाँ समस्या भएको छ । तसर्थ कुनैपनि नयाँ व्यवस्थाको परिवर्तनसँगै उसका अड्डा, अदालत र न्यायालयहरुको पनि रुपान्तरण वा पुनर्गठन भन्नु वा पुनर्संरचना गर्नु जरुरी थियो । तर दुर्भाग्य नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरियो, भौगोलिक रुपमा राज्य पुनर्संरचना पनि गरियो तर यसको नीति र अङ्गहरुको पुनर्संरचना नगर्नाले गर्दा यहाँ देशको समग्र व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा भएको छ । हामीले यसलाई सच्याउन संघर्ष गर्नुपर्ने छ । जति हामी यो मामिलामा चासो राख्दैनौँ त्यति नै देशको लागि घातक बन्दै गइरहेको छ । किटानीसाथ भन्नूपर्दा नेपालमा गणतन्त्रको रक्षाको चुनौती छन् । गर्ने/गराउनुपर्ने कर्म नगर्ने गणतन्त्र जिन्दावाद भनी ढोलमात्रै पिटी बस्ने । गणतन्त्रको बर्षगाँठ भन्दै ठूलो तामझामकासाथ दिपावली गर्ने र गराउन लाग्नेहरुले गणतन्त्र नै खाइसकेका छन् । तसर्थ तमाम देशभक्त गणतन्त्रका प्यारा जनताहरुले नेपाल सरकारलाई छिटोभन्दा छिटो जनदवाब दिन ढिलो हुँदै गइरहेको छ । राज्यका सम्पूर्ण अवयवहरुको पुनर्संरचना गराऔँ ।