-पुजा श्रेष्ठ
को हौ भनी सोध्छौ
चिन्दैनौ तिमी मलाई
म को हुँ….?
म हिजो घरपरिवार छोडेर
मेरो अाफ्नो भन्ने सबै त्यागेर
समाज र देशको मुहार फेर्ने
सपना साँचेको मान्छे
अथक एक त्यागी यात्री हुँ ….।
अन्याय र अत्याचारको विरुद्ध
न्याय र स्वतन्त्रता को आवाज उठाउदै
डाडा ,पाखा र पखेरीहरुमा
गरिबी, झुपडी, लाल वस्तीहरुमा
समानताको गीत गुन्जाउदै
क्रान्तिका लहर फैलाउने
एक जनकलाकार हुँ…..।
न्यायको गला रेट्ने सामन्तले
देशै भरी अनेकौ नामको अप्रेशन सँगै
बमगोला बर्साउदै विध्वंस मच्चाउदा
मेरो दिदीबहिनी र बुबा आमालाई
जिउँदै आगोमा जलाउदै गर्दा
तिम्रो सुरक्षार्थ छातीमा गोली थाप्न तयार
त्यो साहसिक तिम्रो अंगरक्षक हुँ…..।
हिरासतमा पोलिएका घाउ अझै दुख्दैछ
पिनले नङैपिच्छे खोपेको खत बाकी नै छ
नेल सँगै यातनाले बेहोसिएका यादहरु
भाचिएका यी हात खुट्टा र हड्डीहरु
लडदै गर्दा मोर्चामा क्षत बिक्षत शरीर
घिसार्दै जिउने जनयुद्धको घाइते सिपाही हुँ……।
तिमीले बाडेका सपना ताजै लाग्छ
सास्कृतिक रुपान्तरण भनिरन्थ्यौ
चुर्लुम्म त्यसैमा डुबेको देख्छु
शहीदको रगतको खाटा सुकेको छैन
एकाएक आदर्शका खम्बाहरु ढलेपछि
आशाहरु निराशामा बदलिएपछि
बिरक्तिएर सडकमा भौतारिदै
रगतको छिर्का सँगै छरिएका सपनाहरु
खोज्दै हिड्ने बटुवा हुँ ….।
यति ले नि चिन्दैनौ भने
अझै धेरै बाकी छ मेरो परिचय
फेरि फेरि भन्दै गरौंला
म को हुँ..?