हामी आज जुन राज्यमा छौं यो राज्यको चरित्र वारे हाम्रो दृष्टिकोण सही हुन आवश्यक छ l यो राज्यको चरित्र वारे सही दृष्टिकोण निर्माण गर्ने कुरा टुंगिएपछि अव के गर्ने भन्ने निर्णय गर्न सजिलो हुन्छ l यो राज्यको चरित्र वारे केही भन्न यो राज्यको गठनको इतिहासको संक्षिप्त जानकारी हुन आवश्यक छ l आज जुन आकार र चरित्रमा नेपाल छ यसको इतिहास दुई सय पचास वर्षको छ भनेर कुरा अघि बढाउनु बढी उपयुक्त हुन्छ भन्ने मेरो मान्यता छ l कम्तिमा दुई सय पचास वर्ष अघि आजको नेपाल कसरी बन्यो भन्ने कुरामा प्रष्ट भएपछी यसको जन्मकुण्डली थाहा हुन्छ l यसको जन्मकुण्डली केलाउदै आजसम्म आएपछि बल्ल आजको राज्यको आधारभूत चरित्र वारे भन्न सकिन्छ l किन भने हरेक कुरा जुन आज अस्तित्वमा हुन्छ त्यो सवैको आफ्नो आफ्नो इतिहास हुन्छ lवर्तमान राज्यको जन्मकुण्डली : हामी सवैलाई थाहा छ कि आज भन्दा दुई सय पचास वर्ष अघिसम्म आजको आकार र चरित्रको नेपाल थिएन l आजको नेपालले ओगटेको जमीनभित्र कैयन स्वतन्त्र राज्य-गणराज्यहरू थिए l आजको नेपालले चर्चेको जमीन भित्र पर्न आएका कैयन भूभागहरू त्यो समय आजको भारतबाट समेत बेला बेला शासित हुने गर्थे l त्यो समयको नेपाल मूलत: कविलाई अवस्थाबाट सामन्तवादको विकासको क्रममा थियो l त्यसो त त्यो वेला पनि उपत्यकामा विकसित सामन्तवादी खालको राज्य थिए l सामन्तवादको बिकास सँगै ससाना राज्यहरू समेत ठूला राज्यमा संगठित हुने बस्तुगत नियमभित्र क्रियाशील थिय l त्यो समय सवैभन्दा विकसित राज्य उपत्यकामा थियो l त्यो समयका राजाहरूमा सवैभन्दा चलाख र महत्वाकांक्षी राजा गोरखाका पृथ्वीनारायण शाह थिए भन्ने कुरा घटनाक्रमले प्रमाणित गर्छ l यहाँ चलाख भन्नुको अर्थ धुर्त भनेर बुझ्न पनि सकिन्छ l पृथ्वीनारायणमा ठूलो देशको राजा बन्ने इच्छा त्यत्तिकै लहडमा जन्मेको नभएर त्यो समयको बस्तुगत परिस्थितिको प्रतिविम्वन थियो l केही इतिहासकारहरू ‘विशाल नेपाल’ वनाउने मंसुवाबाट पृथ्वीनारायणले राज्यको विस्तार थालेको भनेर भन्छन l त्यो कुरा गलत छ l किन भने त्यो भन्दा अघि नेपाल नामको विशाल कुनै देश भएर खास कारणले टुक्रिएको भए त्यसलाई फेरी जोड्ने कुरा कसैले सोच्न सक्थ्यो l त्यस्तो देखिदैन l नेपाल भाषीहरूको बसोवास भएकोले आजको राजधानी उपत्यकालाई नेपाल भनिन्थ्यो lबाहिरबाट कोही राजधानी जानु पर्दा नेपाल जाने भन्ने चलन हिजो अस्तिसम्म थियो l त्यसैले उपत्यका भन्दा बाहिर नेपाल भनिदैनथ्यो भनेर सजिलै बुझ्न सकिन्छ l केही तथाकथित इतिहासकारहरू सपनामा मनकामनाले देवीले पृथ्वी नारायणलाई वरदान दिएकोले उनले राज्य विस्तार गरेको भनेर पनि भन्छन l यो भनेको तात्कालिक कदमलाई दैवी शक्तिसँग जोडेर दुनियाँलाई उल्लू बनाउने चाल मात्र हो l आजको नेपालले समेटेको जमीन भित्र साना ठूला, विकसित अविकसित विभिन्न स्वतन्त्र गणराज्यहरू थिए भन्ने कुरा अघि नै चर्चा गरियो l
