-पुजा श्रेष्ठ
बेला बेला ब्युँझिने तनहरु
अधुरो सपनामा क्षत विक्षत मनहरु
झस्कने र चस्कने दिन आज
स्मृतिमा चैत पाँच आज !!
कलम र कलासँग
थर थर कामेका तानशाहहरु
मुक्तिको धुनसँग
तर्सिएर डगमगाएका शासकहरु
बौलाएको दिन आज
साँस्कृतिक योद्धाहरुको बलिदानी
साँस्कृतिक प्रतिरोध दिवस आज !!
ए च्याङ्बा, चुनु र सेनहरु हो,
मुटु दुख्छ कसरी भनुँ
तिम्रो बलिदानीले जन्माएका
हजारौ जनकलाकारहरु
डान्सबार र रेस्टुरेन्टहरुमा
सजिन बाध्य छन् भनेर
कसरी सुनाउँ म,
तिम्रो सपना कोर्ने कलमहरु बन्दी छन् भनेर
तिम्रो गाथा गाउने स्वरहरु प्रतिबन्धित छन् भनेर
जुनमुक्तिको लागि तिम्रो रगत बग्यो
तिनै अभियन्ताहरु तानाशाह भए भनेर
भ्रष्ट, दलाल, घुसखोरी भए भनेर
शहीद, घाइतेका सपनाहरु
पोको पारेर फालिएका छन् भनेर
त्यसैले,
मन गह्रुँगो भएको छ
ए साँस्कृतिक महान् शहीदहरु
आज तिम्रो फोटोमा माल्यार्पण गर्ने
कति हातहरु देख्दा लाग्छ
कत्ति दुख्यो होला तिम्लाई तिन्ले छुँदा
कत्ति घोच्यो होला मालारुपी काँडाहरुले
किनकि त्यहाँ तिम्रा सपनाहरु
बलात्कारको गन्ध आउँछ ।
त्यसैले,
यो बेला अर्धचेतझैँ मुर्छित मनहरु लिएर
जिएका केही मान्छेहरु
अपुरो सपनामा छट्पटाएका
केही मुक्तिकामीहरु
तिम्रो बाटो पछ्याइरहेका
केही अविचलित यात्रीहरु
सबैको तर्फबाट हार्दिक श्रद्धाञ्जली !!
फेरी पनि आस्थाको शिर झुकाउँदै
हार्दिक श्रद्धा सुमन !!!