– हेमबहादुर खड्का (राज)
एमसीसी पास गराउने प्रपन्च फेरि रचिँदै छ, राष्ट्रभक्त छोराछोरीहरु राष्ट्रघात र जनघातकाविरुद्ध एकताबद्ध भएर लड्न तयारीका साथ जुटौँ ।
एकातर्फ धार्मिक द्वन्द्व गराएर नेपाली राष्ट्रभक्त र स्वाभिमानीहरुको ध्यानाकर्षण अन्तै गर्ने र अर्कोतर्फ कोरोना कहरको त्रासमा देशलाई माया गर्ने जनताका साहसी योद्धाहरु बाहिर निस्कन नदिने खेलोमेलोमा सरकार लागेको छ । सीमा सिल नगर्ने, बाह्य मुलुकबाट आएका कसैलाई क्वारेन्टाइन नराख्ने, सरकार आफैँ भिड जम्मा गरेर कार्यक्रम गर्दै हिँड्ने, विकल्प बिना जनतालाई त्रास र भय मात्रै फिँजाउने, यो प्रवृतिलाई हेर्दा सरकार अघोषित संकटकाल लगाएर आफ्नो दुश्कर्म फत्य गर्न लागेको नेपाली जनताले बुझेकै हुनपर्छ ।
शक्तिशाली निरंकुश राणाशासन नेपाली जनताले अन्त्य गर्न सके । पञ्चेहरुको पञ्च ढल्यो । सामन्ती राजतन्त्र ढाल्न सके । के यी २/४ जना दलाल नेपाली नागरिकले तह लगाउन सक्दैनन् ?
सचेतनाको आन्दोलन दिनप्रतिदिन बढिरहेको छ । हामी सचेत राजनीतिक संघर्षमा रहेका हरकोहीले हरेक चुल्हो बाट, सचेतनाको आगो सल्काउनु छ, “हिजो दास र मालिक अनि राजा र रैती” आज ठिक त्यहि व्यवहार छ, “नेता र जनता” हो यही प्रवृत्ति सधैँका लागि तोड्ने सचेतना, नागरिक बन्ने सचेतनाको आन्दोलन ।
अब जनता र नेता हैन, सत्ता र नागरिक हुनेछन्, नेता र नागरिक हुनेछन्, त्यो सत्ताले वितरण गर्ने कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तिनै अङ्गको सेवा सुबिधा, दण्ड र जरिवाना एकै किसिमको हुनेछ, नागरिक लाई होस् वा शासकलाई, हो यहि प्रणालीका निम्ति चल्नेछ, “जनविद्रोह”, यहि प्रक्रियालाई उचाईमा लैजान जोडिने छ, “जनक्रान्ती” ।
जब बल्ने छ, ज्वाला “जनविद्रोहको”, जब मेघ झैं गर्जिने छ “जनक्रान्ति” तब पुरा हुनेछ नागरिकको “समाजवादी क्रान्ति” अनि ल्याउने छ नयाँ प्रणाली सक्षम कार्यपालिका, निस्पक्ष न्यायपालिका, चुस्त दुरुस्त व्यवस्थापिका सहितको नयाँ बिहानी ।
सही समय आएको छ जनताका नारा लगाएर ब्रम्हलुट गर्ने लुटेराहरुलाई लखेटेर जनताको आफ्नै व्यवस्था ल्याउने । आउनुस जुटौं हामी बहुजातीय, बहुभाषिक, आ-आफ्नै धर्म संस्कार, रितिरिवाज र संस्कृति लिएर । कयौं बर्ष अगाडिदेखि मिलेर, सुखदुःख साटासाट गरेर बसेको ईतिहास छ ।
फेरि पनि सबैखाले तिक्तता र रिसिबी नामेट गर्दै राष्ट्र, राष्ट्रियता र स्वाभिमानका लागि जुटौं । हामी जुटे भ्रष्ट, तस्कर, घुस्याहा, बलात्कारी, बिचौलिया अनि हामिलाई फुटाएर हामीलाई एकआपसमा लडाएर जुधाएर लुट्नेहरुलाई निस्तेज गर्न सक्छौँ । हामी सपना मात्रै देख्ने हैन लडेर जित्ने वीर नेपाली पनि हौँ, आउनुस ईतिहास फेरि निर्माण गरौँ ।
फुटेर हैन जुटेर
राष्ट्र बचाउन जुटौं
नसुनी कसैलाई अब
हाम्रा हातहरु एकआपसमा कसेर उठौं,
फुटेर हैन जुटेर, राष्ट्र बचाउन जुटौं !!