बाइसे चौविसे भनेर चिनिने ती कैयन राज्यहरूमध्ये गोरखा पनि एउटा अविकसित र सानो राज्य थियो l अर्थात त्यो समय अरु राज्यहरूको जति अधिकार थियो गोरखाको पनि त्यत्तिनै अधिका थियो l ती राज्यहरू आफ्नो सीमा विस्तारको लागि या धन सम्पति लुटपाटको लागि वेला वेलामा लडिरहन्थे l यसरी लड्दा कैले जुम्लाका राजाहरू उपत्यकासम्म पनि आइपुग्थे l उपत्यका सवैभन्दा विकसित भएको उब्जाउ जमीन,तिव्वतसँगको व्यापारको बाटोमा परेको र हावापानी पनि उपयुक्त भएकोले सबैको ध्यान उपत्यकामा परिरहन्थ्यो l कव्जा गरेर बस्न नसके पनि त्यो समय बाहिरका राजाका फौजहरू यहाँ आउने र लूटपाट गरेर फर्कने गर्थे l यसरी आउनेहरू आजको नेपालभित्रबाट मात्र होइन आजको भारतबाट समेत आइपुग्थे l यही क्रममा त्यो समयको सरदर राज्य गोरखाकाका राजा पृथ्वी नारायणको दिमागमा गोरखा डाँडाको कोदे राजा हुनु भन्दा ठूलो र धनी देशको राजा हुन पाए मजा हुन्थ्यो भन्ने महत्वाकांक्षा पलायो l मैले अघि नै चर्चा गरें कि त्यो सोच उनको दिमागमा त्यत्तिकै पलाएको नभएर सामन्तवादको विकासको अनिवार्य आवश्यकता र हालको भारतमा अंग्रेजहरू शासन र हिमाल पट्टि उनीहरूको लगातार विस्तारको पृष्टभूमिमा त्यो बिचार जन्मेको थियो l
भाट इतिहासकारहरूले कथेजस्तो अंग्रेजहरूको आक्रमणबाट हिमाली अधिराज्यहरूको रक्षा गर्ने पवित्र मनसायले उनले राज्य विस्तारको काम थालेका थिएनन l उनीभित्रको सामन्ती स्वार्थले राज्य विस्तार सुरु भएको थियो भने अंग्रेजहरूको उत्तर-विस्तार बाहिरी कारण थियो l यदि अंग्रेजहरूको आक्रमणबाट हिमालयमुनिका वन्धु-राज्यहरूको रक्षा गर्ने महान विचार हुन्थ्यो भने त्यो कामको लागि उनले छिमेकी राज्यहरूसँग सरसल्लाह गर्थे l संयुक्त मोर्चाको प्रस्ताव गर्थे l अंग्रेजसँग लड्न छुट्टै हिमाली सेनाको गठनको प्रयत्न गर्थे l उनले त्यस्तो केहि गरेनन l बरू भकाभक आक्रमण सुरु गरे l विजित देशका नागरिकहरूमाथि भाषिक सांस्कृतिक आर्थिक राजनैतिक दमन गरे l
जुन जुन राज्यहरूले पृथ्वी नारायणको प्रतिरोध गरे र अप्ठेरोमा पारे त्यो देशका आम नागरिकहरूमाथि गहिरो अत्याचार गरे l धेरै राज्यका राजाहरूलाई मित लगाउन निशस्त्र आउन भनेर नदी किनाराहरूमा बोलाएर आकस्मिक हमला गरे l आपासमा जुधाउने , नाकाबन्दी लगाएर आत्मसमर्पण गर्न वाध्य वनाउने सवै काम गरे l उनले जितेका राज्यहरू अधिकांश फरक जातीय राज्यहरू थिए l ती राज्यका फरक भाषा संस्कृति र आर्थिक जीवन थियो l ती राज्यहरू विकासको आफ्नै प्राकृतिक बाटोमा थिए l ती राज्यहरूसँग कुनै छलफल नगरी , उनीहरूका संवेदनशीलताहरू नबुझी छोटा महाराजाधिराजबाट बडामहाराजाधिराज बन्ने ध्याउन्नामा गरिएको विस्तार अभियान भएको हुनाले त्यो क्रममा असंख्य लुटपाट र अत्याचार भयो l गोरखाबाहेक राजाहरूले आफ्नो गद्दी मात्र हारेनन बरु ती राज्यका प्रजाहरूले आफ्नो कला संस्कृति र जीवन पद्दति पनि हारे l
मैले माथि नै चर्चा गरें कि – सजातीय राज्यहरू मात्र गाभ्ने काम भएको भए त्यहाँ जनतालाई राजा फेरिने भन्दा बढी अप्ठेरो पर्दैनथ्यो l यहाँ त फरक जातको राजाको राज्य मुनि बस्नु पर्दा र नयाँ राजाले आफ्नो भाषा धर्म र संस्कृति जबर्जस्ति थोपरेको कारणले अधिकांश जनताहरू एउटा भयानक उपनिवेशको शिकार बन्न पुगे l ससानो भए पनि आफ्नो जातिको अलग राज्यमा मातृ सत्ताका कैयन अवशेष सहित प्राक-सामन्ती चरणमा रहेका मानिसहरू एकसाथ फरक जातिको दास बन्नु पर्दा नेपाल बहुमत जनताको लागि झ्यालखानाजस्तै भयो l त्यसपछिका उनका छोरा नातीहरूले राज्य विस्तारलाई अझ तीव्रता दिए l सुगौली सन्धिमा आइपुगेर गोरखालीहरूको हार र आत्मसमर्पणको ओरालो सुरु भयो l आजको नेपाल अत्याचारपूर्ण तरिकाले गरिएको वलात्काबाट जन्मिएको सन्तान जस्तै हो l यो आपसी सहमतीमा दुवै पक्षले राजी खुसीले गरेको यौन सम्बन्धबाट जन्मेको सन्तान जस्तो होइन l
