-अग्नीराज पौडेल ‘अराप’
केही गर्न थाल्यो, छिर्के लगाउन खोज्छन्
अस्पताल जान भन्छु, अदालततिर धाउँछन्
नक्सा छपाएँ, अयोध्या चिनाएँ
सकेसम्म मनोरञ्जन पनि त गराएकै छु ।
ढलेको धरहरा फेरि ठड्याएँ
रेल आउँछ भनेकै छु
बिजुलीको चुहावट मिलाएकै छु
मेलम्ची पनि त ल्याइदिएँ
आएन पानी सबैतिर
बाटो, पुल सिलान्यास गरेकै छु
ठेक्का, कमिसन मिलाउँदा मिलाउँदै
बनाउनेले ढिला गरिदिन्छन्
यसमा मेरो के दोष !
गल्ती सच्याउन खोजेकै हो
पालो आएन भनेर मात्र कहाँ हुन्छ
कि भनेको मान्नू, कि त आफू जान्नू
सजिलो होस् भनेर
दुईतिहाइलाई झारिदिएँ अल्पमतमा
यो पनि होइन, त्यो पनि होइन
भनेर मात्र कहाँ हुन्छ, मेरो गोरुको बाह्रैटक्का
त्यसैले जे गरेँ, राम्रै गरेँ
मलाई पनि नदिने, आफू पनि नलिने
निर्णय गर्न भनिदिएँ फेरि जनतालाई नै
यसमा मेरो के दोष !
रोग नियत्रणमा लागेकै छु
हुने खाने निजीमा, गरिब गुरुवा सरकारीमा
बेड नपुगे भुइँमा नै उपचार गर्न भनेकै छु
डाक्टर, नर्सलाई पनि त लाग्छ सक्छ रोग
जोगिएर काम गर्दा बराबरी हुन सकेन होला
यसमा मेरो के दोष !
अघिकाले रुख काटी जङ्गल सिध्याए
उतिखेर थपडी बजाउनेले
अहिले सास फेर्न गाह्रो भो भन्न मिल्छ
तर पनि भनेकै थिएँ
आफ्नो व्यवस्था आफैँ मिलाउन
विदेशबाट ल्याउन भनेकै हो अक्सिजन र खोप
कमिसनमा कुरो नमिलेपछि
समयमा ल्याइदिएनन् ल्याउनेले
शूराले पाएकै छन्, निर्धाले पाएनन् त
शूरा र निर्धा लडाइँ गर्छन्
मेरो के दोष अपजस मात्र पाउने !
भएन, पुगेन, पाइनँ भनेर मात्र कहाँ हुन्छ
तरकारी, नुन, तेल किन्ने बहानामा
भिडभाड गर्न कहाँ पाइन्छ
एकैपटक खरिद गर्नु सक्नेले
दुईचार दिन नखाए के हुन्छ नसक्नेले
अघाको र भोको भन्दैन है रोगले
त्यसैले त लकडाउनको घोषणा गरेकै छु
एक्लै हिँडेकालाई समेत लौरो हान्न लगाएकै छु
पाइनँ मात्र भनेर कहाँ हुन्छ
जति गरे पनि जस नदिएर
लखुर लखुर हिँड्न कहाँ पाइन्छ
घरैमा बसीबसी खान भनेकै छु
जनता खाँदैनन् त मेरो के दोष !
गरिनस् मात्र भन्छन् कसरी मानौँ
सकेको र जानेको गरेकै छु
आफ्नो घर डुबेर के भो
छिमेकीलाई खुसी पारेकै छु
आफ्नासँग के निहुरिनु
निहुरिनै परेपछि
उसैका पाउमा लम्पसार परेकै छु ।