– केशब बैरागी माइलो
झमक्क साँझ परेको थियो । चराचुरुङ्गीहरू आफ्ना गुँडमा फर्किसकेका थिए । म पनि अफिसबाट घर आइपुगेर बैठक कक्षमा प्रवेश गरेको मात्रै थिएँ । मोबाईलको घण्टी बज्यो। नम्बर देख्नासाथ एकजना पुराना परिचित मित्रले कल गरेको थाहा भैहाल्यो । एक आपसमा नमस्कारको अभिवादन साटासाट गर्दै पारिवारिक आराम कुशलताका सन्देश आदानप्रदान गरियो। कुराकानीकै क्रममा उनले भने, ” सिर्जना बिनाको जीवन चिनीबिनाको चिया जस्तै हुनेरहेछ । केही न केही नवीन सिर्जनात्मक काम गरौं न मित्र। यसरी साहुको नोकरी गरी कमाएको धन एक पेट पाल्नकै निम्ति खर्च गरेर मात्रै सन्तुष्टि मिल्ने रहेनछ । साहित्यिक सिर्जनामा तपाईँको रफ्तार बढ्दै गएको देख्दै छु । म पनि यसो फुर्सदका बेला मनका तरङ्गहरूलाई कापीका पानामा उतार्दै छु।”
मैले उनलाई एउटा कृति प्रकाशनको योजना बनाएको कुरा सुनाएँ । उनले भने, “ एकजना प्रेस मालिकसँग मेरो राम्रो चिनजान छ। यस्तो पवित्र काममा मदत गर्न पाएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु। तपाईंले यो विषयमा कुनै चिन्ता लिनुपर्दैन। आकर्षक छुटसहित प्रकाशनको सम्पूर्ण जिम्मा म आफैँ लिन्छु। बरु, रकमको जोहो गर्नुभएको भए मेरो बैँक खातामा हालिदिनुभए हुन्छ। अनि, आफ्नो कृतिसम्बन्धी सम्पूर्ण सामग्री मलाई मेल गर्दिनुहोला।”
आफ्ना मित्रको सहयोगी वचनप्रति हार्दिक आभार प्रकट गर्दै कुराको बिट मारियो। भोलिपल्ट बिहान उनले फेरि कल गरे र अनुमानित लागत रकम, आफ्नो बैँक खाता नम्बर अनि इमेल ठेगाना टिपाए। मैले तुरुन्तै सबै रकम तथा सामग्री पठाएँ। एउटा विशाल पर्वतारोहण गर्दै गरेको महसुस भयो। त्यसबेला खुसीको सिमा नै रहेन। पहिलो सन्तानको खुसी कसलाई हुँदैन र ?
धेरै साथीहरूलाई विभिन्न माध्यमबाट सुनाइसकेको थिएँ ।
बाध्यता भनौँ या समय चक्रको खेल । सबै ऋतुले एक फेरो मारिसक्दा पनि कृति के हुँदै छ भन्ने कुराको अत्तोपत्तो भएन । साथीलाई बेलाबेला सोधेँ पनि। हरेकपटक “काम हुँदै छ । अब केही समयमा आउँछ” भन्ने बनिबनाउ जवाफमा चित्त बुझाउनुको विकल्प थिएन मसँग । ढिलै भए पनि छोरो गतिलो नै आउने भयो भन्ने लाग्थ्यो एकातिर भने अर्कोतिर अस्वभाविक ढङ्गले लम्बिएको प्रसव पीडा असह्य बन्दै गयो।
“कतै म दलालको फेला त कतै परिनँ ? यदि त्यस्तो दलालीको भुमरीमा नै फसिएको भएपनि पुस्तक प्रकाशनको जिम्मा लिने मेरा ती मित्रले सत्यतथ्य बताउनुपर्ने हो। समस्याको वास्तविक चुरो के होला हँ ?” यस्तै प्रश्न र प्रतिप्रश्नका तरङ्गहरूमा तरङ्गित हुँदै दिन, रात, हप्ता, महिना, ऋतु , साल बिते तर म अनुत्तरित नै रहेँ । एकदिन साथीलाई भेटेरै सोधेँ, “कतै पैसा कम भएकोले प्रेसले छपाउन ढिला गरेको त हैन ?” मेरो जिज्ञासा भुइँमा खस्न नपाई साथीले समस्याको पोको यसरी फुकाए, ” वास्तवमा पुस्तक पहिल्यै छापिइसकेको छ। तर, नेपालदेखि अमेरिकासम्म पुस्तक ल्याउन लाग्ने ढुवानी खर्च निकै महँगो पर्ने रहेछ। तपाईंसँग मुख फोरेर यो कुरा गर्न मलाई अफ्ठ्यारो लागेर नभन्या हो। अलिकति रकम व्यवस्थापन गर्नसके म पुस्तक तुरुन्तै झिकाइहाल्छु।”
मैले प्रेसवालासँग सम्पर्क गराउन आग्रह गरेँ तर उनले गोलमटोल कुरा गरेर सम्पर्क गरएनन्। एक रात मनमा कुरा खेलाउँदै बिछ्यौनामा पल्टिरहेको बेला अचानक एक साल अघि ती मित्रले भनेको प्रेसवालाको नाम सम्झिएँ । त्यसपछि फेसबुकमा उनको नाम सर्च गरेँ तर त्यस्तो नाम भएका असङ्ख्य अनुहारहरू देखिए। मलाई ती नामहरूबाट खोजेको व्यक्ति पत्ता लगाउन फलामको चिउरा चपाएझैँ भयो। एक हप्तासम्मको निरन्तर प्रयासपछि बल्ल प्रेस आबद्धताको परिचय सहित एकजना भलाद्मी भेटिए फेसबुकमा। तुरुन्तै फ्रेन्ड रेक्वेस्ट पठाएँ । दुई दिनपछि ती भलाद्मीले मेरो फेसबुक मित्रता आग्रह स्वीकरेको सन्देश प्राप्त भयो। अनि बिस्तारै हाइ हेलो ..हुँदै सुखदुःखका कुरा आदानप्रदान गर्न थालियो। कुराकानीकै क्रममा मैले मेरो कृतिको कुरा निकालेँ। उनले उत्सुकतापूर्वक मेरा गुनासा सुनेर जे बताए, त्यो सुन्दा लाग्यो कि साहित्य क्षेत्रमा पनि दलाल हुँदा रहेछन् । साहित्यकर्मीमासमेत अपराधी मानसिकता हुँदोरहेछ। मैले विदेशी भूमिमा रगत पसिना बगाएर खाईनखाई आर्जेको पैसामा मेरा ती अनन्य मित्रले आफ्नो कृति समेत छपाउन लगाएका रहेछन् । त्यो पनि उनको उच्च गुणस्तर र मेरो गुणस्तरहीन कागज प्रयोग गरेर । कुरा त्यतिमा मात्रै सीमित रहेनछ। मैले पठाएको रकम मध्येबाट बिस हजार रुपैयाँ निजी प्रयोजनको निम्ति मागेर लगेका रहेछन् उनले। कबुलिएको रकम चुक्ता नगरेका कारण पुस्तक प्रेसबाट ननिकालिएको रहेछ।
ढुवानी खर्च महँगो भएको नौटङ्की गर्ने द्रव्यपिचासको यातनाले तड्पिएर मेरो साहित्यिक कृतिरूपी सुन्दर शिशु गर्भमै सहिद हुन पुगेको तीतो अनुभूतिसहित मध्यरातमा घरको ढोका खोलेर सडकमा निस्किएँ र चिच्याएँ, साहित्यिक दलाल – मुर्दावाद !