विशाल गोरखा राज्य बनेर टिस्टा कांगडा पुगेर फेरी आजको आकारमा पुग्ने समयसम्मका गतिविधिमा यो देशका जनताको कुनै हात छैन l सवै काम राजाको इच्छामा भएको छ l तत्कालीन सेनाको महत्वपूर्ण जिम्मेवारीमा दरवारका आसेपासेहरूलाई जिम्मा दिएर जनतालाई विना तलव लड्न र मर्न वाध्य वनाएर, प्रतिवाद गर्नेहरूको क्रुरतापूर्वक मानमर्दन गरेर र मधेशीहरूलाई विदेशी सरह व्यवहार गरेर आजको नेपाल जन्मेको हो lआजको नेपालको वाँके वर्दिया कैलाली र कन्चनपुर त अझ भारतको न्यायपूर्ण सिपाही विद्रोह दवाउन अंग्रेजलाई सहयोग गरे वापत विर्ता जस्तै गरी पछि प्राप्त भएको हो l यसरी जन्मकुण्डली केलाउँदा यो देश शान्ति सुविस्ताले र सहमातिले जन्मेको नभएर जोर जुलुम र अत्याचारले जन्मेको दखिन्छ l अघि मैले चर्चा गरे जस्तो यो वलात्कृत महिलाको गर्भबाट जन्मेको बच्चा जस्तै हो l गोर्खाली पहाडीया आर्य खसहरूबाट यो देशका जनजाती तथा मधेशी मात्रिभूमिमाथि गरिएको बलात्कारबाट जन्मेको सन्तान नै आजको नेपाल हो l
माथि चर्चा गरी जस्तै जोर जुलुमबाट जन्मेको भए पनि आजको नेपाल जन्म्यो l दुई सय पचास वर्षपछि आएर फेरि पुरानो जुन रुपमा थियो त्यही रुपमा लैजाऊँ भन्नु पनि आज उपयुक्त हुदैनl दुई सय पचास वर्षको अवधिमा नेपाल देश भन्ने साझा धारणाको बिकास भएको छ l बसोबासमा अन्तरघुलन भएको छ l तर दुई सय पचास वर्ष अघि गरिएको जबर्जस्तीको घाउ अहिले पनि दुखि रहेको छ lत्यो समय राज्य खोसिएका जातिहरू अहिले पनि उत्पीडित महसुस गरिरहेका छन् l त्यही उत्पीडन अन्त गर्नको लागि त संघीयताको बहस उठ्यो र त्यो बहस अझै सकिएको छैन l यसको अर्थ हो आजको राज्यको चरित्र बहुमत जनताको लागि उत्पीडनकारी नै छ l
शाहहरूको जगजगी पाखा लागेर राणाहरूले शासन कव्जा गरेपछि पनि राज्यको आधारभूत चरित्रमा केही हेरफेर भएन l बिक्रम सम्बत १९१० को मुलुकी ऐनले वर्णाश्रम व्यवस्था अन्तर्गत आर्य खस प्रभुत्वलाई धार्मिकसँगै कानूनी रुप पनि दियो l दुई सय पचास वर्ष यो देश जातीय आधारमा चल्यो l आज जातीय मुक्तिको कुरा गर्नेहरूलाई ‘खवरदार जातीय कुरा नगर’ भन्नेहरूलाई यो देश कसरी अत्याचारपूर्वक अढाई सय वर्ष सम्म पूरै एकल जातीय अत्याचारको शिकार भयो भन्ने कि त थाहा छैन , कि त उनीहरू थाहा पाएर पनि जनतालाई भ्रम दिदै छन् l
२००७ सालसम्म आइपुग्दाको नेपालको राज्यको मूल चरित्र पहाडीया आर्य खस उच्च जातीय अहंकारवादी सामन्ती थियो l यसो भनेको –
१) यो राज्यमा मूलत पहाडेहरूको मात्र हालीमुहाली थियो l
२) पहाडेहरूमा पनि आर्य खस भित्रका दलितहरू र गैर आर्य खस जनजातिहरूको होइन वरु बाहुन र क्षेत्रीहरूको मात्र थियो र त्यो कथित उच्च जातीय अहंकारवादी थियो l
३) आर्य खस भित्रका बाहुन क्षेत्रीहरू भित्र पनि यो राज्यमा किसान मजदूर बाहुन क्षेत्रीहरूको होइन सामन्त जमीनदारहरूको मात्र थियो l सेना ,कर्मचारीदेखि शासनका सवै महत्वपूर्ण निकायहरूमा उनीहरूकै पकड थियोl एक जातीय, एक भाषिक, एक सांस्कृतिक र सामन्त जमीन्दारको अभेद्य किल्लाको रुपमा राज्यले आफुलाई संगठित गरेको थियो l
सारङ्गी न्यूज डटकम









































