कृष्ण विश्वकर्मा , भरतपुर-११, चितवन
हाल : आबुधाबी, संयुक्त अरब इमिरेट्स
ओई बाहुन ठुले !
मरिलानु के नै छ र यार
आइज तँ र म सँगसँगै
हाँसीखुशी हामी प्रेम बाँचौँ
हेर् त यार,
हाम्रै वाल्यकाल
न- तँ बाहुन थिइस्
न – म कामी थिएँ
बस् म तँलाई ठुले चिन्थें
तँ मलाई कान्छा चिन्थिस्
सम्झी त यार,
तेरा बाले त्योसँग नखेल् भन्दा तँ कति रुन्थिस्
मेरा बाले बिस्टसँग नखेल् भन्दा म कति रुन्थें
स्कुलमा गुरुले हामीलाई फरक बेन्चमै राखे पनि
तँ मेरो भुटेको मकै कति मज्जाले खान्थिस् कुरुम कुरुम
तैंले ल्याएको खिर खाएर कसरी म वर्षौंको धित मार्थें
बाहुन ठुले,
जब तैंले मनमनै चपाउन थालिस गायत्री मन्त्र
त्यही दिनदेखि तेरो मुखबाट छुट्यो मेरो भुटेको मकै
मेरो यार,
म त अझै पनि सम्झिरहन्छु
मेरो लागि तैंले बोक्ने उही खिर
मेरो सखा,
हाम्रो लागि तैंले बोक्ने
त्यो टिफिन खिर कता गायब भयो होला अचेल हगि ?
धर्मले यसरी काख लियो तँलाई
धर्मकै काखमा हुर्केर तँ – ठुलेबाट बाहुन ठुले भइस्
धर्मकै आखाँमा झड्केलो म- कान्छाबाट कामी कान्छा भएँ
जुँगाको रेखीसँगै
हामी बिचमा थपियो मौनताको अर्को कठोर रेखी
सायद तँ लालसाले ध्रुवीकृत भइस् – बृहस्पति मार्ग
सत्य खोज्दै म पनि भई गएँ ध्रुवीकृत – शम्बुक मार्ग
प्रेमको हाँगाबाट लाच्छिएर
तँ पृथ्वी माथि कतिऔं तलामा पुगिस् – म जान्दिनँ
प्रेमकै हाँगाबाटै लाच्छिएर
तेरै नजरमा पृथ्वी तल
कतिऔं तलातलमा छु म- त्यो पनि जान्दिनँ
तर जहाँ भए पनि हृदयको एक कुनामा
वाल्यकालको उही ठुले अझै पनि धड्किरहन्छ यार
हेर त ठुले !
नदीका दुई किनार जस्तै
तेरो-मेरो घर कति नजिक छ !
मैंले त मेरो घरको बाटो समेत
आफ्नै हृदय ओछ्याएर बनाएको छु तेरो लागि
तर, हेर् न यार !
तीन हजार वर्षदेखि
मैंले तेरो घर आउने बाटो नै पाइनँ !
बाहुन ठुले !
तैंले मन्दिरको घन्टा बजाउँदा
मेरो कान किन झर्को मान्छ होला अचेल हगि ?
तैंले लगाएको गेरुवस्त्र देख्दा
किन होला मेरो आँखा महात्मा भन्दा पाखण्ड बढी देख्छ ?
तेरो आँखाले पनि त
ठानेकै हो नि मलाई आरनमा घिन लाग्दो मान्छे हगि ठुले ?
ओई बाहुन ठुले !
मरिलानु के नै छ र यार
आइज तँ र म सँगसँगै
हाँसीखुशी हामी प्रेम बाँचौँ
ठुले मेरो यार,
तेरो निधारमा तीन धर्का देख्दा गर्वले फुलोस् मेरो छाती
धुर्सेफुर्से आरने अनुहार देख्दा गर्वैले फुलोस् तेरो पनि छाती
र पो सकिएला त ठुले सगर्व भन्न – हामीले हिमाल उठायौं….
तँ मलाई गुरुकुलको पाठशाला लैजा
म तँलाई आरनको पाठशाला लैजाउँला
मेरो हुन नसकेको – तँ मलाई तेरो वेदको दर्शन पढा
तेरो हुन नसकेको- म तँलाई आरनको दर्शन पढाउँला
तेरो शिर पनि ठाडो हुँने गरि
म आरनको नव दर्शन लेखुँला
मेरो शिर पनि ठाडो हुँने गरि
तँ चारै वेदको नव दर्शन लेख्
र, हामी सबैलाई मिलेरै पढाउँला
समभावका संयुक्त नवदर्शनहरू
बाहुन ठुले !
जातमा के राखेको छ र यार ?
मलाई सानो देखाएर
तँ ठुलो बन्नु तेरै ज्ञानको उपाहास होइन र ?
फुकालौं यार जातका अहम् पगरीहरू र खेलौं मजाले भकुण्डो
एकबारको जुनी,
तँलाई काम पर्दा – मेरो यो जुनी काम लागोस्
मलाई काम पर्दा – तेरो त्यो जुनी काम लागोस्
तेरो घरमा मीठोमसिनो पाक्दा
भान्सामै निर्धक्क म खुरूरू आउन सकूँ
मेरो घरमा मीठोमसिनो पाक्दा
भान्सामै निर्धक्क तँ खुरूरू आउन सक्
बाहुन ठुले !
यसरी पो हो त प्रेम बाँच्ने , अपनत्व बाँच्ने !
तेरो घरमा तेरो आस्थाको शंखध्वनि बज्दा
म यता मेरै घरमा शान्तिले मन्त्रमुग्ध हुन सकूँ
मेरो घरमा आरनले बजाई रहदा कर्मका धुनहरू
उता तँ र तेरो घर उज्यालो हुन सकोस् गर्वले
यसरी पो हो त ठुले प्रेम बाँच्ने , अपनत्व बाँच्ने !
बाहुन ठुले !
हामी कहिल्यै मान्छे बाँचेनौं
केवल जात बाँच्यौं
जातले सिर्जेको तहगत अहंकार बाँच्यौं
ठुले, भन् त यार
तँ यो जातको भारी बोकेर पुग्ने ठाउँ चैं कहाँ हो ?
भन्न यार,
तेरो विवेकी थाप्लोले यो भारी बोकेर थाक्छ कि थाक्दैन ?
मेरो यार ,
यो समाजदेखि नडराऔं हामी
यो समाज ??? हाहाहा……..
यो समाज त फगत रमितेहरूको अखडा हो
लेवैलेउ जमेको पोखरीमा उफ्रिने भ्यागुता हो
यसले त हामी मर्दा पनि हामीलाई
जातकै भारी बोकाएर पठाउँछ अलग अलग
तेरा दुखहरूमा मेरो यो काँध
कामै नलाग्ने गरि जातैले बाँधिदियो
ठुले, मेरो यार म त चाहन्छु
म मर्दा मेरो लागि एउटा काँध तेरो होस्
माइ डियर ठुले वी लस्ट मेनी थिङ्स
जस्ट लिभिङ भर्सस अगेन्स्ट भर्सस
ओई ठुले !
मरिलानु के नै छ र यार
आइज तँ र म सँगसँगै
हाँसीखुशी हामी प्रेम बाँचौं









































