- सिर्जना घिमिरे
मानौँ कि
कानुन मिचेर अपराध गरेझै
मानौ कि
अन्यायको नियतले विभेद गरेझैँ
मलाइ आरोप लगाइराखियो
म जवाफ फर्काइनँ
ममाथि चोट बर्साइयो
म चिच्याइनँ
न म रोइ कराई गरेँ
न त हारगुहार नै ।
म अस्ति चुप लागेँ
हिजो सहेर बसेँ
आज पनि मौन मुस्कुराएँ
पीडाले थिचिएर पनि नापिरहेँ
अन्यायको गह्रुँगो भारी
तर भारले थिचिरहँदासम्म पनि
मैले मेरो सहनशीलताको तराजु
भाँचिन दिइनँ ।
साँच्चै सहनु भनेको कतिसम्म हो?
नबोल्नु भनेको सुन्ने क्षमता कति हुनु हो?
के चोट सहेर पीडाले थिचिनु साहस हो?
गल्ती सधैँ अरुको
दोष सधै आफूलाई?
अपराध एउटाको
सजाय अर्कोलाई ??
यदि सहेरै बसिरहनु मेरो गहना हो भने
भो पुग्यो मलाई
मलाई मेरै गहनाले थिचिसक्यो
म सक्दिनँ अब तिम्रो गल्ती
मेरो ज्यानले ढाकिदिन
र सक्दिनँ
तिमीले नगरेको गल्तिको दोष थुपारिदिँदा
पीडा लुकाएरै हाँसिदिन ।
आखिर सहेर पनि त समाधान हुनेरहेनछ
आखिर सहेर पनि त परिवर्तन हुनेरहेनछ
त्यसैले आफ्नै आत्मा रुवाएर म हाँस्न सक्दिन अब
किनभने सहनु मात्रै पनि बलियो हुनु हैन
आत्मालाई चोट दिएर अरुलाई मुस्कान दिनु न्याय होइन
अब बोल्नुछ म पनि
चुप बस्नु नबोल्नु सहनु अन्याय हो
निरीह हुनु हो
मलाई निरीह हुनु छैन
मलाई मेरो सहनशीलताको ब्रेक गर्नुछ
तोड्नुछ मौनताको बाँध
गोपाल योन्जनले भनेझै,
म आगो सहन्छु अन्याय सहन्नँ
म तृष्णा सहन्छु तिरस्कार सहन्नँ ।









































